• १५ चैत २०८२, आइतबार

टीकापुर साहित्य महोत्सव

साहित्य, सौन्दर्यदेखि मृत्युको चिन्तन वहससम्म

blog

टीकापुर साहित्य उत्सव कार्यक्रममा चलचित्रबारेको धारणा राख्नुहुँदै वरिष्ठ कलाकार नीर शाह ।

गोरखापत्र अनलाइन

टीकापुर, चैत १४ गते । कैलालीको टीकापुरमा जारी टीकापुर साहित्य महोत्सवको शनिबार दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ । दोस्रो दिनको प्यानल छलफलमा नेपाली साहित्यको प्रबृत्ति, नेपाली चलचित्रले लिइरहेको बाटो, मृत्युबारेमा समेत बहस भएको छ । 

शनिबारको छलफलमा वरिष्ठ कलाकार नीर शाहले चलचित्र र नेपाली साहित्यको सम्बन्ध बारेमा धारणा राख्नुभयो । चलचित्रमार्फत नेपाली कला र साहित्यको विषय, विषयवस्तुको उठान र सचेतना जगाउने काम भइरहेको उहाँको भनाइ थियो । हालसालै रिलिज भएको आफ्नो चललित्र परानले नेपालीपन बोकेको चलचित्र भएको बताउँदै उहाँले त्यसबाट आत्मसन्तुष्टि मिलेको बताउनुभयो । 

नेपाली चलचित्र उद्योगको रुपमा फष्टाएको र नेपालीको लागि गर्वको विषय भएको बताउँदै उहाँले वार्षिक ६ सय करोडको व्यवसाय चलचित्र उद्योगले गरिरहेको उहाँको भनाइ छ । चलचित्र निर्माणको काम अत्यन्त गाह्रो काम भएको र हरेक १०० वटा चलचित्रमा ५ वटा सफल हुने र ९५ वटा चलचित्र असफल भइरहेको उहाँले बताउनुभयो । अभिनय आफ्नो लागि तपस्या भएको बताउँदै उहाँले आफ्नो आमाको प्रेरणाले चलचित्र क्षेत्रमा लागेको चर्चा गर्नुभयो । कार्यक्रमको सहजीकरण सोविता सिम्खडाले गर्नुभएको थियो ।


त्यसैगरी वरिष्ठ चिकित्सक डा. वसन्त पन्तले मृत्यु चिन्तनमा एकल धारणा राख्नुभयो । मृत्यु सबैका लागि शाश्वत भए पनि असामयिक निधन कसैको नहोस्, अस्वभाविक निधन नहोस् भन्नेमा सबैको ध्यान रहनेगरेको बताउनुभयो । मृत्युलाई कसैले रोक्न नसक्ने भए पनि दर्दनाक मृत्युबाट कसरी बच्ने र मान्छेको आयू कसरी बढीभन्दा बढी लामो बनाउनेमै विज्ञानको चिन्ता रहेको बताउनुभयो । 

मान्छे विरामी भएपछि ७० प्रतिशत रोग विरामीको मनोबलले निको हुनेगरेको, २० प्रतिशत विरामी परिवारका सदस्यहरुको हेरचाहले र १० प्रतिशत विरामी चिकित्सकको उपचारबाट निको हुनेगरेको उहाँले धारणा राख्नुभयो । मृत्यु हुनु पर्यावरण सन्तुलन बनाउन र नयाँ पुस्ताको स्वागतका लागि उपयुक्त भएको बताउँदै उहाँले जति चिन्ता र दुःखमनाइ गरे पनि मृत्यु त एकदिन सबैको हुने निश्चित रहेकाले त्यसलाई त्यहीरुपमा बुझ्न उहाँले सुझाव दिनुभयो । सहजीकरण पत्रकार टीकाराम यात्रीले गर्नुभएको थियो । 

सोहीअनुसार केन्द्रकृत लेखन र सुदूरको यथार्थ शीर्षकमा वरिष्ठ साहित्यकार तथा लेखक श्रेष्ठ प्रिया पत्थर, साहित्यकार हेमन्ती जोशी र पत्रकार तथा लेखक लक्की चौधरीले बहस गर्नुभएको थियो । त्यसमा सहजीकरण साहित्यकार जनक रसिकले गर्नुभएको थियो । केन्द्रीकृत लेखन पद्धति नै विभेदकारी भएकाले मोफसलको विषयलाई पनि लेखकले केन्द्रमा राखेर कलम चलाउन आवश्यक रहेको वक्ताहरुको भनाइ थियो । मुलुकको शासन कार्यशैली, राजनीतिक र प्रशासनिक भाष्य, शैक्षिक प्रणालीसँगै मानिसको माइन्ड सेट सोचाइका कारण केन्द्रीकृत मनोविज्ञान हावी हुनेगरेको बुझाइ वक्ताहरुको थियो । मुलुक संघीयतामा गए पनि अधिकारको विकेन्द्रीकरण अझै हुन नसकेको उहाँहरुको बुझाइ छ ।


त्यस्तै, सुदूरपश्चिम प्रदेश पर्यटनको नयाँ गन्तव्य शीर्षकमाथि दीर्घनारायण कोइराला, कालु हमाल, खड्गविक्रम शाह, लक्ष्मण न्यौपाने, मनोजराज रेग्मीले बहस गर्नुभयो । कार्यक्रमको सहजीकरण रमा चन्दले गर्नुभयो । सोहीअनुसार दाङ देउखुरीदेखि दोधारासम्म ः लेखनमा महिलाको रङ शीर्षकमाथि किरण आचार्य, सर्मिला चौधरी र राधा गौतमले वहस गर्नुभयो । 

शनिबारकै अर्को शीर्षक उपन्यासको विश्वाव्यापी प्रबृत्ति र नेपाली उपन्यास शीर्षकमा डा. अर्चना थापा, पत्रकार तथा लेखक वसन्त बस्नेत र लेखक छुदेन काबिमोले धारणा राख्नुभएको थियो । अर्को सत्रमा साहित्यकार तथा लेखक डा. अर्चना थापा र क्षितिज समर्पणले विमर्स गर्नुभएको थियो ।

त्यस्तै, कस्तो किताव छाप्ने ? विक्ने कि टिक्ने शीर्षकमा विमल आचार्य, कल्पना ढकाल र होम भट्टराईले वहस गर्नुभयो । बहसको सहजीकरण राजेश खनालले गर्नुभयो । साँझ गजल उत्सवको कार्यक्रममा वरिष्ठ गजलकारहरुले आफ्नो रचना वाचन गर्नुभएको थियो । टीकापुर साहित्य महोत्सव आइतबार साँझसम्म सञ्चालन हुने महोत्सवका संयोजक महेशविक्रम शाहले जानकारी दिनुभयो ।

अन्तिम दिन आइतबार थारु साहित्य तथा सांस्कृतिक उत्सवको कार्यक्रम रहेको र विभिन्न ७ वटा सेसनमा छलफल हुने उहाँको भनाइ छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भइरहेको कार्यक्रममा देशभरबाट वरिष्ठ साहित्यकारहरुको सहभागिता छ ।