काठमाडौँ, भदौ १६ गते । सरकारले क्षयरोगको उपचारमा पाँचदेखि १० लाख खर्च गर्ने देखिएको छ ।
नेपालमा क्षयरोगको वर्तमान अवस्थाबारे राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालबिच अन्तर्क्रिया कार्यक्रममा केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले यस्तो जानकारी दिनुएको हो ।
डा.तिवारीले सरकारले एक जना औषधी प्रतिरोधि क्षयरोगी (ड्रग रेसिस्टेन्ट, डिआर टिबी) को उपचारमा पाँचदेखि १० लाख रुपियाँ खर्च गर्ने गरेको जानकारी दिनुभयो ।
उहाँ भन्नुुहुन्छ, “क्षयरोगको उपचार गर्न ५० हजार खर्च लाग्ने गर्छ भने यदि औषधीले काम गर्न छोड्दै गएमा त्यसलाई डिआर टिबी भनिन्छ जसको एक जना बिरामीको उपचार गर्न पाँच देखि १० लाख खर्च लाग्ने गर्छ ।”
सरकारले क्षयरोगका बिरामीको परिक्षण, उपचार र औषधी नि शुल्क उपलब्ध गराउँदै आएको छ । केन्द्रका वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीन प्रकाश शाहले डिआर टिबी भएपछि उपचार प्रक्रिया लामो र उपचार खर्च महङ्गो हुने हुँदा चिकित्सकले कुनैपनि औषधी चलाउँदा होसियार हुन आग्रह गर्नुभयो ।
पछिल्लो समय डिआर टिबीका बिरामी बढ्दै गएको बताउँदै कुनै औषधी प्रयोग गर्नुभन्दा पहिले त्यसको प्रतिरोधि क्षमता कस्तो छ भनेर जाँच गरेर चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सामान्य क्षयरोगीको भन्दा औषधी प्रतिरोधी क्षयरोगीको उपचार खर्च महङ्गो हुनुका साथै उपचार समय पनि लामो हुने गर्छ त्यसैले, कुनैपनि रोगको औषधी चलाउनुभन्दा त्यसको प्रतिरोध क्षमता जाँच गरेमात्र दिनु उपयक्त हुन्छ ।”
आर्थिक वर्ष २०८१/८२ मा ३९ हजार ११८ जनामा क्षयरोग पुष्टि भएकामा ६२५ औषधी प्रतिरोधी क्षयरोगी रहेका थिए । डिआर टिबी भएका पुष्टि भएका मध्ये ३९७ जना उपचारको दायरामा रहेको केन्द्रले जनाएको छ ।
बाँकी क्षयरोगी उपचाररको दायरा बाहिर रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा दुई हजार आठ सय औषधी प्रतिरोधी क्षयरोगी भएको अनुमान गरेको छ । नेपालमा डिआर टिबीको उपचार सफलतादर ७८ प्रतिशत रहेको छ ।
क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने सरुवा रोग हो । क्षयरोगीले खोक्दा, हाछ्यु गर्दा किटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने डा. शाह बताउनुहुन्छ ।