• १३ असोज २०८१, आइतबार

‘केही सहकारीले बेइमानी गरे भन्दैमा सबैलाई नमुछौँ’

blog

सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दाहाल

काठमाडौं, चैत १० गते । पछिल्लो समय सहकारीमा लगानी गरेको रकम डुबेको भन्दै बचतकर्ताहरु निरास बन्दै गएका छन् । सहकारीमा बढी ब्याज पाउने आशासहित लगानी गरेका लगानीकर्ता रकम नै डुवेपछि सहकारी व्यवस्थापन समिति गुहार्न पुगेका छन् । 

केही सहकारीले आर्थिक चलखेल गरे पनि सबै सहकारीलाई उही सोच्न नहुने सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दाहालले बताउनुभयो । सहकारी एउटा देश र समाजको मात्रै नभई विश्वव्यापी भएकाले यसको दायरा पनि व्यापक भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सहकारी एउटा मुलुक र समाजको मात्र नभई यो विश्वव्यापी अवधारणा हो । त्यस कारण केही सहकारीले आर्थिक हिनामिना गर्दा सबै सहकारी नै खराब हुन भन्न सोच राख्नु हुँदैन ।” 

नेपालमा हाल ३० हजारको हाराहारीमा सहकारीहरु दर्ता छन् । सहकारी व्यवस्थापन समितिको तथ्याङ्क अनुसार हालसम्म सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।  

ती सहकारीमा बचत गर्ने ७७५ बचतकर्ता ठगीमा परी उजुरी गर्न सहकारी व्यवस्थापन समितिमा पुगेका छन् । 

अहिले सहकारीमा श्रीमानले श्रीमतीलाई, आफन्तले आफन्तलाई नै ठग्ने प्रवृत्ति देखिएको छ, सहकारीको नियमन गर्नका लागि स्थानीय तह र प्रदेश तह नै बढी क्रियाशील भएर लाग्नुपर्ने भनाइ अध्यक्ष दाहालको छ । 

यस्तै, अन्य सहकारीका लगानीकर्ताहरु पनि सहकारी व्यवस्थापन कार्यालयमा उजुरी लिएर आउने क्रम बढेकाले सम्बन्धित सहकारीको अनुसन्धान भइरहेको अध्यक्ष दाहालको भनाइ छ । दाहालका अनुसार ठगी गरेर भाग्ने सहकारी सञ्चालकहरु सम्पर्कमा नआए पनि उनीहरुको राहदानी, चल–अचल सम्पत्ति र बैङ्क ब्यालेन्स रोक्का गर्ने गरिएको छ । 

संविधानमा व्यवस्था भए अनुसार नेपालमा रहेका ३० हजार सहकारीमध्ये ८० प्रतिशत सहकारीहरु स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने प्रावधान छ । १९ प्रतिशत सहकारीहरु प्रदेशले हेर्नुपर्नेछ भने बाँकी एक प्रतिशत केन्द्रले हेर्नुपर्ने प्रावधान रहेको छ । 

उहाँले सहकारीको दर्ता तथा यसको आवश्यकताका सन्दर्भमा स्थानीय तह बढी जिम्मेवार हुनुपर्ने स्थिति देखिएको बताउनुभयो । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीको सरकारले ऋण लगानी र त्यसको वस्तुस्थितिको बारेमा खोजी कार्य जारी नै राखेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीको सरकारले ऋणीहरुको पहिचान र सहकारीको सञ्चालकको अवस्थाको बारेमा खोजी गरिरहेको छ । लगानी डुबेका ऋणीहरुलाई लगानी दिलाउनका लागि पहल भइरहेको छ ।”

उहाँले सहकारीहरू आफ्नो मूल्य मान्यतामा आधारित भएर सञ्चालन नहुँदा यो स्थिति देखापरेको बताउनुभयो । सहकारी अनुभव नै नभएको व्यक्तिहरु सञ्चालकहरु हुने गरेका छन् । उनीहरुले असुरक्षित ठाउँमा लगानी गर्ने, धितो नराखी ऋण दिने गर्दा यो स्थिति भएको उहाँको भनाइ छ । 

सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालसँग गरिएको भिडियो सम्वादः 


भिडियो: मनोज रत्न शाही/केशव गुरुङ्ग 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।