• ११ असार २०८१, मङ्गलबार

बेमौसमी वर्षाले गहुँबालीमा पारेको क्षतिको विवरण सङ्कलन गरिँदै

blog

काठमाडौं, चैत्र २० गते । शुक्रबारदेखि परेको बेमौसमी वर्षाले भित्राउन ठिक्क पारेको गहुँबालीमा क्षति पुर्‍याएको छ । तराई क्षेत्रमा किसानले पाकेको गहुँलाई भित्राउन ठिक्क पारेका थिए । तर, अकस्मात् परेको पानी र असिनाका कारणले गहुँलाई क्षति गरेको हो ।  काटेर खेतबारीमै सुकाएको गहुँलाई पानीले भिजाउँदा दाना नै बिग्रने भन्दै किसान चिन्तित बनेका छन् । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलका अनुसार तराईका विभिन्न जिल्लामा पानी तथा असिनाले गहुँ बालीमा पुर्‍याएको क्षतिको विवरणका लागि प्रदेश कृषि मन्त्रालयलाई आग्रह गरिएको  छ । उहाँका अनुसार धेरै क्षति भएको भए क्षतिपूर्तिको लागि प्रदेश मन्त्रालयले केन्द्रमा सिफारिस गर्नेछ । तर , धेरै क्षति नभएको भए प्रदेश मन्त्रालयले नै यसलाई सल्टाउने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “तराईका केही जिल्लामा बेमौसमी वर्षाले भित्राउने तयारीमा रहेको गहुँलाई क्षति पुर्‍याएको भन्ने सुनिएको छ । क्षतिको विवरण प्रदेश कृषि मन्त्रालयले सङ्कलन गर्नेछ । ठूलो क्षति भएको रहेछ भने मात्र केन्द्रसम्म आइपुग्छ । नत्र प्रदेशबाट नै समाधान हुन्छ ।”

कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका प्रवक्ता अनिल मरासिनीले प्रदेशका जिल्लाहरूमा भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । प्रदेशका तराई जिल्लाहरूमा असिनासँगै आएको पानीले बढी क्षति गरेकाले यसको विवरण सङ्कलन पछि त्यहीअनुसारको क्षतिपूर्तिको व्यवस्था प्रदान गरिने उहाँको भनाइ छ । 

चुरे तराईका क्षेत्रमा बढी पानी परेकाले त्यस क्षेत्रमा क्षति पनि बढी भएको हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “प्रदेशको चुरे क्षेत्रमा बढी पानी परेको छ । त्यसकारण उक्त क्षेत्रमा बढी क्षति पुर्‍याएको हुनसँक्ने आङ्कलन रहेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रलाई विवरण सङ्कलन गर्न लगाइएको छ ।”

विवरण आएपछि मात्र क्षतिको वास्तविक अवस्था थाहा हुने मरासिनीको भनाइ छ । पहाडी जिल्लाहरूमा भने गहुँ पाकिनसकेकाले त्यति बढी असर नगरेको उहाँ बताउनुहुन्छ । यस्तै मधेश प्रदेशका जिल्लाहरूमा पनि गहुँबालीमा पानीले पारेको प्रभावको बारेमा लगत सङ्कलन कार्य थालिएको जनाइएको छ । 

प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता रोशन कुमार मेहताले प्रदेशका अधिकांश जिल्लामा शुक्रबार देखि नै पानी परेकाले किसाानले भित्राउन ठिक्क पारेको गहुँमा असर परेको बताउनुभयो । 

“क्षतिको विवरण सङ्कलन गरेर कृषि बीमा गरेका किसानको क्षतिपूर्ति बीमाबापत नै भुक्तानी हुनेछ भने अन्यको हकमा धेरै क्षति भएको रहेछ भने क्षतिपूर्तिको लागि कृषि मन्त्रालयमा सिफारिस गर्नेछौँ,”उहाँले भन्नुभयो । प्रदेशमा भएको क्षतिको विवरण तीन दिनसम्ममा सङ्कलन गरिसक्ने उहाँको भनाइ छ । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।