लक्ष्मी तिमिल्सेना
जमुनाह, चैत २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद रहनुभएकी ४३ बर्षिया सुष्मा स्वर्णकार ‘डिम्पल’ ले विभेदविरुद्ध संसद बैठकमा आवाज उठाउने प्रण गर्नुभएको छ ।
एक छोरा एक छोरी गरी दुई सन्तान हुर्काउदै सुष्मा आफू भारतमा जन्मनुभयो । ८ बर्षको उमेरमा उहाँ सपरिवार नेपाल पर्कनुभयो । १८ बर्षको उमेरमा उहाँको बिबाह भयो ।
श्रीमानको मूलघर सल्यान भए पनि बसाइसराइ गरेर बाँके आउनुभयो । २०५८ सालदेखि काठमाडौमा कर्मथलो बनाइरहनुभएकी सुष्माको नेपालगञ्ज र काठमाडौ दुबैतर्फ बसोबास छ । बाँकेको कोहलपुर नगरपालिका –५ मा मूल घर भए पनि छोराछोरी पढाउन सुष्माको परिवार काठमाडौं पुग्यो ।
परिवार र छोराछोरीबिच उहाँको जीवन घुमीरहन्थ्यो । उहाँ गृहणी हुँदै सामाजिक अभियानमार्फत राजनीतिमा प्रबेश गर्नुभयो । ‘दलितलाई खै ?’ भन्ने अभियानबाट उहाँ दलित अभियन्ताको रुपमा अगाडि बढ्नुभएको थियो । उहाँले भन्नुभयो, ‘पहिला छोराछोरी सानै थिए परिवारको जिम्मेवारीले बाहिर आउने अवस्था थिएन । अहिले छोराछोरी ठुला भइसके ।”
दलित अधिकारको अभियानमा सक्रिय रहदै आउनुभएका स्वर्णकारले माध्यमिक तह सम्म अध्ययन गर्नुभएको छ ।
अब भने उहाँ कानुन निर्माण गर्ने थलो संसदमा पुग्नुभएको छ । यसले उहाँलाई राष्ट्रिय राजनीतिक मञ्चमा सहभागी हुने अवसर दिएको उहाँको बुझाइ छ । आफू दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले दलित र सिमान्तकृतका अधिकारको पैरवी गर्ने उहाँको भनाइ छ । ‘दलित अधिकारको क्षेत्रमा र बिशेषगरी दलित महिलाको अधिकारका क्षेत्रमा आवाज उठाउने छु’ उहाँले भन्नुभयो ।
राजनीति आफ्नो पहिलो रोजाइ कहिल्यै नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो ईच्छा सक्रिय राजनीतिमा आउने कहिल्यै थिएन । समयको आवश्यकताले मलाई अभियन्ताबाट सासंदको भूमिकामा ल्याइ पु¥याएको छ । हरेक परिवर्तन् राजनीतिबाट मात्र सम्भव छ र त्यो हाम्रै पालामा हुनुपर्छ भन्ने लागेर राजनीतिमा प्रवेश गरेकी हुँ ।’
बिभेद र अभावलाई नजिकबाट नियाल्नुभएकी र आफैले भोग्नु भएकी सुष्माले विभेदविरुद्व बोल्ने प्रण लिएको बताउनुभयो । उहाँको पति चक्रमान बिश्वकर्मा पनि दलित अधिकर्मी हुनुहुन्छ ।