शशिधर पराजुली
विराटनगर, चैत २३ गते । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको निर्वाचनबाट आगामी तीन वर्षका लागि राजेन्द्र राउतको प्यानल निर्वाचित भएको छ ।
विराटनगरमा सम्पन्न महासंघको आठौं प्रदेश सभाबाट अध्यक्षमा राजेन्द्र राउत निर्वाचित हुनुभएको हो ।
राउतले आफ्ना निकटतम प्रतिस्पर्धी नविन रिजालको समूहलाई पछि पार्दै प्यानलसहित विजय हासिल र्नुभएको हो ।
निर्वाचनको अन्तिम परिणाम अनुसार अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा राउतले १४२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नविन रिजालले ५८ मत ल्याउनुभएको थियो ।
राउतले सबै क्षेत्रगत समूहमा रिजाललाई राम्रो मतान्तरले उछिन्नुभएको थियो । राउतले एशोसिएट तर्फ १०७ मत ल्याउँदा रिजालले ३९ मत मात्र प्राप्त गर्नुभयो भने जिल्ला नगर तर्फ राउतले २४ र रिजालले १३ मत प्राप्त गर्नुभयो । त्यसैगरी वस्तुगत तर्फ राउतले ११ र रिजालले ६ मत मात्र प्राप्त गर्नुभएको थियो ।
तीन वर्षअघि झापामा भएको निर्वाचनमा निर्विरोध निर्वाचित हुनुभएका राउत महासंघमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
राउतको नेतृत्वमा रहेको यो प्यानलबाट तीन जना उपाध्यक्षसहित अध्यक्षबाहेक सबै पदाधिकारीहर निर्विरोध निर्वाचित हुनुभएको थियो ।
निर्वाचनमा जिल्ला नगरतर्फको उपाध्यक्षमा झापाका ऋषीराज तिम्सिना, वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनगरकै रविन दाहाल निर्विरोध निर्वाचित हुनुभयो । त्यसैगरी कोषाध्यक्षमा विराटनगरका श्रवणकुमार अग्रवाल निर्विरोध हुँदा एसोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि विना प्रतिष्पर्धा चुनिनुभएको थियो । सदस्य पदका लागि भने निर्वाचन भएको थियो ।
खुल्ला सदस्यतर्फ जिल्ला नगरबाट कृष्णप्रसाद रिजाल, राजु ढुंगाना ‘राजीव’, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नविनकुमार चौधरी निर्वाचित हुनुभयो । त्यस्तै, वस्तुगत तर्फको सदस्यमा सुवाष आचार्य र दिपक पाण्डे विजयी हुनुभएको ।
महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि २०५ मतदाता सहभागी भएका थिए । जसमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएट सदस्यहरुबाट १४८ जनाले मतदान गरेका थिए ।