गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २८ गते । नेपालमा पहिलो पटक भएको राष्ट्रिय अध्ययनले नेपालका युवायुवतीमा यौन दुर्बलताको दर उच्च रहेको देखाएको छ । यस्तै पछिल्ला दिनमा बाँझोपनको समस्या बढ्दै गएको छ । नेपालमा विवाहित १० देखि १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित भइरहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखा र स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ले संयुक्त रूपमा गरेको राष्ट्रिय सर्वेक्षणमा युवायुवतीमा यौन दुर्बलता उच्च रहेको पाइएको हो । अध्ययन अनुसार ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको छ । नेपालका सात वटै प्रदेश र तीन वटै भौगोलिक क्षेत्र समेटिने गरी देशका विभिन्न ३४ वटा जिल्लाका ३३ हजार ८२ जना विवाहित महिला र पुरुषमा गरिएको अध्ययनले हालसम्म लुकेको र भित्रभित्रै भयावह रूपमा रहेको यौन दुर्बलताको विषयलाई उजागर गरेको छ ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले यौन दुर्बलतासम्बन्धी अध्ययनले स्वास्थ्य सेवाको प्रवाहलाई बुझ्न सजिलो भएको बताउनुभयो । उहाँले यौन स्वास्थ्यबारे नेपाली समाजमा खुलेर कुरा नगर्ने गरेको भन्दै यौन स्वास्थ्यबारे खुला हुनुपर्ने बताउनुभयो ।
यौन दुर्बलतासम्बन्धी प्रमुख अनुसन्धानदाता डा. खेमबहादुर कार्कीले यौन दुर्बलताका कारण यौन जोडी वा श्रीमान्श्रीमतीबिचको सम्बन्ध बिग्रने मात्रै नभई यसका कारण यौन दुव्र्यवहार, हिंसा र बलात्कार जस्ता जघन्य अपराधसमेत बढ्ने बताउनुभयो । वयस्कहरूको यौन जीवनमा समस्या आउनु भनेको खुसी र आनन्दको अनुभूति मात्रै गुमाउने होइन, डा. कार्कीले भन्नुभयो, “मानसिक तनाव तथा भावनात्मक चोटका कारण सामाजिक तथा आर्थिक क्रियाशीलतामा ह्रास आउँछ ।”
उहाँले यौन दुर्बलताको दर विश्वमा नै बढ्दै गएको जानकारी दिनुभयो । विश्वमा ४९ प्रतिशत महिला र ४३ प्रतिशत पुरुषमा यौन दुर्बलता रहेको छ । यसमध्ये एसियाली देशका नागरिकमा यो दर झन् धेरै रहेको देखिन्छ । सन् २०११ को तथ्याङ्क अनुसार मलेसियाका पुरुषमा २७ देखि ६९ र सिङ्गापुरका पुरुषमा ५१ देखि ७३ र हङकङका पुरुषमा ६४ प्रतिशतसम्ममा लिङ्ग उत्तेजित नहुने समस्या देखाइएको छ । यसै गरी सिङ्गापुरका ५६ प्रतिशत महिलामा यौन दुर्बलता रहेको तथ्याङ्क छ ।
नेपालमा गरिएको अध्ययन अनुसार यौन दुर्बलता भएका पुरुषमा लिङ्ग उत्तेजित नहुने वा यौन सम्पर्कको समयमा चाहे जति दह्रो नहुने अवस्थालाई यौन दुर्बलताको सूचकाङ्क मानिएको छ । नेपालमा गरिएको राष्ट्रिय सर्वेक्षणले यौन दुर्बलता हुने ७२ प्रतिशत पुरुषमध्ये पाँच प्रतिशत वयस्क पुरुषको गम्भीर दुर्बलता छ भने ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्बलता रहेको छ ।
अध्ययनमा यौन दुर्बलता भएकामध्ये ८४ प्रतिशत पुरुषले सम्भोगबाट सन्तुष्टि प्राप्त गर्न नसकेको बताएका छन् । त्यसै गरी ९२ प्रतिशत महिला पुरुषले दुवैले यौन चाहना नै नहुने बताएका छन् । यसले उनीहरूको जीवन तनावपूर्ण भएको वा उनीहरूको स्वास्थ्यमा केही न केही समस्या छ भन्ने सङ्केत गर्दछ । डा. कार्कीले यौन सम्पर्क गर्ने जोडीमध्ये एकले आनन्द प्राप्त गर्ने अर्कोले नगर्ने अवस्थाले सम्बन्धमा चिसोपन ल्याउने बताउनुभयो । उहाँले यही विन्दुबाट घरेलु हिंसाको सुरुवात हुने उहाँको भनाइ छ ।
सर्वेक्षणका अनुसार महिला र पुरुष दुवैमा रहेको यौन दुर्बलताको स्तर सबैभन्दा धेरै मधेश प्रदेश ७३ प्रतिशत र कर्णाली प्रदेशमा ७१ प्रतिशत रहेको छ । डा. कार्कीले यौन दुर्बलताको प्रमुख कारण मानसिक तनाव, गरिबी र अभाव रहेको बताउनुभयो । सर्वेक्षण अनुसार सुर्ती सेवन वा मदिराजन्य पदार्थको सेवनले पनि यौन दुर्बलता बढाएको छ । लामो समय सुर्ती सेवन गरेर छाडेकामध्ये ८० प्रतिशतमा यौन दुर्बलता देखिएको छ । त्यसै गरी मदिरा सेवन गर्नेमा ६९ प्रतिशत र नगर्नेमा ५९ प्रतिशत दुर्बलता देखिएको छ ।
सर्वेक्षणले धेरै मोटोपन भएका व्यक्तिमा मोटोपन नभएको व्यक्तिको दाँजोमा बढी यौन दुर्बलता देखाएको छ । त्यस्तै उच्च रक्तचाप भएका व्यक्ति र रगतमा चिनीको मात्रा बढी भएका व्यक्तिमा पनि यौन दुर्बलताको अवस्था बढी देखिएको छ । अध्ययनले कुनै दीर्घरोग मधुमेह, उच्च रक्तचाप भएकामा यौन दुर्बलता वढी हुने देखाएको छ । सर्वेक्षणमा समावेश भएकामध्ये यौन दुर्बलता भएका व्यक्तिसँग गरिएको छलफलबाट यौन दुर्बलताका प्रमुख कारणमा व्यस्त जीवनशैली, मानसिक तनाव, श्रीमान्श्रीमती छुट्टिएर बस्नुपर्ने अवस्था, एकाआपसको द्वन्द्व, पारिवारिक कलह, काम र आरामको असन्तुलन रहेको छ । अध्ययनले शारीरिक कारणमा यौन अङ्गमा हुने सङ्व्रmमण, श्रीमान् वा श्रीमतीमा भएको स्वास्थ्य समस्या प्रमुख रहेका छन् ।