• ९ पुस २०८२, बुधबार

उपत्यकाका फल्चा संस्कृति अनि जीवनशैली

blog

सडक यातायातको पर्याप्त विकास र यात्रामा बासको उचित प्रबन्ध हुनुअघि नेपाली जनजीवनमा पाटी, ठाँटी, फल्चा र फलैँचाको महत्व ज्यादा थियो । तिनका अवशेष सहर तथा ग्रामीण क्षेत्रका मूलबाटो, बजारमा अझै देख्न पाइन्छ । कलाकृतिले महत्वपूर्ण त्यस्ता संरचनाको संरक्षणसमेत कतिपय ठाउँमा हुँदै आएको पाइन्छ ।

काठमाडौँमा त्यस्ता पाटी, पौवा प्रशस्त थिए, कुनै समय । बाहिरी जिल्लाबाट कामविशेषले काठमाडौँ आउनेहरूले त्यही पाटी, फल्चामा आश्रय पाउँथे । पहाडतिरका मूलबाटोमा बटुवाले बासका लागि तिनै पाटी र ठाँटी प्रयोग गर्थे । पाटी अर्थात् नेवाः भाषामा यसलाई फल्चा भनिन्छ । तथापि, निर्माण संरचनाका हिसाबले पाटी र फल्चामा केही भिन्नता छन् । नेवाः भाषामा फलेचा शब्द अपभ्रंश हुँदै हुँदै फल्चा हुन पुगेको भनाइ पनि छ । नेवाः भाषामा ‘फ’: भनेको पेटी हो । यही ‘फ’: बाटै ‘फचा’ हुँदै ‘फल्चा’ भएको मान्नेहरू पनि छन् । फल्चा नेवाः अवधारणा हो र वास्तुकलामा आधारित परम्परागत नेवाः संरचना हो । हरेक फल्चामा नेवाः कला र संस्कृति झल्किएको पाइन्छ । फलैँचालाई नेपाली बृहत् शब्दकोशले ‘घरको दलानमा र बाटाघाटाका चौतारा आदिमा धेरै मानिस अडेस लागेर बस्न, सुस्ताउन हुने गरी बनाइएको फलेकको मेच’ भनेर परिभाषित गरेको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘नेवार–नेपाली–अङ्ग्रेजी शब्दकोश’ मा ‘बाटोमा बस्नका लागि फल्याक ठोकेर बनाइएको आसन’ भनेर फलैँचालाई परिभाषित गरिएको छ । 

पूर्वी पहाडका परम्परागत शैलीका घरमा प्रायः दलान राखिने र दलानमै फल्याक राखेर बनाइने खाट जस्तो संरचनालाई फलैँचा भन्ने गरेको पाइन्छ । बसेर गफगाफ गर्ने एवं बटुवा तथा पाहुनाका लागि राति सुत्ने व्यवस्थासमेत फलैँचामा गर्ने गरिन्थ्यो । 

फल्चाको इतिहास

१६/१७ औँ शताब्दीदेखि नै फल्चा निर्माण हुन थालेको संस्कृतिविद्हरूको अनुमान छ । विशेष गरी उपत्यकाका मल्ल राजाहरूले फल्चा निर्माण गरेको भनेर संस्कृतिविद्हरूले उल्लेख गर्ने गरेका पाइन्छ । तथापि समाजका दानवीरहरूले मानवसेवाका लागि फल्चा बनाएको इतिहास पनि छ । नेपाल संवत् ७५१ मा निर्मित भक्तपुर सूर्यमढीको फल्चा तचपाटोलका विषमसिंह दर्शनधारीले बनाएको अभिलेख छ । नेपाल संवत् ८२० मा निर्मित काठमाडौँ महानगरपालिका–८, जयवागेश्वरी, नवालीटोलस्थित ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ (नरसिंह) फल्चादेखि दुई सय वर्षभन्दा पुरानो पाटन, पुल्चोकको समय् फल्चालाई अहिले पनि संरक्षण गरी राखिएको पाइन्छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा सयौँ फल्चा छन् । तिनको जीर्णोद्धारदेखि पुनर्निर्माण कार्य समय समयमा भइरहेको पाइन्छ । कतिपय स्थानीय सरकार र समुदायले नयाँ फल्चाहरूसमेत निर्माण गरिरहेका छन् । नेवाः वास्तुकलामा आधारित फल्चा विशेषतः सहरकेन्द्रित छ । देशभरका नेवाः बस्तीमा फल्चा छन् । नेवाः बस्तीमा तीन प्रकारका फल्चा भेटिन्छन्– घरमै जोडिएका, घना बस्तीको चोकमा बनाइएका र यात्रु अथवा बटुवाका लागि घना बस्तीभन्दा बाहिरका सडकमा बनाइएका । विशेषतः काठले बनाइने भए पनि घरमा जोडिएका वा घना बस्तीमा बनाइएका फल्चामा भुइँमा पनि काठ ओछ्याइएका हुन्छन् । घना बस्तीभन्दा बाहिर सडकमा बनाइएका फल्चामा ढुङ्गा वा इँटा ओछ्याइएका हुन्छन् । बटुवा अथवा यात्रुले राति बास बस्दा खाना पकाएर खान सजिलो होस् भनेर काठको सट्टा ढुङ्गा अथवा इँटा ओछ्याउने गरेको पाइन्छ । फल्चाहरू एक कवलदेखि सात कवलसम्मका भेटिन्छन् । कलात्मक बुट्टा कुँदिएका थाम तथा निदाल प्रयोग गरी बनाइएका फल्चाको छानो झिँगटीले छाएको पाइन्छ । 

उपत्यकामा फल्चा 

काठमाडौँ उपत्यकामा पुराना र नयाँसमेत गरी एक हजारभन्दा बढीको सङ्ख्यामा फल्चा रहेको अनुमान छ । भक्तपुर नगरपालिकाको सम्पदा शाखाका प्रमुख रामगोपाल श्रेष्ठका अनुसार भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘भक्तपुर’ मासिकको २०७२ सालको असार अङ्कमा प्रकाशित अभिलेख अनुसार भक्तपुर नगरपालिकाभित्र मात्रै २५६ वटा फल्चा छन् । त्यसपछि पनि नगरपालिकाको पहलमा नयाँ फल्चा निर्माण भइरहेका छन् ।

मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवालका अनुसार मध्यपुर थिमि नगरभित्र नयाँ तथा पुराना गरी १५० जति फल्चा छन् । ललितपुर महानगरपालिकाका सम्पदा शाखा प्रमुख श्रीकुमार महर्जनका अनुसार महानगरपालिकाभित्र करिब दुई सयको सङ्ख्यामा फल्चा रहेका छन् । फल्चाको सङ्ख्या गणना भइरहेको र पुराना फल्चाको जीर्णोद्धार भइरहेको पनि महर्जनले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाभित्र पनि दुई सयभन्दा बढी फल्चा रहेको अनुमान छ । फल्चाहरू नेवाः संस्कृति र सम्पदाका धरोहर मात्रै होइनन्, कला र जनजीवनका अमूल्य सम्पत्ति पनि हुन् ।

नेपालीमा फलैँचा र नेवाः भाषामा फल्चाको ध्वन्यात्मकता, यसको कार्य र उद्देश्य उस्तै लागे पनि यी दुईमा थोरै भिन्नता छ । नेपालको विशेष गरी पहाडी क्षेत्रमा घरको बाहिर पाली वा बार्दलीको मुनि पर्ने गरी फलैँचा बनाइन्छ । फल्चा चाहिँ विशेष गरी घना नेवाः बस्तीमा मान्छेको बढी आवतजावत हुने बाटो, चोक, मन्दिर सार्वजनिक स्थलमा बनाइने प्रचलन छ । यद्यपि फलैँचा र फल्चाको कार्य र उद्देश्य भने उस्तै लाग्छ । सामाजिक सेवाको उद्देश्यले फल्चाको अवधारणा र यसको निर्माणको परम्परा सुरु भएको देखिन्छ । हिँड्दाहिँड्दै थकाइ लाग्यो भने एकैछिन बसेर सुस्ताउने ठाउँ हो– फल्चा । घामले पोल्यो, पानी पर्‍यो, हावाहुरी चलेमा ओत लाग्ने ठाउँ हो– फल्चा । बुढापाकाको बसिबियाँलो गर्ने ठाउँ हो– फल्चा । सामाजिक विषयमा छलफल र निर्णय गर्दा भेला हुने ठाउँ हो– फल्चा । भजनकीर्तन गर्ने ठाउँ हो– फल्चा । संस्कृति हस्तान्तरण हुने ठाउँ हो– फल्चा । अनि केही र कोही नहुनेको आश्रयस्थल पनि हो– फल्चा । यति धेरै प्रयोजनका लागि उपयुक्त फल्चाले निकै ठुलो सामाजिक र सांस्कृतिक महत्व बोकेको महसुस हुन्छ । जुन बेला काठमाडौँँ उपत्यकामा होटेल र लजहरू थिएनन्; त्यो बेलामा बाहिरी जिल्ला, पहाड वा गाउँबाट आउने आगन्तुकले आश्रय लिने ठाउँ फल्चा नै थियो ।  

संस्कृति र जीवनशैली

नेवाःहरूको संस्कृति संरक्षण, संवर्धन तथा नयाँ पुस्तामा संस्कृति हस्तान्तरणमा फल्चाको पनि योगदान रहेको पाइन्छ । टोलसमाजसँग सम्बन्धित विषयमा छलफल र निर्णय गर्न भद्रभलाद्मीहरू फल्चामा भेला हुने चलन अहिले पनि छ । यसरी नेवाःहरूको जीवनका धेरै समय र सन्दर्भ फल्चासँग जोडिएको छ र फल्चासँग जोडिएर नेवाःहरूको जीवनको धेरै समय बित्ने गरेको छ । जीवनसँग जोडिएको फल्चा नेवाःहरूको जीवनशैली पनि हो । 

मल्लकालमा सार्वजनिक सरोकारका विषयमा छलफल र निर्णय गर्नुपर्दा फल्चाको प्रयोग गरिन्थ्यो । पाटनका राजा योगनरेन्द्र मल्लले यसरी फल्चामा बसेर जनताका कुरा सुन्थे र निर्णय लिन्थे भनेर लेखिएको पाइन्छ । उनले प्रयोग गर्ने गरेको मण्ड फल्चा (सोह्रखुट्टे पाटी) अहिले पनि पाटन दरबार क्षेत्रमा संरक्षण गरिराखेको पाइन्छ । अहिले त्यही फल्चामा बसेर रातो मत्स्येन्द्रनाथको रथयात्राको साइत निकाल्ने प्रचलन कायम छ ।

नेवाः समुदायको वास्तुकलामा आधारित फल्चा नेवाः जातिको पहिचान हो । सांस्कृतिक धरोहर हो । अनि सामाजिक एकताको प्रतीक पनि हो– फल्चा । टोलवासीको भेटघाटको स्थान फल्चालाई तोक्ने र फल्चामा सामाजिक कार्यका विषयमा छलफल र निर्णय गर्ने, पूजापाठ गर्ने र जात्रापर्व मनाउने काम पनि हुन्छ । फल्चामा बसेर संस्कृति संरक्षण र संवर्धनका विषयमा छलफल हुँदा संस्कृति हस्तान्तरण, संरक्षण र संवर्धनमा समेत टेवा पुगेको देखिन्छ । फल्चामा बसेर छलफल गर्दा लामो समय बिताउनुपर्दाको अवस्थामा तिर्खा मेट्न पानीको आवश्यकता पर्न सक्ने हुँदा फल्चासँगै ल्होँहिटी अर्थात् ढुङ्गेधारा पनि निर्माण गरिएको पाइन्छ । फल्चासँगै ल्होँहिटी अर्थात् ढुङ्गेधाराको निर्माणले तत्कालीन समयमा बटुवालाई विश्रामका साथै तिर्खा मेट्ने अवसर पनि प्रदान गरेको हुन्थ्यो । 

सडकलाई नै आश्रयस्थल बनाउन विवश गरिब र असहाय सहयोगापेक्षीहरूको वासस्थान पनि होे– फल्चा । नेवाःहरूले फल्चाजस्तै ‘सतः’ पनि बनाउने गर्छन् । आकारको दृष्टिले फल्चा भन्दा ‘सतः’ अलि फराकिलो हुन्छ; जहाँ विशेष गरी भोजभतेर, धार्मिक तथा सांस्कृतिक कार्यक्रम एवं विशेष अवसरमा मान्छे भेला गर्ने काम गरिन्छ । पहिले पहिले पहाड अथवा गाउँबाट सहर आएका यात्री काठमाडौँ, ललितपुर र भक्तपुरका फल्चा र सतःमा राति बास बस्ने गर्थे । पाचौँ शताब्दीभन्दा अघि बनेको काठमाडौँको काष्ठमण्डपले धेरै पाहुना र सहयोगापेक्षीलाई आश्रय दिएको पाइन्छ ।

पर्यटकीय आकर्षण

फल्चा नेवाः वास्तुकलामा आधारित संरचना भएकाले यो पर्यटकका लागि आकर्षणको केन्द्र पनि बन्न सक्छ । नेपालको पर्यटन प्रवर्धनमा पनि फल्चाको विशेष योगदान रहनेमा विश्वस्त हुन सकिन्छ । फल्चाले सहरको सुन्दरता पनि बढाउँछ । कङ्व्रिmटको जङ्गल बन्दै गरेको सहरमा काठमा कलात्मक बुट्टा कुँदिएका थाम, निदाल र परम्परागत झिँगटी प्रयोग गरी बनाइएका फल्चा सहरको सौन्दर्य बनेको महसुस हु्रन्छ । साथै नेवाःहरूको धर्म, संस्कृति र जीवनशैली झल्किने यस्ता कलात्मक फल्चा पर्यटकका लागि आकर्षणको केन्द्र पनि बनेको देखिन्छ । उपत्यकाको सम्पदा र सांस्कृतिक धरोहरका रूपमा रहेको फल्चाको महत्व बुझेर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नो चुनावी घोषणापत्रमै बसबिसौनीमा परम्परागत फल्चा निर्माण गर्ने उल्लेख गरेका थिए । चुनाव जितिसकेपछि उनले महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को पहिलो नीति तथा कार्यक्रममा महानगरका बसबिसौनीहरूमा प्रतीक्षालयका रूपमा फल्चा निर्माण गर्न विभिन्न सङ्घसंस्थालाई प्रोत्साहन गर्ने उल्लेख गरेका थिए । फल्चाको संरक्षण, संवर्धन र पर्यटन प्रवर्धनमा पनि फल्चा शैलीको बसबिसौनीले टेवा पुर्‍याउनेमा विश्वस्त हुन सकिन्छ ।


बनाइँदै फल्चा

काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न स्थानका बसबिसौनीमा फल्चा निर्माण गरेको पाइन्छ । काठमाडौँ महानगरपालिकाको सम्पदा शाखाकी प्रमुख कुमारी राईका अनुसार काठमाडौँमा २६ वटा नयाँ फल्चा निर्माण गरिने छ । तिनमा समुदायस्तरका दुई वटा हुने छन् । महानगरका विभिन्न १४ वटा स्थानमा फल्चा निर्माण सुरु भइसकेको पनि छ । भक्तपुर नगरपालिकाले हरेक वर्ष पुराना फल्चाको जीर्णोद्धार र नयाँ फल्चाहरूको निर्माण पनि गरिरहेको छ । उपत्यकामा तुलनात्मक रूपमा भक्तपुरमा फल्चाको सङ्ख्या धेरै रहेको पाइन्छ । विगतमा मुख्य सडकमै जोडिएर रहेका कतिपय फल्चा सहरीकरणसँगसँगै सडक विस्तारका क्रममा अतिक्रमित र विस्थापित हुन पुगेका छन् । कतिपय ठाउँमा फल्चा जोगाउने विषयमा स्थानीयवासी र स्थानीय तहबिच विवादसमेत भएका छन् र मुद्दामामिला पनि परेका छन् । ललितपुर पुल्चोकको दुई सय वर्षभन्दा पुरानो समय् फल्चाको पुनर्निर्माणको सन्दर्भमा यस्तै मुद्दामामिला परेको थियो ।

युवा जागरण

पछिल्लो समय फल्चा संस्कृतिप्रति नयाँपुस्ताको पनि चासो र आकर्षण बढेको पाइन्छ । ऐतिहासिक सम्पदाका रूपमा चिनिएको फल्चाको मौलिक र भिन्न संरचनाप्रति युवाको आकर्षण र अभिरुचि बढेकाले यसको संरक्षण र संवर्धनमा स्वयं युवाकै सहभागिता पनि बढ्दै गएको छ । नगरका फल्चाहरूको जीर्णोद्धार, पुनर्निर्माण तथा नयाँ फल्चा निर्माणमा देखिएको युवा सहभागिता र उनीहरूले देखाएको चासोले उपर्युक्त तथ्यलाई पुष्टि गरेको छ । 

सहरका विभिन्न ठाउँमा फल्चाका नाउँमा रेस्टुरेन्ट खुल्ने क्रम जारी छ । ती फल्चामा स्वदेशी तथा विदेशी पर्यटक सँगसँगै बसेर चिया, कफी र अन्य परिकारको स्वादसँगै नेवाः मौलिक कलाको सौन्दर्यपान गरेर आनन्द पनि लिइरहेका देखिन्छन् । नेपाली सम्पदाको नाम त्यसको सौन्दर्य समृद्धिको आधार बन्न सक्ने यथार्थलाई मनन गर्दै कला र सम्पदालाई पर्यटनसँग जोडेर प्रवर्धनात्मक कार्य गर्नु आवश्यक देखिन्छ । 

काठमाडौँ उपत्यकाभित्र मात्रै होइन, बाहिरी जिल्लाका सहरी क्षेत्रमा पनि फल्चा क्याफे र फल्चा रेस्टुरेन्ट खुल्ने क्रम जारी छ; जहाँ विशेष गरी युवावर्गको आकर्षण देखिएको छ । यसरी नै फल्चाप्रति नयाँपुस्ताको चासोलाई जगाइराख्न र जोगाइराख्न सके नेवाः संस्कृति र सम्पदाको धरोहरका रूपमा रहेका फल्चाहरू युग युगसम्म जीवित रहने छन् । नेपालको समृद्धिको आधार पनि बनिरहने छन् ।

वास्तवमै नेपाली मौलिक कलाको अनुपम उदाहरण पनि हो– फल्चा । नेवाः सम्पदा र संस्कृतिको जीवन्त साक्षी बनेर बसेको फल्चाले नेवाः समुदाय र संस्कृतिको इतिहास पनि बोकेको छ । कलात्मक शिखर शैलीमा बन्ने फल्चामा स्थानीय सीप, स्रोत र साधनको उपयोग हुन्छ । यसले स्थानीय सीप, स्रोत र साधनलाई पनि प्रोत्साहन गर्छ । भिन्न अनुभव र भिन्न अनुभूति गराउने यस्ता वास्तुकलायुक्त फल्चाले नेपाली कला र संस्कृतिको संवर्धनमा सघाउँदै पर्यटन प्रवर्धनमा समेत टेवा पुर्‍याएको देखिन्छ । 

फल्चा निर्माणको दोहोरो फाइदा छ । फल्चा निर्माणले एकातिर सार्वजनिक आवश्यकता पूर्ति हुन्छ भने अर्कातिर सांस्कृतिक सौन्दर्य अभिवृद्धि भई नेपाली मौलिक कला र सम्पदाको संवर्धनमा पनि टेवा पुग्छ । आधुनिकताले खर्लप्पै निल्न थालेको सहरी सभ्यतामा फल्चा जस्तो नितान्त मौलिक, ऐतिहासिक र परम्परागत सम्पदाले प्राचीन सभ्यता र संस्कृतिको जीवन्त इतिहासलाई पनि जोगाइराखेको छ । ऐतिहासिक सम्पदा जोगाउँदै परम्परा जगेर्ना गर्नमा पनि फल्चाले महत्वपूर्ण योगदान गर्ने हुँदा विशेष गरी स्थानीय सरकारले फल्चाको संरक्षण र संवर्धनमा विशेष भूमिका निर्वाह गर्नु वाञ्छनीय हुने छ ।

संरक्षणमा सहकार्य

समग्रमा भन्नुपर्दा फल्चा नेवाःहरूको संस्कृति हो, सम्पदा हो र जीवनशैली पनि हो । सिङ्गै नेवाः समुदायको पहिचान बोकेको फल्चाको संरक्षण र संवर्धनले नेवाःहरूको पहिचानको पनि संरक्षण हुन्छ । यस अर्थमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिकालगायतका स्थानीय तहले पुराना फल्चाको जीर्णोद्धार र पुनर्निर्माणसँगसँगै नयाँ फल्चाको निर्माणमा देखाएको चासो र तदारुकतालाई प्रशंसनीय मान्नु पर्छ । स्थानीय तहको यो सत्प्रयासमा स्थानीयवासीको सहयोग, समर्थन र सहकार्य जारी रहे नेवाःहरूको सम्पदा, संस्कृति र जीवनशैलीका रूपमा रहेको फल्चाको संरक्षण र संवर्धनको कार्य सहज र सफल हुने छ ।  

Author

रत्न प्रजापति