• २८ भदौ २०८२, शनिबार

जमुनाहा नाकामा आवागमन सहज

blog

जमुनाहा नाकामा भारतबाट फर्किनेको कडा चेकजाँच गर्दै सुरक्षाकर्मी । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, भदौ २८ गते । जेनजी आन्दोलनका कारण बन्द गरिएको नेपाल भारत जमुनाहा सीमा नाकामा आवागमन सहज बन्दै गएको छ । 

भारतले बुधबारबाट बन्द गरेको सीमा नाकालाई शुक्रबार आशिंक रूपमा सुचारु गरे पनि शनिबारबाट आवागमनलाई बढी खुकुलो पारेपछि दुबै देशका नागरिकलाई आउन जान सहज भएको हो । 

पूर्णरूपमा नाका अझै पनि नखोलिएको जनाउँदै भारत रुपैडिहास्थित भारतीय प्रहरी थानाका प्रमुख रमेशसिंह रावतले शनिबारबाट कडा चेकजाँच गरेर आवागमनलाई सहज बनाउँदै लगिएको बताउनुभयो । 

यसअघि भारतले बिरामी, एम्बुलेन्स तथा अन्य आपतकालीन अवस्थाका नेपाली नागरिकलाई मात्र भारत प्रवेश गर्न दिएको थियो भने भारतीय नागरिकलाई नेपाल आउन दिएको थिएन । 

भारतबाट स्वदेश फर्किनु भएका कालीकोट मान्मका जयवीर रोकाले भारतीय सुरक्षाकर्मीले निकै बेरसम्म सोधपुछ र केरकार गरेको बताउनुभयो । देशभर जेनजी विद्यार्थीले प्रदर्शन सुरु गरेपछि केन्द्रको आदेश जनाउँदै भारतीय सुरक्षाकर्मीले सीमा नाका बुधबारबाट बन्द गरेका थिए । 

जमुनाहा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले शनिबारबाट आवागमन सहज र सरल बन्दै गएको जनाउँदै भारतले आउन दिएकालाई आफूहरूले पनि चेकजाँचपछि आउन दिएको बताउनुभयो । 

यसअघि प्रदर्शनकारीले जमुनाहाको प्रहरी चेकपोस्टसहित इलाका प्रहरी कार्यालय र भन्सार यात्रु शाखामा मङ्गलबार दिउँसो आगजनी र तोडफोड गरेर ध्वस्त बनाएका थिए ।