माग अनुरूपको कुनै पनि वस्तु वा सेवाको उत्पादन सामान्यतया आर्थिक प्रक्रिया हो । यस्तो उत्पादन आफैँ अगाडि बढ्दैन । उत्पादनका निम्ति साधन आवश्यक हुन्छ । पुँजी, श्रम, कच्चा पदार्थ, प्रविधि आदि उत्पादनका साधन हुन् । यी उत्पादनका साधन प्रयोग गर्ने सिप र दक्षता अझ महत्वपूर्ण हुन्छ । यो सिप र दक्षताको तृष्णा र पारख नै वास्तवमा उद्यमशीलता हो । उद्यमशीलताले उत्पादनका साधन प्रयोग गरेर आर्थिक मूल्य सिर्जना हुन सक्ने वस्तु वा सेवा उत्पादन गर्छ । ती वस्तु वा सेवाले समाजको आवश्यकता तथा माग पूरा गर्दै जान्छ । सकेसम्म न्यूनतम लागतमा बढी उत्पादन गर्न सक्नु उद्यमशीलताको पारख हो । व्यवस्थापनमा लामो अध्ययन अनुसन्धानका अध्येता प्राडा पराशर कोइरालाले नेपाली परिवेशमा उद्यमी बन्ने प्ररेणा दिँदै नयाँ कृति सिर्जना गर्नुभएको छ– उद्यमी ।
उद्यमीका विषयवस्तु नेपालको भूगोल, माटो, संस्कृति र समाजसापेक्ष सङ्गठित गरिएको छ । विषय प्रारम्भिक अध्याय हामी र हाम्रो बसाइबाट भएको छ । हिमाल, पहाड र तराई नेपालको भूगोल प्रकृतिको अनुपम उपहार हो । नेपालको हिमशृङ्खला विश्वकै पर्यटक लोभ्याउन सक्ने प्राकृतिक उपहार हो । यो उपहारलाई उद्यमशीलतामार्फत पर्यटनलगायत अर्थतन्त्रका आयाम विकास गर्न सकिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालसँग मात्रै छ । आठ हजार मिटरभन्दा अग्ला हिमाल कञ्चनजङ्घा, लोत्से, मकालु, चोयु, धौवलागिरि, मनासलु र अन्नपूर्ण जस्ता प्राकृतिक सम्पदा पनि नेपालमै छन् । जैविक विविधताको स्रोत पहाड पहाडमा । अनि अन्न भण्डारको तराई छ । उद्यमशीलताका निम्ति मुलुक अनुपम छन् भन्ने विषयलाई प्राथमिकता दिइएको छ । ‘हाम्रो धन या सबल पक्ष भनेको प्राकृतिक सौन्दर्य, छोटो दुरीमा परिवर्तित हावापानी, जैविक विविधता, साहस र हिम्मतिला जनशक्ति हुन् तर हामीले हाम्रा सबल पक्षको कदर गरेनौँ (पृष्ठ १४) ।’ प्राकृतिक सौन्दर्य, ठाउँ र गाउँ अन्तरविशेषमै परिवर्तित हावापानी नेपालका सम्पत्ति हुन् । जैविक विविधता कच्चा पदार्थका स्रोत हुन् । साहस र हिम्मतिला जनशक्तिले देशभित्र काम गर्न सक्ने आधार निर्माण हुन सक्ने ऊर्जा पुस्तकले दिएको छ ।
पुस्तकको दोस्रो अध्याय प्रतिभासँग सम्बन्धित छ । प्रतिभा प्राकृतिक देन पनि हो तर यसले प्रस्फुटन पाउन भने अनुकूल वातावरण चाहिन्छ । बीजलाई अनुकूल हावापानी र माटोमा राख्न नसकिए उम्रन, बढ्न र फल्न र फैलन सक्दैन । ‘अन्तिम गन्तव्यका रूपमा खडा भएको सपना उसको हिम्मत, समर्पण र महत्वकाङ्क्षाको सहाराले पूरा हुन सक्छ (पृष्ठ २९)।’ प्रतिभा भएर मात्र उद्यम हुन सक्दैन भन्ने सन्दर्भलाई सरल तरिकाले बुझाउन खोजिएको छ । आदिकालदेखिकै मानिसको बुद्धि, मेहनत र साहसबारे चिन्तन छ । बुद्धि विकासको आर्थिक आयाममा यथार्थ छ । वास्तवमा व्यक्तित्वभित्र प्रतिभा अन्तरनिहित हुन्छ । त्यसलाई प्रस्फुटन गर्नु पर्छ । उद्यम गर्नेले जहिले पनि आफ्ना ग्राहकलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्न सक्नु पर्छ । यो गहन विषयलाई कृतिले सरलीकरण गरेको छ । कृषि, पशुपालन, सानो उद्योग, सेवामूलक व्यवसाय अगाडि बढाउने अनेक जुक्ति दिइएको छ । नेपालीसँग प्रतिभा छ र साहस पनि छ तर किन पछाडि ? भन्ने विवेचना गरिएको छ । वैदेशिक रोजगारी बाध्यात्मक बन्दै गएको परिवेशले त्यहाँबाट आर्जन गरेको पुँजी, सिप र दक्षतालाई उद्यममा लगाउन सकिने बाटो देखाउने यत्न गरिएको छ ।
नेपाली परिवेश र प्रतिभाको गहन चिन्तनपछि अध्याय तीनले उद्यमका निम्ति हिम्मत दिने प्रयास गरिएको छ । म सक्छु भन्ने अध्याय तीनले हिम्मतले असम्भवलाई सम्भव बनाउने प्रयास गर्छ भनिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका निम्ति एडमन्ड हिलारी र तेन्जिङ शेर्पाको विषय प्रवेशबाट आरम्भ गरिएको यो अध्यायका अनेक आयाम छन् । विषयवस्तुलाई परिपक्क बनाउन अनुसन्धानको सहयोग लिइएको छ । ससाना व्यवसाय, पेसामा सहभागी भएका मानिससँगका अन्तर्वार्ता र अनुभव अनुसन्धानमूलक तवरले समेटिएको छ । स्थानविशेषको परिवेश र सम्भावनामा के कसरी मानिसले उद्यम विकास गर्न सक्छ ? भन्ने ज्ञान र अनुभव प्राप्त गरी त्यसबाट उद्यमशीलताको देशीय सिद्धान्त विकास गर्न सक्नेसम्मको आयाम यो अध्यायमा पाउन सकिन्छ । प्रगति आजको भोलि त हुँदैन तर ससाना व्यवसायले थप व्यवसाय गर्ने ज्ञान, अनुभव र हिम्मत दिन सक्छ । मागको विश्लेषण गरी त्यसै अनुरूपको वस्तु तथा सेवा उत्पादन गर्न सक्छ । एकै पटक ठुलो पुँजीभन्दा ससानो पुँजीले श्रमकेन्द्रित र स्थानीय साधन र कच्चा पदार्थको बढी प्रयोग हुन सक्ने उद्यमतर्फ युवालाई आकर्षित गर्ने प्रयास गरिएको छ । ‘दृढ इच्छाशक्ति हुनु नै सपनाको सुरुवात हो ।’ पुस्तकले नेपाली युवालाई हौस्याएको पनि छ । बाटो पनि देखाएको छ ।
अध्याय चारले वस्तु वा सेवा उत्पादनका निम्ति बजारको विवेचना गरेको छ । बिक्रीवितरणमार्फत यो अध्यायमा ग्राहकको विश्वासलाई नै उत्पादक र उद्यमको सम्पत्ति हो भनिएको छ । बजार प्रणालीको अध्ययन अन्वेषणसँगै उद्यममा लगानी विस्तार गर्दा उद्यमीको बाटो फराकिलो हुँदै जाने छ । त्यस क्रममा व्यवसाय प्रवर्धन अति महत्वपूर्ण आयाम हुन आउँछ । पुस्तकले आर्जन गरेको पैसालाई बचत र पुनर्लगानीका निम्ति व्यावहारिक सुझाव पनि दिएको छ । आर्जन गरेको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्दा भोलि असजिलो दिनसमेत आउन सक्ने औँल्याइएको छ ।
अन्तिम अध्यायले युवा सोचाइलाई समेटेको छ । युवा उमेरजन्य मात्र नभई सोच, चिन्तन र नवप्रवर्तनप्रतिको आशक्तिलाई समेत जोड्न खोजिएको छ । नवीनतम प्रविधिको प्रयोग गर्न सक्ने, समयको वेग र बदलिँदो परिवेश चिन्न सक्ने दूरदर्शीपनालाई पुस्तकले युवा सोचसँग जोड्न खोजेको छ । इच्छाशक्तिलाई सुषुप्त अवस्थामा नराखी अगाडि बढ्न सक्नु उद्यमशीलताको पारख हो भन्ने सन्देश छ । विषयक्रममा आएका शृङ्खलाबद्ध सबै अध्याय हामी र हाम्रो बसाइ, सक्छु, बिक्रीवितरण, युवा सोचाइ तमामले नेपाली परिवेशलाई अर्थसामाजिक ढङ्गले विवेचना गरेका छन् । नेपाली युवालाई आफ्नै माटोमा उद्यम गर्न प्रेरणा जगाउने खालका प्रशस्त विषयवस्तु छन् । उत्प्रेरणा दिने खालका विषय पनि अनेक छन् । ‘आज कडा मेहनतले काम गर्दैनौ भने अर्को काम पाउन तिमीले अझै कडा परिश्रम गर्नु पर्छ (पृष्ठ ४९) ।’ सामान्य तर व्यावहारिक सुझाव र वास्तविकता छ । त्यसो त दृढ इच्छा हुनु नै व्यावसायिक सपनाको सुरुवात हो । भोलिका माग पूरा गर्ने वस्तु उत्पादक कम्पनीलाई आवश्यक सिर्जनात्मक ज्ञान पैदा गर्न पनि नवीनतम प्रविधि प्रयोगले उद्यम फस्टाउन सक्ने सुझाव छ ।
व्यवस्थापन र त्यसको अध्ययन, अन्वेषणका विश्वविद्यालय ज्ञान त धेरैसँग हुन्छ तर नेपाली परिवेशमा भुइँ तहका मानिसलाई उद्यममा आकर्षण गर्न सक्ने सोच र चिन्तन कमैसँग हुन्छ । देशविदेशमा उच्च शिक्षा हासिल गरी विश्वविद्यालयमा अध्यापन गरेर मात्र सन्तुष्टि पैदा हुँदैन । नेपाल र नेपालीको आर्थिक समृद्धि के कसरी हुन्छ भन्ने चिन्तनले सन्तुष्टि पैदा गर्न सक्छ । यो कृति त्यसै परिवेशको आफैँमा नवप्रवर्तन हो भन्न सकिन्छ । पुस्तकले जमिन, भूगोल, जनशक्ति र सम्भावनाका साथै सरकारका नीति, योजना र कार्यक्रमसमेत आबद्ध गर्न सक्दा कृति अझ बढी आकर्षक हुने थियो । विषयवस्तु नेपाली परिवेशका छन् । कुनै पनि देशको आर्थिक विकास स्वदेशी उद्यमशीलताबिना सम्भव हुँदैन भन्ने गहिरो सन्देश छ । पृष्ठ १२२ को पुस्तक स्वनिर्भर अर्थतन्त्र निर्माणको कडी बन्न सक्छ । यसै वर्ष २०८२ मा पशुपति पुस्तक भण्डार, बानेश्वर काठमाडौँले प्रकाशित गरेको पुस्तकको मोल चार सय रुपियाँ छ । भाषा सम्पादन र सिलसिलामा अझै ध्यान दिन सकिएको भए राम्रो हुने थियो । उद्यम गर्न चाहने, अध्येता, रोजगार व्यवसायमा संलग्न सबैका निम्ति पुस्तक पठनीय देखिन्छ ।