काठमाडौँ, भदौ २८ गते । जेन जीको आह्वानमा भएको देशव्यापी आन्दोलनका क्रममा निजी क्षेत्रले अपूरणीय क्षति बेहोरेको छ । अर्बको आँकडामा भएको क्षतिका कारण अहिले उद्यमी व्यवसायी वेदनाको बाढीमा चुर्लुम्म डुबेका छन् तर पनि निजी क्षेत्रले हार मानेको छैन । त्यही बाढीबिच डुबुल्की मार्दै सुन्दर किनार भेट्ने हिम्मत निजी क्षेत्रले व्यक्त गरिरहेको छ । समृद्धिको सुन्दर सुदूर भेट्ने दीर्घकालीन यात्रामा अविचलित रहने प्रण निजी क्षेत्रको छ । सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक् स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोगलगायतका विषयमा नवयुवा पुस्ताले शान्तिपूर्ण आन्दोलनमार्फत सफलताको शिखर चुम्ने अपेक्षा राखेको थियो तर त्यसैलाई ढाल बनाएर कुत्सित मनसाय राख्नेले निजी उद्यम व्यवसाय तथा सार्वजनिक सम्पत्तिमाथि आक्रमण गरेको महसुस गरिएको छ ।
अकल्पनीय क्षति बेहोरेको चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “युवाले जवाफदेहिता र परिवर्तनको सुनियतसहित युवाले सुरु गरेको शुभ आन्दोलनमा असामाजिक तत्व, गुन्डा र बाह्य शक्तिले घुसपैठ गरेर शान्तिपूर्ण आन्दोलनलाई हिंसा, लुटपाट र विनाशमा परिणत गरिदियो ।” उहाँ आफैँ पनि जेन जी पुस्तामा पर्नुहुन्छ ।
सिजी ग्रुपको काठमाडौँ सतुङ्गलस्थित सिजी डिजिटल पार्क जलाएर ध्वस्त पारिएको छ । ग्रुपका अध्यक्ष विनोद चौधरीको घरमा लुटपाट र आगजनी भएको छ । समूहकै अटो व्यवसायको थापाथलीस्थित सोरुममा राखिएका गाडीसहित जलाएर ध्वस्त बनाइएको छ ।
चौधरीको बुझाइमा यो केवल सम्पत्तिमाथिको आक्रमण मात्र होइन, यो आशा, विश्वास र राष्ट्रका लागि महìवपूर्ण योगदान गर्नेमाथिकै आक्रमण थियो । मुलुकको अर्थतन्त्र ध्वस्त बनाएर खरानी घस्ने कसम खाएकाले गरेको उन्माद हो ।
यति हुँदाहुँदै पनि चौधरी ग्रुप पुनः उठ्ने प्रतिबद्धता छ, “हामी फेरि उठ्ने छौँ । यस विपत्तिबाट नयाँ शक्ति, विचार प्रणाली र नेपाली नागरिकप्रतिको अझ गहिरो प्रतिबद्धता जन्मने छ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छाको निवास पनि यस्तै आक्रमणमा परेको थियो । तथापि आफ्नो परिवार निराश वा विचलित नभएको धारणा उहाँको छ । आशाको सञ्चार गर्दै उहाँ सञ्जालमा लेख्नुहुन्छ, “नयाँ पुस्ताले देखेको नयाँ सपना पूरा होस् । हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।”
अटो व्यवसायी ध्रुव थापा जेन जीको आवरणमा भएको आगजनीमा आफ्नो घर जलेको र टुलुटुलु हेर्न बाध्य हुनुभयो । आफ्ना दाजु विन्दु थापाको राजनीतिक प्रतिशोध साँधेर आफ्नो घर जलाइएको आकलन उहाँको छ । यसबाट आफ्नो सबै उत्साह जलेर खरानी भएको अभिव्यक्ति सार्वजनिक गर्नुभएको छ । उहाँको घरभित्रै रहनुभएकी एक सहयोगी महिलाको पनि घरसँगै जलेर ज्यान गएको छ ।
“कुनै राजनीतिक व्यक्ति भ्रष्ट वा तस्कर नहुँदा पनि मेरो घर कार्यालय तारोमा पारियो, जलेको घरको आगोसँगै मेरा सबै उत्साह पनि जलेर खरानी भइरहेका छन् । नेपालमै व्यवसाय गर्नु गल्ती नै गरिए छ कि भन्ने लागिरहेको छ,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । चौधरी, गोल्छा, थापा जस्तै दर्जनौँ उद्यमी व्यवसायीका निजी आवास, उद्यम व्यवसाय खरानी बनेका छन् । नेपाल होटेल तथा पर्यटन क्षेत्रमा मात्र २५ अर्ब रुपियाँको क्षति भएको छ । व्यवसायी मीनबहादुर गुरुङको भाटभटेनी सुपरमार्केटका ११ वटा स्टोर र बालुवाटारमा रहेको गोदाम तोडफोड र लुटपाटपछि भएको आगजनीबाट पूर्ण रूपमा क्षति भएको छ । अन्य नौ वटा स्टोरमा पनि तोडफोड र लुटपाट भएको छ ।
यति ठुलो क्षतिका बावजुत विज्ञप्ति मार्फत भाटभाटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले भन्नुभएको छ, “हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूका साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं । आशा हराएको छैन । भाटभटेनी फेरि उभिने छ । तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा निर्माण भएको चन्द्रगिरि केबुलकार र गैँडाकोटको मौलाकालिका केबुलकारको बटम स्टेसनमा पनि तोडफोड र आगजनी भएको छ । यस्ता धेरै क्षतिको विवरण आउन बाँकी नै छ ।
यस्तो विपत्को अवस्थामा उद्यमी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले शुक्रबार विज्ञप्ति जारी गर्दै यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको भत्र्सना गरेको छ । व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितका लागि महासङ्घले सबैको ध्यानाकर्षण गराएको छ । महासङ्घले आमसर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्बाध रूपमा पेसा व्यवसाय गर्न पाउने सुनिश्चितका लागि सुरक्षा प्रदान गर्न आग्रह गरेको छ ।
यसै गरी नेपाल उद्योग परिसङ्घले अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउनु सबैको कर्तव्य हुने स्पष्ट पारेको छ । नयाँ पुस्ताले चाहेको आकाङ्क्षालाई मूर्त रूप दिई मुलुकलाई नयाँ चरणमा प्रवेश गराउने कार्यमा आजैका दिनदेखि नै गम्भीर प्रयत्नशील बन्नुपर्ने र त्यसलाई सफल बनाउन निजी क्षेत्रले आफ्नोतर्फबाट सशक्त रूपमा प्रयत्न गर्ने प्रतिबद्धता बिहीबार साँझ सम्पन्न परिसङ्घको राष्ट्रिय परिषद् बैठकले गरेको हो ।
परिसङ्घले लगानीकर्ता त्रसित भइरहने स्थिति भए त्यसको गम्भीर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्बाध रूपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाई सुरक्षाको प्रत्याभूति दिलाउन पनि आग्रह गरेको छ ।