• १९ मङ्सिर २०८२, शुक्रबार

मानो पाथी सङ्कलन गरेर विद्यालयमा आवास सञ्चालन

blog

विद्यालयलाई अन्न प्रदान गर्दै अभिभावक ।

राजकुमार भट्टराई

खोटाङ, मङ्सिर १९ गते । विद्यालयका प्रधानाध्यापक र अभिभावकहरु अहिले विद्यालय सञ्चालनको लागि गाउँमा मानो पाथी अन्न सङ्कलन गर्दै गरेको भेटिन्छन् । गाउँमा सामुदायिक विद्यालय जोगाउन आवास सुरु गरेका खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डे दम्कुका स्थानीयले विद्यार्थीको खाना र खाजाका लागि मानो पाथी अन्न सङ्कलन अभियान चलाएका हुन् । 

दम्कुमा २०३६ सालमा स्थापना भएको कालिका आधारभूता विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गएपछि विद्यालय हट्न सक्ने भन्दै स्थानीय चिन्तित भए । शिक्षक, अभिभावक सबैको सल्लाह अनुसार उनीहरुले विद्यालयलाई आवसीय बनाए । कक्षा ७ सम्म पठनपाठन भइरहेको कालिका आविमा यहि वर्षबाट कक्षा ८ पनि थप गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर राईले बताउनुभयो । गत जेठ १ गतेबाट विद्यालयमा आवस पनि सुरु गरिएको उहाँको भनाइ छ । 

आवासमा बसेका विद्यार्थीको खाना खाजाको लागि गाउँका अभिभावकबाट मानो पाथी अन्न सङ्कलन अभियान चलाइएको प्रधानाध्यापक टिकाराम राईले बताउनुभयो । अहिलेसम्म ७५ घरबाट मानो पाथी अन्न सङ्कलन गरिएको उहाँको भनाइ छ । अभिभावकहरुले आफ्नो खुशीले घरमा भएका, अन्न एवं तरकारी लगायतका आवश्यक सामानहरु दिइरहेको प्रधानाध्यापक राई बताउनुहुन्छ । चामल, मकै, कोदो, तेल, नुन, चिनि, तरकारी लगायतका सामानहरु अभिभावकबाट प्राप्त भइरहेको उहाँको भनाइ छ । 

संस्कारसहितको व्यवहारिक शिक्षा प्रदानको लागि कालिका आविलाई शिक्षक र अभिभावक सबै मिलेर आवासीय विद्यालयकोरुपमा सुरु गएको प्रधानाध्यापक राई बताउनुहुन्छ । “अहिले विद्यार्थी दिउँसो किताब पढ्छन, बिहान बेलुका तरकारी बारीमा काम गर्छन, संगीत र नृत्य सिक्छन ।” राईले भन्नुभयो, “इको हिमाल संस्थाको सहयोगमा विद्यालयका उत्पादनको काम पनि भइरहेको छ, टमाटर, कोपी, खुसार्नी, मुला, गाँजर लगाएको तरकारीहरु विद्यार्थीले लगाएका छन् । कुखुरा र सुँगुर पनि विद्यार्थीले पालेका छन् ।” प्रविधिसँग जोड्नको लागि बिहान बेलुका एआइसँग सम्बन्धित अध्ययन पनि विद्यार्थीलाई गराइरहेको प्रधानाध्यापक राईले बताउनुभयो । 

कालिका आविले आवाससँगै अंग्रेजी माध्यमबाट पठनपाठन पनि सुरु गरेको छ । अहिले कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पढाइ भइरहेको छ । आगामी हरेक वर्ष कक्षा एक थपहुँदे जानै उहाँको भनाइ छ । अघिल्लो वर्ष विद्यालयमा ४२ जना विद्यार्थी थिए । यो वर्ष विद्यालयलाई आवासीय बनाएपछि विद्यार्थी संख्या बढेर ६६ जना पुगेको छ । आवासीय विद्यालय सञ्चालन सुरु गरेपछि 

बाहिरबाट २४ जना विद्यार्थी कालिका आविमा आएका छन् । सोही गाउँबाट अन्य विद्यालय पढ्न गएका ४ जना विद्यार्थी अहिले फर्किएका छन् । २० जना विद्यार्थी भने बाहिरबाट आएका छन् । 

इलामबाट १ जना, सोलुखुम्बुबाट २ जना र जिल्ला भित्र सप्तेश्वर, हलेसी, बुइपा, हुर्लुङ र कुभिण्डेबाट विद्यार्थीहरु आएको प्रधानाध्यापक राईले बताउनुभयो । अन्य विद्यार्थी पनि आउन खोजेको, तर विद्यालयसँग राख्ने ठाउँ अभाव रहेको उहाँको भनाइ छ । अहिले विद्यालयको आवासमा ४० जना विद्यार्थी बसिरहेका छन् । अन्य २६ जना विद्यार्थी घर नजिकै रहेकाले घरबाटै आउने गरेको प्रधानाध्यापक राईले बताउनुभयो । 

कालिका आविलाई आवासीय विद्यालयकोरुपमा सञ्चालन गर्नका लागि वडा सदस्य विशाल राईको संयोजकत्वमा आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको थियो । विभिन्न संस्था र ब्यक्तिहरुबाट १० लाख रकम सङ्कलन भएको थियो । उक्त रकम ब्याजमा लगाएर ब्याजबाट आवास सञ्चालनको लागि प्रयोग भइरहेको छ । आवास सञ्चालनका लागि रावा बेसी गाउँपालिकाले सुरुमा केही लत्ता कपडा सहयोग गरेको थियो । अहिले धान खरिदका लागि ३ लाख रकम प्रदान गरेको आर्थिक संयोजक एवं वडा सदस्य विशाल राईले बताउनुभयो । विद्यालयलाई एक वर्षसम्म पुग्ने गरी एक सय मुरी धान खरिद गरेर ल्याइसकिएको उहाँको भनाइ छ । 

एक जना कार्यालय सहयोगी, एक जना वाल विकास शिक्षक गरी जम्मा ९ जना विद्यालमा कार्यरत रहेका छन्  । ९ जनामा २ जना भने निजी शिक्षक रहेका छन् । दुई जना शिक्षकको दलबको लागि पनि विद्यालयले खर्च जोहो गर्नु पर्ने बाध्यता छ । 

आवासमा बसिरहेका विद्यार्थीबाट आवास शूल्क महिनाको १ हजार ५ सय लिइएको प्रधानाध्यापक राईले बताउनुभयो । आवासमा दलित, गरिब र अभिभावक बिहिन १० जना विद्यार्थीलाई निशूल्क राखिएको छ । विद्यार्थीको सहयोगको लागि छात्राहरुसँग एक जना शिक्षिका र छात्रहरुसँग एक जना शिक्षक पनि रहनेगरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ । आवासमा बसेका विद्यार्थीलाई खाना खाजा पकाउनका लागि एक जना कर्मचारी विद्यालयले राखेको छ । 

आवासमा बसेका कक्षा तीन देखि माथिका विद्यार्थीले  आफ्नो सरसफाइ आफैँ गर्छन् । ३ कक्षा भन्दा मुनीका विद्यार्थीबाट मासिक ६ सय ५० शूल्क लिएर विद्यालयले सरसफाइ गर्ने व्यवस्था मिलाएको छ । 

निजी शिक्षकलाई तलब र आवास सञ्चालनको लागि विद्यालयमा स्थापना गरिएको अक्षयकोषले सहयोग भइरहेको प्रधानाध्यापक राई बताउनुहुन्छ । कालिका आविमा अहिले २० लाख बराबरको अक्षयकोष छ । चन्दा सङ्कलन गरेर निर्माण गरिएको १० लाखको एउटा अक्षयकोष र बुवाआमाको नाममा विभिन्न ब्यक्तिहरुले निर्माण गरेको करिब १० लाख बराबरको अर्को अक्षयकोष रहेको छ। उक्त कोषको रकमबाट आएको ब्याजले आवास सञ्चालनको लागि सहयोग भइरहेको छ । 

कालिका आविमा आवासका लागि एउटा भवन अत्यन्तै आवश्यकता रहेको प्रधानाध्यापक राई बताउनुहुन्छ । अध्ययनका लागि प्रयाप्त ठाउँ भएपनि आवासका लागि एउटा भवन आवश्यक रहेको उहाँको भनाइ छ ।