• २० वैशाख २०८१, बिहिबार

विद्यार्थी ‘पढ्दै कमाउँदै’

blog

सहरका बालबालिका गाडीमा चढेर विद्यालय जानुहुन्छ । बुवाआमाले टन्न टिफिन खर्च दिनुहुन्छ । विद्यालयमा पनि निकै सुविधा पाउनुहुन्छ तर अझै पनि पढाइ खर्चको अभावमा ग्रामीण क्षेत्रका बालबालिकाले बीचमै पढाइ छोड्नु पर्ने बाध्यता छ । 

ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसके पनि सरकारले त्यस्ता बालबालिकालाई लक्षित गरेर पढ्दै कमाउँदै योजना ल्याएको छ । जसका कारणले आर्थिक अभावले बीचमै पढाइ छोड्न बाध्य हुने बालबालिकालाई भने निक्कै राहत मिलेको छ । पढ्दै कमाउँदै योजना विद्यालयमा आएपछि विद्यार्थी मात्रै नभएर अभिभावक पनि यसबाट प्रभावित बन्नुभएको छ । 

नेपालभरका १४० विद्यालयका विद्यार्थी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै (लर्निङ बाई अर्निङ) गरिरहेका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफैँले कमाएर अध्ययन गर्न पाउने गरी कार्यविधि २०७८ स्वीकृत भएपछि ग्रामीण दूरदराजका कमजोर आर्थिक अवस्था भएका बालबालिका यसबाट खुसी छन् । 

बिहान र साँझ उनीहरूका लागि कमाउने सीप सिकेर आफ्नो पढाइ खर्च आफैँ जुटाइरहेका छन् । त्यसले गरिब किसान अभिभावकलाई समेत निकै राहत मिलेको छ । 

सामुदायिक विद्यालयमा अध्ययन गर्ने र स्वआर्जन गर्न चाहने र गरिब परिवारका विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य राखेर यो कार्यक्रम सुरु गरेको नमोबुद्ध नगरपालिका काभ्रेपलाञ्चोकमा रहेको जनक माविका प्रधानाध्यापक  प्रदीप पोख्रेलको अनुभव रहेको छ । 

उहाँको विद्यालयमा २२ जना विपन्न विद्यार्थीलाई घरमा बाख्रापालनका लागि पठाइएको छ ।  १८ वटा बाख्रा विद्यालयकै फार्ममा नमुनाका लागि राखिएको छ । बाख्रापालनका लागि बनाइएको कार्यविधिअनुसार बाख्राले जन्माएको पहिलो बेतको सन्तान विद्यालयलाई दिनुपर्ने र त्यसपछिका उत्पादन भने विद्यार्थी आफैँले लिएर फाइदा लिन सक्नेछन् । एउटा पाठीबाट १० हजार र बोकाबाट १२ देखि १५ हजार रुपियाँसम्म सहजै मुनाफा पाइने भएकाले विद्यार्थीहरू यो कार्यबाट निकै खुसी देखिएका छन् । 

ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसके पनि सरकारले त्यस्ता बालबालिकालाई लक्षित गरेर पढ्दै कमाउँदै योजना ल्याएको छ ।  

जनक माविको कक्षा १० मा अध्ययनरत पुष्पा सिग्देल र अनमोल अधिकारीको दैनिकी फेरिएको छ । उहाँसँगै १२० जना विद्यार्थी बाख्रा, मौरीपालन र अदुवा खेतीमा रमाइरहेका छन् । विद्यालयले आर्थिक उपार्जनका लागि एउटा बाख्रा दिएपछि पढाइसँगै बाख्राको रेखदेखमा समय दिन थाल्नु भएको उहाँहरूको भनाइ छ । 

पशु विज्ञान विषयमा अध्ययनरत भएकाले पनि यसको स्याहारसुसारका बारेमा धेरै कुरा थाहा भएको पुष्पाको भनाइ छ । विद्यालयले पनि व्यावहारिक ज्ञानसँगै यसबाटै आयआर्जनको लागि बाख्रा वितरण गरेको हो, यसबाट आम्दानीसँगै धेरै कुरा सिक्ने मौका विद्यार्थीलाई मिलेको छ । सरकारले कृषि (बाली विज्ञान–पशु विज्ञान–बागवानी), इन्जिनियरिङ (सिभिल–इलेक्ट्रिकल–कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट (मौरीपालन, च्याउ र रेशम खेती)लगायतका क्षेत्रमा कार्यक्रम लागू गरेको छ । त्योमध्ये कृषिमा काम जनक माविले गरिरहेको छ । 

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यावसायिक, सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने उद्देश्य यो कार्यक्रमले राखेको छ । 

सुर्खेत वराहा ताल गाउँपालिकाको जनज्योति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध भएर धेरै कुरा सिकेको सुनाउनुहुन्छ । विद्यालयमा आएर धेरै कुरा सिकेको र त्यो कुरालाई व्यवहारमा उतार्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । 

विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत कृषिमा आबद्ध उहाँले पढाइ खर्च पनि यसैबाट जुटाइरहेको सुनाउनुहुन्छ । विद्यालयमा सिकेको आधुनिक कृषिको सीप बुवाआमालाई पनि सिकाउन पाएकोमा निकै खुसी हुनुहुन्छ उहाँ । 

सुरुवातमा यो कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित हुनुभएको छ । गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, पूर्वाधार शिक्षा, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न यो आयोजना सुरुवात भएको हो । 

विद्यार्थीले उत्पादन गरेका खाद्यान्न, तरकारी, फलफूल, मासुजन्य पदार्थ र अन्य वस्तु तथा सेवालाई दिवा खाजाका रूपमा विद्यालयमा उपयोग गर्ने वा स्थानीय बजारमा बिक्री वितरण हुन थालेपछि त्यसबाट नियमित रूपमा विद्यार्थीले आम्दानीसमेत लिन थालेका छन् । 

अहिले नमुनाका रूपमा भएको कार्यक्रमलाई सबै विद्यालयसम्म पु-याउन सकेमा विद्यालय नै रोजगारी सिर्जना गर्ने थलोका रूपमा विकास हुने अपेक्षा अभिभावकले गर्नुभएको छ ।