• १९ भदौ २०८२, बिहिबार

अटिजम भएका बालबालिकाका लागि विद्यालय बन्दै

blog

अटिजमको उपचार, रोकथाम र व्यवस्थापनसम्बन्धी समितिले तयार पारेको अध्ययन प्रतिवेदन बुझ्‍नुहुँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल ।

काठमाडौँ, भदौ १८ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री  प्रदीप पौडेलले काठमाडौँको बुढानिलकण्ठमा अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माणको काम अगाडि बढिरहेको बताउनुभयो।

बुधबार अटिजमको उपचार, रोकथाम र व्यवस्थापनसम्बन्धी समितिले तयार पारेको अध्ययन प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यस्तो बताउनु भएको हो । उहाँका अनुसार बुढानिलकण्ठ–४ को जग्गामा अटिजमका बालबालिकालाई विद्यालय बनाउन भवन निर्माण प्रक्रिया सुरु भएको हो।

उहाँले अटिजम भएका बालबालिकालाई विद्यालय निमार्ण गर्न तीन करोड रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो । यो विद्यालय सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

मन्त्री पौडेलले प्रत्येक प्रदेशमा कम्तीमा एउटा-एउटा अटिजम विद्यालय स्थापना गर्ने योजना रहेको सुनाउनुभयो ।    

आठ महिना अगाडि मन्त्रालयले अटिजमको उपचार, रोकथाम र व्यवस्थापनसम्बन्धी निर्देशिका तयार पार्न डा. दीपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले बुधबार मन्त्री पौडेललाई निर्देशिकाको मस्यौदा हस्तान्तरण गरेको छ । उक्त मस्यौदा बुझाउँदै समितिका संयोजक डा. महराले सबै तहले कार्यक्रम सञ्चालन गर्न मिल्ने गरी निर्देशिकाको मस्यौदा तयार पारेको जानकारी दिनुभयो । 

 कान्तिबाल अस्पतालमा बाल मनोरोग विशेषज्ञ डा.अरुण कुँवरले नेपालमा अटिजम कसरी व्यवस्थापन गर्ने भन्‍ने विषयमा सरकारी स्तरबाट कुनै कार्यक्रम नभएको गुनासो गर्नुभयो । उहाँले यो निर्देशिकाले अटिजम भएका बालबालिकाको हेरचारको लागि उपयुक्त कार्यक्रम ल्याउन सहयोग पुग्ने दाबी गर्नुभयो ।    

त्यस्तै, अटिजम केयर सोसाइटिकी अध्यक्ष डा.सुनिता मलेखुले नेपालमा अटिजम जनस्वास्थ्यको समस्याको रूपमा देखिएको बताउनुभयो । उहाँले यो निर्देशिकाले राष्ट्रिय स्तरबाट अटिजमको सम्बोधन गर्न सहयोग पुग्ने बताउनुभयो । 

नेपालको जनगणना २०७८ अनुसार अटिजम भएका व्यक्तिको सङ्ख्या चार हजार ८८४ देखिन्छ। विश्व स्वास्थ्य सङ्गठनले भने नेपालमा झण्डै तीन लाखमा समस्या रहेको अनुमान गरेको छ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।