• २० वैशाख २०८३, आइतबार

किरण नालामा चार लेनको पुल बन्दै

blog

बाँकेको खजुरास्थित किरण नालामा दुई लेनको पुल रहेको स्थानमा थप नयाँ पुल निर्माण गरिँदै । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, चैत २३  गते । नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत खजुरा र जानकी गाउँपालिकाको सीमास्थित किरण नालामा थप पुल निर्माण सुरु भएको छ ।

चार लेनको सडक रहेकोमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि थप गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो । 

भण्डारीले भन्नुभयो, ‘सो स्थानमा सवारी दुर्घटनाका घटना बढ्न थालेपछि नयाँ पुल निर्माण कार्य अघि बढाइएको हो । दुई वटा पुल भएपछि चार लेन सडकमा सवारी आवागमनमा थप सहजता हुने छ ।’

करिब चार करोड ५० लाखको लागतमा पुल निर्माण कार्य सुरु भएको हो । हाल धमाधम जग निर्माणको काम भइरहेको छ । केही वर्षअघि मात्र निर्माण भएको दुई लेन सवारी सञ्चालन हुने पुल साँघुरो भएपछि सोही स्थानमा दुई लेनको अर्को पुल निर्माण सुरु गरिएको छ । 

पुरानो दुई लेनको पुल यथावत राखेर नयाँ थप दुई लेनको पुल बनाउन लागिएको छ । आगामी असारभित्रै पुल निर्माण सक्नेगरि काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले जनाएको छ । 

यसैगरी बर्दियाको बढैयाताल गाउँपालिकामा पर्ने चपला नालामा रहेको पुल पनि चार लेनको बनाइने योजना कार्यालयले जनाएको छ ।