• ८ मंसिर २०८१, शनिबार

नौ जिल्लामा खोप अभियान सुरु हुँदै

काठमाडौंमा एकै विद्यालयका चार जनामा दादुरा पुष्टि

blog

काठमाडौं, जेठ २४ गते । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ९ को एक विद्यालयका चार जना विद्यार्थीमा दादुरा पुष्टि भएको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका खोप अधिकृत भरत भण्डारीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रगत परीक्षण गर्दा दादुरा पुष्टि भएको जानकारी दिनुभयो । 

विद्यालयमा पढ्ने १५ वर्षमुनिका ५४ जना विद्यार्थीलाई दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएपछि पाँच जनाको नमुना परीक्षण गर्दा चार जनामा दादुरा पुष्टि भएको हो । अधिकांशलेले खोप नलगाएको पाइएकाले सोही नगरपालिका वरिपरिका पाँच सय भन्दा बढी १५ वर्ष मुनिका बालबालिकालाई निगरानीमा राखिएको  छ।  

पुसमा नेपालगञ्जमा पनि १५ वर्ष मुनिका बालबालिकामा दादुरा रुबेला महामारीको रूपमा देखिएको थियो । सोही समयमा १७ जिल्लाबाट ११ सय भन्दा बढी बालबालिका सङ्क्रमित भएका थिए भने एक जनाको मृत्यु भएको थियो । सोही सयमा पनि सङ्क्रमित मध्ये अधिकांशले दादुरा रुवेला विरुद्धको खोप नलगाएको पाइएको अध्ययनमा पुष्टि भएको थियो । 

सरकारले २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष लिएको छ । तर, बालबालिकालाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला समुदायमा महामारीको रूपमा देखा पर्दै आएकाले लक्ष हासिल गर्न चुनौती थपिँदै गएको भण्डारी बताउनुहुन्छ ।

देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र यो महामारी अन्य जिल्लामा  फैलन सक्ने भन्दै सरकारले बेलाबेलामा खोप अभियान सञ्चालन गर्दै आएको छ । तर जनचेतनाको अभाव, बसाइँ सराई र अन्य विभिन्न कारणले गर्दा बालबालिका खोपबाट वञ्चित हुँदै आएका छन् । 

नौ जिल्लामा खोप अभियान सुरु हुँदै 

सरकारले दादुरा रुवेलाको महामारी फैलन नदिन बिहीबारबाट असारको पहिलो हप्तासम्म नौ जिल्लामा दादुरा रुवेला विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा गरी नौ जिल्लाबाट दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु गर्न लागेको हो । 

नौ जिल्लाका ६ महिनादेखि  १५ वर्ष उमेर मुनिका १५ लाख  बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको भण्डारीले जानकारी दिनुभयो । 

समुदायमा रोग विरुद्ध रोगप्रतिरोधात्मक क्षमता बढाई भविष्यमा हुन सक्ने दादुरा रुबेलाको महामारी रोक्न खोप अभियान सुरु गर्न लागिएको हो ।   

नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिई आफ्ना बालबालिकालाई खोप लगाउन मन्त्रालयको अनुरोध छ ।  यो विरुद्धको खोप सुरक्षित भएकोले ढुक्का भएर लगाउन भण्डारीको सुझाव छ । 

दादुरा के हो ?

सरुवारोग विशेषज्ञ डा.जनक कोइरालाका अनुसार दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । दादुरा रोग कोभिड-१९ भन्दा पनि तीव्र गतिमा फैलिने र यसको मृत्युदर पनि उच्च रहेको छ । एक जना दादुरा सङ्क्रमितले १८ जनालाई रोग सार्ने सम्भावना हुन्छ । यो रोग विशेष गरी पाँच वर्ष मुनिका बालबालिकालाई धेरै लाग्ने गर्छ । 

उहाँका अनुसार दादुरा भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र श्वास नली एवम् भित्री अङ्गमा सङ्क्रमण गर्दछ । दादुरा रोग सङ्क्रमण भएको व्यक्तिले खोक्दा हाछ्यु गर्दा निस्कने छिट्टा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

डा.कोइरालाका अनुसार ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसको साथै रुघाखोकीको लक्षणहरूमा नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने जस्ता लक्षण देखिने डा. कोइराला बताउनुहुन्छ । चिकित्सकका अनुसार रोगीको सम्पर्कमा आएको १० देखि १२ दिन पछि मात्र दादुराको लक्षण देखा पर्दछ । दादुरा सङ्क्रमित व्यक्तिलाई डाबर र बिमिरा देखा पर्नुभन्दा ४ दिन अगाडि देखि र डाबर देखा परेको ४ दिन पछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।

दादुरा रोग लागेपछि यसको उपचार छैन र  सङ्क्रमण फैलिन नदिन रोग लागेका व्यक्तिहरूलाई छुट्टै राख्नुपर्छ ।

साथै बिरामीलाई भिटामिन ‘ए’ अनिवार्य रूपमा खुवाउन चिकित्सकको आग्रह छ । दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुराविरुद्धको खोप लगाउनु हो । यो रोगबाट बचाउन सरकारले राष्ट्रिय खोप अभियान अन्तर्गत नौ देखि १५ महिनासम्मका बालबालिकालाई खोप अभियान सञ्चालन गर्दै आएको छ । बालबालिकालाई अनिवार्य रूपमा दादुरा खोप लगाउन चिकित्सकको सुझाव। दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विभिन्न अध्ययनले देखाएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।