शेरबहादुर राई
ओखलढुङ्गा, पुस ८ गते । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–९ स्थित मितेरी सामुदायिक वन क्षेत्रमा दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) फेला परेको पुष्टि भएको छ ।
साविक पात्ले गाविस–४ अन्तर्गत पर्ने ताक्लुङ, नयाँवन र तारकेन आसपासको क्षेत्रमा रेड पाण्डा देखिएको भन्दै स्थानीयवासीले विगत केही वर्षदेखि जानकारी दिँदै आएका थिए ।
प्राप्त सूचनाका आधारमा डिभिजन वन कार्यालय ओखलढुङ्गाले उक्त क्षेत्रमा रेड पाण्डाको फोटो, भिडियो, मलमूत्र, वासस्थान, चिन्ह तथा फुटप्रिन्टको परीक्षणका लागि टोली परिचालन गरेको थियो । डिभिजन वन कार्यालय ओखलढुङ्गाका प्रमुख मनराज राई, सब–डिभिजन वन कार्यालय खिजीदेम्बाका वन सहायक प्रमुख प्रमेश अधिकारी सहितको टोली केही दिन फिल्डमै खटिएर अनुगमन तथा परीक्षणमा जुट्नुभएको थियो ।
टोलीको स्थलगत अनुगमन र विज्ञको सल्लाहका आधारमा सो क्षेत्रमा रेड पाण्डा रहेको पुष्टि भएको कार्यालय प्रमुख राईले जानकारी दिनुभयो । यसअघि पनि खिजीदेम्बा गाउँपालिका–९ का वडा अध्यक्ष ङवाङफुरी शेर्पाले रेड पाण्डा नेटवर्क काठमाडौंलाई फोटो तथा विवरण पठाउँदा विज्ञबाट हाब्रे अर्थात् रेड पाण्डा भएको पुष्टि भएको थियो ।
रेड पाण्डा फेला परेपछि संरक्षणका लागि योजना बनाएर अघि बढ्ने वडा अध्यक्ष शेर्पाले बताउनुभयो । दुर्लभ वन्यजन्तु फेला पर्नु वडा, गाउँपालिका तथा जिल्लाकै लागि गौरवको विषय भएको उल्लेख गर्दै उहाँले यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
रेड पाण्डा फेला परेको पुष्टि भएपछि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ (२) ग (३७) अनुसार पहिलो पटक प्रमाणीकरण गरिएको छ । साथै रेड पाण्डाको संरक्षण, निगरानी तथा दिगो व्यवस्थापनका लागि सबै सरोकारवालालाई पहल गर्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।