• २५ वैशाख २०८३, शुक्रबार

क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला

blog

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

ब्रासिलिया, वैशाख २५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बन्द कोठामा भएको भेटवार्तापछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकाले तत्काल क्युबामाथि आक्रमण गर्ने कुनै योजना नभएको आफूले बुझेको दाबी गर्नुभएको छ । ह्वाइट हाउसमा दुई नेताबिच भएको भेटवार्तापछि यो कुरा सार्वजनिक भएको हो ।

यसअघि राष्ट्रपति ट्रम्पले क्युबामा आक्रमण गर्ने भनी कैयौँ पटक चेतावनी दिँदै आउनुभएको थियो । लुलाले वासिङ्टनस्थित ब्राजिलियाली दूतावासमा पत्रकार सम्मेलनमा आफूले अमेरिकी समकक्षीसँग बन्द कोठामा करिब साढे दुई घण्टा कुराकानी गरेको र वार्ता खासगरी क्युबा र प्रमुख क्षेत्रीय सुरक्षा मुद्दामा केन्द्रित गरिएको भएको  बताउनुभएको थियो । 

लुलाले आफूले प्राप्त गरेको अनुवादअनुसार ट्रम्पले क्युबाविरुद्ध सैन्य कारबाही नचाहेको स्पष्ट पारेको बताउनुभएको थियो । उहाँले क्युबाले वार्ता गरेर समस्या समाधान गर्न चाहेको उहाँले बताउनुभयो । उहाँले बताउनुभयो, “क्युबाले वार्ता गर्न चाहन्छ । क्युबा वर्षौदेखि आर्थिक प्रतिबन्धका कारण समस्यामा छ र प्रतिबन्धले क्युबाको विकासमा बाधा पुगेको र यसलाई पूर्ण रूपमा स्वतन्त्र देश बन्नबाट रोकेको छ ।” 

अमेरिकाले क्युबामाथि प्रतिबन्ध कडा पारेको छ र अझै पनि क्युबाप्रति अमेरिकी नीति कडा छ । अमेरिकाले हालै क्युबामाथि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युवाली कम्पनी गाइसाविरुद्ध कारबाही जारी गरिएको बताउनुभएको छ । प्रतिबन्धका कारण मोआ निकेल नामक खानि कम्पनी पनि प्रभावित भएको छ । 

यो कम्पनी क्युवाली र क्यानडेली कम्पनी शेरिटको साझेदारीमा सञ्चालन भएको छ । यी प्रतिबन्धपछि शेरिट कम्पनीले क्युबामा आफ्नो सेवा बन्द गरेको छ । अमेरिकाले क्युवाली सरकारलाई दबाब दिनका लागि यो कदम चालिएको बताएको छ । रासस/एएफपी