• ९ पुस २०८२, बुधबार

बुढो दले (कथा)

blog

मेरो त भए जत्ति रियाल सक्कियो । यो हात पनि लागेन भने गएर सुत्छु ।” रक्सीको अन्तिम घुट्को पिउँदै बुढो दलेले भन्यो । त्यो कोठामा जम्माजम्मी पाँच जना छन् । सबै जना तासको खालमा नारिएका छन् । सबैका अगाडि थोरै रक्सीसहितका गिलास उभिएका छन् । 

“रातभरि लड्नु पर्छ भन्थ्यौ त । गाँठी सक्किसक्यो र ?” जङ्गेले प्रतिक्रिया जनायो ।

“सुत सुत । पैसा सकिएकै हो भने सुत । बुढेसकालमा निदाउनु पनि पर्छ केही घण्टा ।” दले सुनाम बोल्यो ।

“मस्तै खेल्ने हो म त । डिमान्ड लेटर हातमा आइहाल्यो, अब मजासँग खेल्ने हो । अब अर्को एक/डेढ महिना मस्ती नै मस्ती गर्ने हो ।” जङ्गेले निकै फुर्तीसाथ भन्यो । “तर यी बुढा सुत्छन् पो कता ? कि सेराटनतिर जान्छौ ?” जङ्गेले आफ्ना मुसाका पुच्छर जस्ता जुङ्गा हल्लाउँदै व्यङ्ग्य मा¥यो ।

बुढो दलेलाई रिस उठ्यो । एकातिर पैसा पनि हार्नु, अर्कोतिर रक्सीको तलतल पनि भने झैँ गरी नमेटिनु । त्यसमाथि साथीहरूले अनायासै फाइब स्टार होटेलमा सुत्न जा भन्नुले उसलाई होच्याएको महसुस भयो । कसैले पनि पैसा सापटी दिने मनसाय नदेखाउनुले अपमानबोध पनि भयो । कसैसँग सिधा माग्न उसको स्वाभिमानले रोक्यो । लाग्यो सबै आफूसँग हुँदाका मात्रै साथी हुन, दुःखका होइनन् ।

“बुढो बाघ हुँ, तिमारुले धाक लाउनु पर्दैन । एकछाके होइन म । पहाडै फर्के पनि तिमारु जन्मेको जिल्ला जत्रा हाम्रा खेतबारी छन् । तिम्रा उमेरमा हामी नेपालमै बसेर डिमान्ड लेटर झाथ्र्यौं । मरुभूमिको घामले सेकिँदै भौँतारिनु पर्दैनथ्यो । अहिले दुई/चार दिन हाम्रा खल्ती बलिया भएनन् भन्दैमा तिमारुले हेप्नु पर्दैन ।” दलले रिस पोख्यो । उसको रिसको पारो अझै झरेको थिएन । उसले भन्यो, “डिमान्ड लेटर झरेका बखत हाम्ले पनि ख्वाएका हौँ हाकिमदेखि दलालसम्म सप्पैलाई । तिमारु जस्तो यही भुइँको पातलो कार्पेटमा लड्नु छैन । धेरैलाई बनाइदिएको छुँ यो बालुवाको बगैँचामा । अहिलेको अहिले नै आउँछन् मेरा मान्छे ट्याक्सी लिएर र लान्छन् मलाई । आफ्नै ओछ्यानमा छाडिदिन्छन् । के ठान्छौ मलाई ।” “रिसाए बुढा नराम्ररी । यो जङ्गे पनि जे पायो त्यही भन्छ बुढा मान्छेलाई । मेरै ओछ्यानमा सुत बुढा, कहीँ जानु पर्दैन ।” तोक्मेले भन्यो ।

“यसो ठट्टा गरेको पो त ।” जङ्गेले अवस्थालाई सच्याउने प्रयास ग¥यो ।

“छैन म रिसाको । तिमारुसँग रिसार के हुन्छ भगवान्ले नै साथ नदिएपछि ।” बुढो दलेले भन्यो । 

जङ्गेले सो¥यो पैसा त्यो हात पनि । बुढो दले बगली रित्तिएसँगै पाखो लाग्यो । 

बुढो दलेले मोबाइल फोन निकाल्यो । नम्बर थिच्यो । मोबाइलले फोन गर्नका लागि ब्यालेन्स छैन भन्यो । मोबाइलमा ब्यालेन्स नभएको भन्दा पनि उसको स्वाभिमानमा ठोस पुगे झैँ लाग्यो उसलाई किनकि अब अर्काको मोबाइल मागेर कल गर्नुपर्ने अवस्था आयो । 

“ठाँडोमा अहिल्यै सकिनु पर्ने ब्यालेन्स ।” बुढो दलेले रोक्न सकेन आफ्नो मुखलाई ।

तोक्मेले कुरो बुझ्यो र आफ्नो मोबाइल बुढो भएतिर सारिदियो । “हेलो जीवनभाइ, कता छौ ?” बुढो दलेले फुर्तीसाथ सोध्यो । उताबाट जवाफ आयो । उताको जवाफ अरूले सुनेनन् ।

“ल भाइ मलाई अकाई राउन्डअबाउटबाट पिक अप गर त अहिले नै ।” बुढो दलेले ढाँटका साथ आदेश फर्मायो । उताबाट जवाफ आयो । बुढो दले जुरुक्क उठ्यो र चुपचाप निक्लियो ढोकाबाट ।

“बुढा रिसाए, त जङ्गेलाई पनि किन व्यङ्ग्य गर्नु परेको । उसै त नयाँ डिमान्ड लेटर हात परेको छैन बुढाको, १०÷१२ चक्कर लगाइसके कम्पनीमा, सबैलाई भेटिसके । वारपार लाग्या होइन । पहिलो लटकाले त काम पाए जसोतसो । पछिल्लो लटमा पनि कसैले पास गरेन रे ड्राइभिङ लाइसन । खलासी हुँदैन क्यारे यता, ड्राइभर नबन्ने भए । कुन दिन बुढालाई झम्टिन आइपुग्छन् पास नहुने जति । त्यसैले बिहानैदेखि टेन्सनमा छन् बुढा ।” दले सुनामले भन्यो । “मैले त जोक मात्रै गरेको हो, किन व्यङ्ग्य गर्नु । हिजोआज बुढाको अवस्था ठिक छैन राम्रो कुरो गरे पनि नराम्रो सुन्छन् । कमाको पनि सबै सकिसके । जस्तो आयो त्यस्तै गयो । यो दले कमाइ आको पनि था नहुने सिद्धेको पनि था नहुने, हाम्रो पनि के छ र । दुई दिन पैसा हातमा पर्छ मजासँग खर्च गर्‍यो खायो खेल्यो तेस्रो दिन फेरि फुटपाथमै पुगिन्छ । कसैलाई खुसी पारेर आको पैसा भे पो टिकाउ हुन्थ्यो । ठगे बराबर त हो । यी बुढाको आधा पैसा त त्यो मारियाले खाई क्यारे । हनी हनी भन्दै टाँसिन्थी ऊ बेला डिमान्ड लेटर झरिरँदा । हिजोआज त त्यो फिलिपिनोले पनि आई एम बिजी भन्छे रे भन्दै थिए बुढा ।” जङ्गेले भन्यो । “पछिल्लो पटक आएका पचास जना ड्राइभरमा तीन जनाले मात्रै लाइसन पास गरे रे । अरूले बुढालाई चिथोर्न मात्रै बाँकी राखेनन् । कतिले त पैसा फिर्ता गरेर देशै फर्काइदेऊ पनि भने रे । बल्लतल्ल हेल्परमा घुसाए बुढाले मुदिरहरूसँग रोइकराइ गरेर । बुढालाई आइन्दा कम्पाउन्डमै नछिर्नु भनेर लखेटे रे नि त ।” दले सुनामले भन्यो । “हैन हामी दलेको गोजीमा पैसा भयो कि रक्सी र केटी नै चाहिने किन हो । बेला बेलामा पैसा माग्छे जोसेफाइनले अनुहार किच्च पार्दै । दिऊँ दिऊँ बनाइहाल्छे । घरकी बुढीले थापाई भने खुट्टा भाँच्छे । घरकीले खर्च छैन पठाइदेउभन्दा यता बोटाँ फल्छ र भनेर ठुला कुरा गर्‍यो तर खान्छ अर्कैले ।” तोक्मेले थप्यो ।

“सबैको उस्तै हो । लुटको धन फुपूको श्राद्ध भन्ने उखान नै छ नि ! दुःख मेहनत गरेर कमाको भे पो राम्रो हुन्थ्यो । बेल्चा हान्नेले घर बनाउँछ, छोराछोरी पढाउँछ, हामी हाकिम बन्दैमा खत्तम भाछौँ । सुटपाइन्ट टाई लायो, त्यसमाथि सेन्ट हाल्यो, हाम्रो मेनपावर यत्ति ठुलो छ नेपालमा भनेर झुटो बोल्यो, ठग्यो, यो भन्यो त्यो गर्‍यो । पापको भकारी नै भैयो एकबारको जीवनमा ।” दले सुनामले भन्यो ।

“मेहनत नै छैन त नभनौ न सोल्टी । काम गर्नेको हो भने काम ग¥यो पैसा बुझ्यो । हाम्रो त कम्ती पापड पेल्न पर्दैन एउटा डिमान्ड लेटर झार्न । कथा बनाउँदै बेच्दै गर्न कम्ती मेहनत पर्दैन । सिधा औँलाले घिउ आउने होइन । ठग्नै पनि कहाँ सजिलो छ र ?” जङ्गेले तर्क पेस गर्‍यो ।

“अरू कत्तिले सिधै नक्कली डिमान्ड लेटर पठार नेपालका मेनपावर एजेन्सीका साहुको हुर्मत लिएका छन् । हाम्ले त्यत्ति त गरेका छैनौ नि ! मेहनतै हो नि अहिलेसम्म त ।” तोक्मेले थप्यो ।

“हामी पनि एक दिन त्यही नक्कली डिमान्ड लेटरमै टुङ्गिने त हौ नि ! दिन सधैँ एउटै हुँदैन, खर्चपानी नभै जिन्दगी चल्दैन । काम नगरी खाने बास्सा बानी लागिसक्यो । थपौ न त एक एक पेग, अनि बाँडौँ तास । बुढो दुःखित भए भन्दैमा हामी किन शोकमा डुब्नु पर्‍यो अहिल्यै ।” दले सुनामले कुरोलाई विश्रामीमा पुर्‍यायो ।

उता टेक्सी अगाडीको सडक नाप्दै अकाई राउन्ड अबाउटबाट जेद्धा टावरतिर हानियोे । जीवनका हात र खुट्टा टेक्सीको स्टेयरिङ, गिएर र ब्रेकमा चल्न थाले । बुढो दलेले अपमान र दुःखले भरिएको आफ्नो शरीरलाई अगाडिको सिटमा बिसाएको छ । उसलाई खासै बोल्न मन छैन । जाने कुनै गन्तव्य पनि उसको मस्तिष्कमा आएको छैन ।

सडकमा शून्यताको एकछत्र राज चलिरहेको छ । फाट्टफुट्ट देखिन्छन् एकाध गाडी दौडिरहेका । बिहानीको एक जति बज्दै छ । पृष्ठभूमिमा रातको अँध्यारो छरिएको छ । हल्का उज्यालो छरिएको छ सडकभरि ।

“कहाँ जाने सर ? यसपालि कता बस्नुभा छ ?” जीवनले सोध्यो । 

जीवनको प्रश्नले बुढो झस्कियो । उसँग तत्कालमा कुनै जवाफ छैन कहाँ जाने भनेर । फ्याट्टै मुखबाट निस्कियो– “सनैयातिर जाउँ न ।” 

“हस ।”

कारभित्र फेरि सन्नाटा छायो । करिबन १५ मिनेट जति गुडिसकेपछि जीवनले सन्नाटा तोड्यो ।

“कान्छो भाइ पनि आउँछु भन्छ यतातिर ।” 

“के गर्छ नेपालाँ ?”

“गाडी नै चलाउँछ ऊ पनि ।” 

“लाइसन लिन सक्ला यता ?”

“खोइ, निकै गारो छ भन्छन् । लिन सकेन भने हेल्पर बन्न मान्ला कि नाई ।” 

“अब त हेल्पर पनि दिन्न भन्छन् । देओस् पनि कतिलाई, सप्पै फेल हुन्छन् । गाडी पनि कस्तो चलाउँछन् हाम्रा देशकाले । लठुवाहरू ।” बुढो दलेले दिकदारी पोख्यो ।  “केही न केही देला । सरले भनेसी कम्पनीले मान्ला नि !” जीवनले जोड गर्न छोडेन ।

“हिजोआज गन्नै छोडिहाले नि हाम्लाई इन्डियन र बङ्गाली लेराउन थालेपछि । हाम्राले लाइसन नै कटाउन नसक्ने भए, अरूलाई के दोष दिनु । हुन्छ, भनुम्ला गरुम्ला । कति झर्छ मलाई ?” मोलमोलाइमा आइपुग्यो बुढो दले । “उही चालिस गरौँला नेट ।”

“अनि तिमी कति उठाउँछौ नि ।”

“आफ्नै कान्छोभाइ हो, भिन्नो बसेको, धेरै सेक्न पनि भएन । जग्गै धितो राख्ने हो उसले पनि । मिलाएर गर्छु ।” “बाठा छौ तिमी । कमाउन त तिम्ले पनि जान्या छौ । अरू कोही छैनन् खुट्टो उचाल्ने ?”

“छन् नि ! काकाका छोराहरू पनि बाइरोडमा कति स्टेरिङ घुमाउनु, हाम्लाई पनि मुगलान झार दाइ भन्छन् । तपाईंलाई नभेटेरै मात्रै हो कुरो च्वाउन नपाको, कुरै पुरानो भैसक्यो ।” “भैहाल्छ नि कुरो चलाउ । सप्पैलाई ल्याउने हो । बरू हजार रियाल जति छ तिमीसँग अहिले ? पछि हिसाब मिलाउँला ।” बुढो दलेको अनुहारमा हल्का उज्यालो छरियो । “भैहाल्छ नि ! आफ्नो मान्छेलाई नदेर कसलाई दिनु ।” जीवनले पाँच/पाँच सय रियाल दरका दुइटा नोट हालिदियो बुढो दलेको हातमा । “लौ मलाई जहाँबाट उठाएर लेराएका थियौ त्यहीँ लगेर छोडिदेऊ । इजेतको सवाल छ ।” बुढो दलेले किच्च हाँस्दै भन्यो । “हस सर ।” अलिमाथि पुगेर यु टर्न ग¥यो कारले ।