• २१ मङ्सिर २०८२, आइतबार

गौर नगरपालिकाको सहयोगमा कर्मकाण्डको अध्यापन सुरु

blog

संस्कृत कर्मकाण्डको अध्ययन अध्यापनका लागि गौर–२ मा स्थापित रामलखन हरि साह गुरुकुल विद्यापिठको उदघाटन गर्नुहुँदै गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह । तस्बिर सौजन्य : गौर नगरपालिका

प्रवीणकुमार शर्मा 

रौतहट, मङ्सिर २१ गते । रौतहटको गौरमा संस्कृत कर्मकाण्डको अध्ययन अध्यापन आजबाट सुरु भएको छ । गौर नगरपालिका–२ मा रहेको रामलखन हरि साह गुरुकुल विद्यापिठको आज एक कार्यक्रम बिच गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले उद्घाटन गर्नु हुँदै अध्ययन अध्यापन सुरु भएको उहाँले जानकारी गराउनुभयो ।

नगरवासीको चाहना अनुसार नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङसँग अनुमति लिएर ६ महिने संस्कृत कर्मकाण्डको पढाइ सुरुवात गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

संस्कृत कर्मकाण्डकै अध्ययन अध्यापनका लागि नगरपालिकाको सहयोगमा जुद्ध माध्यमिक विद्यालयको दक्षिणतर्फ रामलखन हरि साह गुरुकुल विद्यापिठको स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

संस्कृत कर्मकाण्डको प्रशिक्षणसँगै यहाँका युवामा संस्कारको वृद्धि हुने नगर प्रमुख साहको विश्वास रहेको छ । ६ महिने संस्कृत कर्मकाण्ड प्रशिक्षण सञ्चालन गर्न नेपाल संस्कृत विश्वविद्यालयले विद्यापिठलाई अनुमति उपलब्ध गराएको छ ।

संस्कृत कर्मकाण्डसँगै आगामी दिनमा प्राज्ञ शास्त्रीको कक्षा सञ्चालन गरिने गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले बताउनुभयो । गौरमा संस्कृत कर्मकाण्डको  अध्ययन अध्यापन सुरु भएसँगै  महोत्तरीको मटिहानी जानुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो ।

कक्षा ८ उतीर्ण गरेकाले अध्ययन गर्न सक्ने संस्कृत कर्मकाण्डको सम्पुर्ण खर्च गौर नगरपालिकाले बेहोर्ने प्रमुख प्रशासकीय अधिकृत ठाकूरले बताउनुभयो । संस्कृत कर्मकाण्डको लागि २५ ओटा कोटा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो ।