काठमाडौं, असार ३१ गते। चालु आर्थिक वर्ष २०७९/०८० को अन्तिम छ दिनमा ५२ अर्ब ३६ करोड बढी भुक्तानी भएको छ। महालेखा परीक्षक कार्यालयको तथ्याङ्क अनुसार वर्षको अन्तिम ६ दिनमा ५२ अर्ब ३६ करोड चाल लाख रुपियाँ भुक्तानी भएको हो। 
चालु आर्थिक वर्ष २०७९/०८० को असार २४ गतेसम्म १३ खर्ब ७६ अर्ब ५३ करोड ७२ लाख भुक्तानी भएको थियो। बाँकी ६ दिनमा ५२ अर्ब खर्च हुँदा असार ३० गतेसम्म १४ खर्ब २८ अर्ब ८९ करोड ७६ लाख भुक्तानी भएको छ।
यो भुक्तानी रकम कुल बजेटको ८० प्रतिशत हो। चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बजेट विनियोजन भएको थियो।  चालुतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रकम छुट्याइएकोमा १० खर्ब ६ अर्ब आठ करोड २० लाख अर्थात ८५.०९ प्रतिशत खर्च भएको छ। 
पछिल्लो छ दिनमै चालूतर्फ चार अर्ब १४ करोड ७२ लाख रकम भुक्तानी भएको छ। असार २४ गते १० खर्ब दुई अर्ब ६५ करोड ४८ लाख खर्च भएकोमा ३० गतेसम्म १० खर्ब छ अर्ब ८० करोड २० लाख रुपियाँ खर्च भएको छ। 
यस्तै पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख विनियोजन गरिएकोमध्ये अहिलेसम्म दुई खर्ब ३२ अर्ब ६८ करोड २९ लाख अर्थात ६१.१७ प्रतिशत खर्च भएको छ।
पछिल्लो छ दिनमा पुँजीगततर्फ २१ अर्ब ८९ करोड ३६ लाख, वित्तीयतर्फ २६ अर्ब ३१ करोड ९६ लाख  भुक्तानी भएको छ।
असार २४ गतेदेिख राेकिएको थियो स्थानीय सरकारको भुक्तानी 
महालेखा परीक्षकको कार्यालयले असार २४ गते रातिदेखि स्थानीय सरकारको भुक्तानी प्रकृया रोकेको थियो।
परीक्षकको कार्यालयले अग्रिम सूचना जारी गरेर नै भुक्तानी प्रक्रिया रोकेको हो।  प्रदेश तथा स्थानीय तहले प्रदेश तथा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को सहायताबाट आम्दानी तथा खर्चको व्यवस्थापन गर्ने गर्दछन्। असार २४ गते उक्त प्रणलीमा नै समस्या देखिएपछि धेरै स्थानीय तहको भुक्तानी प्रभावित भएको थियो। 
भौचर तयार भइसकेको रकम भुक्तानी हुन बाँकी रहेकाले निकासाका लागि महालेखा नियन्त्रक कार्यालयमा जनप्रतिनिधिले पटकपटक गुनासो गरेपछि पाँच  दिनको लागि खोलिएको थियो। 
स्थानीय तहको असन्तुष्टि 
असार २४ गते ‘सूत्र’ प्रणाली बन्द गरेसँगै कतिपय स्थानीय तहले भुक्तानी नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। पाल्पाको माथागढी गाउँपालीकामा कर्मचारीले स्थानीय उपभोक्ताले अभद्र व्यवहार भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग समेत गरेका थिए।
माथागढी गाउँपालीका अध्यक्ष यमबहादुर चिदीले महालेखा निरिक्षक कार्यालयले सूत्र प्रणाली खुला गरेपछि भौचर काटेका सबै भुक्तानी असार २८ गते दिइएको बताउनुभयो।
किन हुन्छ भुक्तानी बन्द ?
महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालका अनुसार आर्थिक वर्ष सकिने समयमा फजुल चेकहरु काट्ने भएकाले एक हप्ता अघि नै भुक्तानी प्रक्रिया बन्द गरिएको हो। यस वर्ष भुक्तानी रोकिने अन्तिम दिनमा सूत्र सिस्टममा आएको समस्याले गर्दा भुक्तानी दिन नसकिएको गुनासो धेरै आएकाले पाँच दिनका लागि भुक्तानीको प्रक्रिया खुला गरिएको उहाँले बताउनुभयो।
गतवर्ष भने सरकारले एक हप्ता अघि भुक्तानी प्रक्रिया रोक्का गरेको थियो। गतवर्ष धेरै सरकारी कार्यालयले पछिल्लो एक साता सिस्टमबाट नभई अन्यत्रबाट रकम भुक्तानी गर्दा महालेखा परीक्षक कार्यालयले लेखारीक्षणका क्रममा सो शीर्षकका रकमलाई बेरुजु औँल्याएको थियो। 
आइतबार सरकारी भुक्तानी भएन
चालू आर्थिक वर्षको लागि आज भुक्तानी बन्द गरिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व नियमावलीको व्यवस्थाअनुसार आर्थिक वर्षको अन्तिम दिन कुनै पनि भुक्तानी नहुने महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी खनालले बताउनुभयो। नियमावलीको नियम ३० मा आर्थिक वर्षको अन्तिम दिन भुक्तानी निकासा नदिने उल्लेख गरिएको छ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                