काठमाडौँ, माघ २७ गते । सुक्खायामको मध्य समय लाग्दै गर्दा नेपालका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन न्यूनतम सीमातर्फ ओरालो लागेको छ । वर्षा पनि नभएको र हिउँ पग्लने समय पनि नआएकाले नदीमा जलप्रवाह घट्दा विद्युत् उत्पादन न्यूनतम सीमातर्फ लागेको हो ।
हिँउदमा विशेषतः जलप्रवाही आयोजनाको विद्युत् उत्पादन क्षमतामा अत्यधिक कमी आउने गर्छ । खास गरी निजी क्षेत्रले उत्पादनमा अग्रसरता लिएको जलप्रवाही आयोजनामा विद्युत् उत्पादन कम हुँदै गएको छ । जल तथा मौसम विज्ञान विभागका प्रक्षेपणले यस वर्ष वर्षा कम हुने आकलन गरिसकेकाले नदीको जलप्रवाह अझै घट्दै जाने छ । यसले गर्दा जलविद्युत् उत्पादनमा दबाब सिर्जना हुने छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार यस पटक हिउँदे वर्षा कम भएका कारण नदीको जलप्रवाह घटेर जाने चुनौतीपूर्ण अवस्था छ । “वर्षा कम भइरहेको छ, हिमपात पनि कम भएका कारण विद्युत् उत्पादन फागुन चैतमा अझै चुनौतीपूर्ण बन्न सक्छ,” उहाँले भन्नुभयो, “उत्पादन घटेमा आयात बढाएर विद्युत् आपूर्ति व्यवस्थित गर्ने छौँ ।”
यस वर्ष नेपाल विद्युत् प्राधिकरणको आपूर्ति प्रणालीमा चार सय मेगावाट विद्युत् उत्पादन थपिए पनि यसले सुक्खायामलाई खासै भरथेग भने गर्न सकेको देखिँदैन । गत माघ २५ गते नेपाल विद्युत् प्राधिकरणका आयोजनाबाट पाँच हजार ३२५ मेगावाट घण्टा विद्युत् उत्पादन भएको थियो जुन गत वर्ष सोही दिन पाँच हजार ४३५ मेगावाट घण्टा थियो । गत हिउँदयता प्रणालीमा थपिएको चार सय मेगावाट क्षमता थप भएको छ । यसै कारण निजी क्षेत्रबाट प्राप्त हुने विद्युत्को परिमाण गत आइतबार गत वर्षभन्दा करिब चार हजार मेगावाट घण्टा थप दिन सकेको देखिन्छ ।
नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्क अनुसार गत आइतबार साँझ ६:३० बजे रेकर्ड गरिएको पिक डिमान्ड २०५१ मेगावाट छ जुन गत वर्ष सोही दिन १९५८ मेगावाट थियो । पिक डिमान्ड बढेको र आपूर्ति अवरोध पनि न्यून रहेका कारण आयात बढेर गत आइतबार औसत ४१९ मेगावाट पुगेको छ जुन गत वर्ष सोही दिन १६७ मेगावाट मात्र थियो । तर ऊर्जा गणनामा हेर्दा गत वर्ष सोही दिन ११ हजार ७५८ मेगावाट घण्टा विद्युत् आयात भएकामा यो वर्ष सोही दिन १० हजार ५२ मेगावाट घण्टा आयात भएको देखिन्छ । प्राधिकरण प्रवक्ता राजन ढकालले कुल ऊर्जा आयात कम हुनु सकारात्मक रहेको बताउनुभयो । कुनै निश्चित स्लट (१५ मिनेट) का लागि मात्र लिँदा मेगावाट बढी हुन सक्छ तर कुल ऊर्जा आयात अहिलेसम्म न्यून नै रहनु सकारात्मक हो,” उहाँले भन्नुभयो ।
यस वर्ष अहिलेसम्म भारतबाट आयात हुने विद्युत् तुलनात्मक रूपले सस्तो मूल्यमा पाइएकाले ठुलो चिन्ताको विषय नबन्ने अपेक्षा कार्यकारी निर्देशक शाक्यको छ । “अहिले औसत प्रतियुनिट भारु ३ रुपियाँ ५० पैसामा विद्युत् आयात भइरहेको छ, यसर्थ आयातमा धेरै चिन्तित बन्नुपर्ने अवस्था छैन,” उहाँले भन्नुभयो ।