• २४ फागुन २०८२, आइतबार

निर्वाचनको नतिजाले निजी क्षेत्र आशावादी

blog

काठमाडौँ, फागुन २४ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निवार्चनलगत्तै आइरहेको मतपरिणामले मुलुकमा एउटै दलको स्थिर सरकार बन्ने अवस्था बनेपछि निजी क्षेत्र आशावादी देखिएको छ । गत भदौको जेनजी आन्दोलनका क्रममा आर्थिक, भौतिक र मनोबलमै क्षति भोगेको निजी क्षेत्र अब नीतिगत स्थिरता, लगानीको सहज वातावरण र उच्च मनोबल प्राप्त गर्नेमा आशावादी बनेको हो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचनपछि स्थिर सरकार बन्दा निजी क्षेत्रको नीतिगत स्थिरता र लगानीको वातावरण र गिरेको मनोबलको उत्थान गर्ने बताउनुभयो । “सरकार परिवर्तन भइरहने र त्यसले नीतिगत स्थिरता नहुने र कानुनी जटिलता निराकरण नहुँदा हामीले समस्या भोग्दै आएको हौँ,” उहाँले भन्नुभयो, “विभिन्न खाले अस्थिरताको प्रहार अब निजी क्षेत्रले भोग्नुपर्ने छैन र निजी क्षेत्रलाई प्रवर्धन गर्ने वातावरण नयाँ सरकारले निर्माण गर्ने छ भन्ने ठुलो आशा हाम्रो छ ।” 

बलियो बहुमतको सरकारले अब स्पष्ट र सहज ढङ्गले नीतिगत तथा कानुनी सुधार गर्दै अर्थतन्त्रलाई विस्तार गर्ने प्रबन्ध मिलाउने उहाँको अपेक्षा छ । जागृत निजी क्षेत्रले लगानी विस्तारमार्फत रोजगारी विस्तार पनि गर्ने उहाँले बताउनुभयो । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे पनि निजी क्षेत्रका लागि अब अनुकूल र सहज वातावरण बन्ने अपेक्षा गर्नुहुन्छ । “जेनजी आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार निवारण र रोजगारी सिर्जनाको मागको वास्तविक सम्बोधन आगामी सरकारले गर्नुपर्ने छ,” उहाँले भन्नुभयो, “वाचापत्रमा उल्लिखित लक्ष्य प्राप्त गर्न पनि निजी क्षेत्रको उच्च योगदान आवश्यक रहने भएकाले हामी निजी क्षेत्रले सहज वातावरण पाउने छौँ भन्नेमा आशावादी  छौँ ।” रास्वपाका वाचापत्रको लक्ष्यप्राप्तिमा निजी क्षेत्रको योगदान अपरिहार्य हुने भएकोले अब बन्ने सरकार र निजी क्षेत्रबिच बलियो सहकार्य हुने उहाँ अपेक्षा गर्नुहुन्छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल पनि मतपरिणामले निजी क्षेत्रलाई उत्साहित बनाएको बताउनुहुन्छ । “राजनीतिक स्थिरता र सबल कर्मचारीतन्त्र निर्माण गरेर निजी क्षेत्रमैत्री वातावरण बनाउँदा सत्ता सञ्चालक दलको घोषित लक्ष्य पनि प्राप्त हुने हो,” उहाँले भन्नुभयो, “यो कुरामा नयाँ बन्ने सरकार निश्चय नै स्पष्टताका साथ काम गर्ने छ भन्ने अपेक्षा छ ।” 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनकै जगमा भएको निर्वाचनमा देखिएको मतादेशले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमतसहित नयाँ सरकार निर्माण गर्ने निश्चित प्रायः छ । भ्रष्टाचार नियन्त्रण सुशासन र रोजगारी सिर्जना जेनजी आन्दोलनको मुख्य माग थियो । यही मागलाई मुख्य प्राथमिकतामा राखेको रास्वपाले निर्वाचनलक्षित घोषणापत्र (वाचापत्र) मा पनि आर्थिक रूपान्तरणका निश्चित लक्ष्य राखेको छ भने निजी क्षेत्रसँगको सहकार्य र लगानीमैत्री वातावरण निर्माणकेन्द्रित बुँदाहरू पनि छन् । नयाँ प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका बालेन्द्र साह पनि लोकप्रिय मतसहित विजयी हुँदा निजी क्षेत्रले परिवर्तनको आभास गर्न पाउने ठुलो अपेक्षा राखेको छ । 

रास्वपाको वाचापत्रमा सात प्रतिशतको आर्थिक वृद्धिदर, सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर बराबर, एक सय अर्ब डलरको अर्थतन्त्र, १२ लाख नयाँ रोजगारी सिर्जनाको लक्ष्य राखिएको छ । यी लक्ष्यका लागि स्वदेशी निजी क्षेत्र मात्र होइन, विदेशी लगानी आकर्षण गर्नु पनि अत्यावश्यक हुन्छ  । यसका लागि पनि निजी क्षेत्रले भोग्दै आएको असुरक्षा, अस्थिरता र प्रक्रियागत जटिलताको अन्त्य गर्दै उत्साहपूर्ण वातावरणको अपेक्षा निजी क्षेत्रले गरेको छ ।