• ८ मंसिर २०८१, शनिबार

सघन सेवालाई दुर्गममा पुर्‍याउन टेलिआइसियु सञ्चालनमा ल्याउनुपर्छ

blog

काठमाडौं, असार १८ गते । सघन उपचार सेवालाई बीमाको दायरामा ल्याउन सके सर्वसाधारणले सुलभरूपमा सेवा पाउने चिकित्सक बताउँछन् । 

छातीरोग विशेषज्ञ डा.प्रकाश पौडेलले सरकारले सरकारी तथा निजी अस्पतालका सघन उपचार सेवालाई बीमाको दायरामा ल्याउन सकेमा बिरामीले सर्वसुलभ रूपमा सेवा पाउन सक्ने बताउनुहुन्छ ।

डा.पौडेलका अनुसार सघन उपचार सेवालाई बीमाको दायरामा ल्याइयो भने बिरामीको परिवारले स्वास्थ्यको बारेमा जानकारी लिए मात्र पुग्छ । 

उहाँ भन्नुहुन्छ,“नेपालमा बिरामीलाई सघन उपचार कक्षमा राखियो भने बिरामीका आफन्तलाई अब कति पैसा लग्ने हो,निको हुने हो कि हैन भन्ने चिन्ताले सताउने गर्छ । यदि बीमा सरकारी तथा निजी अस्पतालमा लागु गरेमा बिरामीले सेवा लिन निश्चित ठाउँ मात्र कुर्नुपर्ने बाध्यताको अन्त्य हुनुका साथै सिकिस्त बिरामीको मृत्युदर न्यूनीकरण गर्न सकिथ्यो ।”

सहजै रूपमा सघन उपचार सेवा सबैको पहुँचमा पुर्‍याउन सरकारले सुविधासम्पन्न सघन उपचार सेवा विस्तार गर्नुका साथै जनशक्ति वृद्धि गर्दै लैजानुपर्नेमा पौडेलले जोड दिनुभयो। 

यसो गर्न सकेमा सर्वसाधारणले सघन उपचार सेवा नपाएर अकालमै मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ ।

डा.पौडेलका अनुसार दुर्गमका जनतालाई आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकारले टेलिआइसियु र टेलिमेडिसिन सेवा दुर्गममा विस्तार गर्न आवश्यक छ । उहाँ भन्नुहुन्छ, “टेलिआइसियु र टेलिमेडिसिन सेवा विस्तार गर्न सकेमा काठमाडौंमा भएका सुविधा दुर्गमका जनताले सजिलै पाउन सक्थे ।”

डा.पौडेलका अनुसार शरीरका एक वा एकभन्दा बढी अङ्गहरूमा जटिल समस्या उत्पन्न भई सिकिस्त भएका बिरामीलाई छिटो उपचार सेवा प्रदान गर्ने विधालाई सघन उपचार विधि भनिन्छ । यस्तो अवस्थामा बिरामीलाई सही उपचार समयमा दिन सकिएन भने बिरामीको ज्यान पनि जान सक्ने चिकित्सक बताउँछन् ।

उहाँ भन्नुहुन्छ, “विभिन्न समस्या एवम् सङ्क्रमणका कारण मुटु, फोक्सो, मिर्गौला, टाउको लगायतका महत्त्वपूर्ण अङ्गहरूमा असर पुगेका बिरामीका लागि सघन उपचारको आवश्यकता पर्छ । यस्ता बिरामीलाई तुरुन्त उपचार गरिएन भने बिरामीको मृत्युसमेत हुने गर्छ ।”

चिकित्सकका अनुसार सघन उपचार कक्षमा बिरामीलाई विभिन्न प्रविधिको प्रयोग गरेर औषधिको माध्यमबाट सिकिस्त बिरामीको सङ्क्रमण नियन्त्रण गर्ने र खराब भएका अन्य अङ्गलाई सपोर्ट दिएर छिटोभन्दा छिटो बिरामीको ज्यान बचाउने कोसिस गरिन्छ । सघन उपचारमा गएका ७० प्रतिशत बिरामीलाई बचाउन सकिने चिकित्सक बताउँछन् ।

सघन उपचार सेवा के हो,कस्ता बिरामीलाई सघन उपचार आवश्यक पर्छ?, सघन उपचारलाई सुलभ रूपमा सर्वसाधारणको पहुँचमा पुर्‍याउन सरकारको भूमिका के कस्ता हुनुपर्छ लगायतका विषयमा केन्द्रित भएर छातीरोग विशेषज्ञ डा.प्रकाश पौडेलसँग गोरखापत्र अनलाइनका लागि तयार पारिएको भिडियो संवादः 

भिडियो : मनोजरत्न शाही 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।