प्रेमराज सिम्खडा
कालीकोट, मङसिर २० गते । शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक बिद्यालयले साप्ताहिक परीक्षाको अभ्यास सुरु गरेका छन् । सामुदायिक बिद्यालयले नियमितसँगै अतिरिक्त कक्षा सञ्चालन गरेर नतिजा सुधार्ने प्रयास गरिएको हो ।
कालीकोटको पहिलो बडिमालीका माध्यमिक बिद्यालयले अतिरिक्त कक्षासँगै नियमित पढाइ जारी राखेको छ । बर्षाको समयमा बिदा हुने बिद्यालय सबैले ट्युसन कक्षा सुरु गरेका छन् ।
मङसिर १ गतेबाट आवासीय कक्षा सञ्चालन गरेको बडिमालिका माध्यमिक बिद्यालय रास्कोटले सार्वजनिक बिदाका दिन आन्तरिक परीक्षा लिने गरेको जनाएको छ । बिद्यालयका अग्रेजी बिषयका शिक्षक कृष्णप्रसाद वरालले साप्ताहिक परीक्षा लिने र परीक्षाको नतिजामा जुन बिषयमा बिद्यार्थी कमजोर छन् ती बिषयगत शिक्षकले थप कक्षा सञ्चालन गर्दैजाने बताउनुभयो ।
जुन परीक्षा सार्वजनिक बिदा वा शनिवारका दिनमा लिने गरिएको छ । त्यो दिन अरु बिद्यार्थी नआउने भएकाले बाहिर फिल्डमै तीन घण्टाको समयमा एसइई परीक्षा तयारी गरिरहेका बिद्यार्थीको परीक्षा लिने गरेको शिक्षक वरालको भनाइ छ ।
बडिमालिका माध्यमिक बिद्यालयले अरु बिद्यालयभन्दा परीक्षाको नतिजा सुधार गर्दै लिएको छ । अझै पनि सुधार गर्ने प्रयासस्वरुप आवासीय कक्षासहित अन्य ट्युसन कक्षा पनि जारी छन् ।
बिद्यार्थीलाई होस्टेलमा राखेर मासिक चार हजारका दरले खाना, खाजा सहितको ब्यवस्था बिद्यालयले मिलाएको छ । जुन प्रतिबिद्यार्थी खाना ६५ रुपियाँ पर्छ । यो खर्च नगरपालिका र बिद्यालय स्रोतबाट ब्यवस्थापन गरिएको छ ।
बडिमालिका माध्यमिक बिद्यालयका प्रधानाध्यापक पुष्पराज वरालले गत बर्षभन्दा यो बर्ष रकम थोरै भए पनि जसोतसो बिद्यालयले बिद्यार्थीको खर्च ब्यवस्थापन गरिरहेको बताउनुभयो । यो बर्ष बडिमालिका माध्यमिक बिद्यालयमा ११६ जना बिद्यार्थीले एसइई परीक्षा दिनेछन् ।
गत बर्ष ४९ जना मात्र विद्यार्थीले परीक्षा दिएका थिए । केही पुराना अनुत्तिर्ण बिद्यार्थी समेत सहभागी भएकाले शैक्षिकसत्र २०८० को भन्दा २०८१ को नतिजा कमजोर आएको शिक्षकको भनाइ छ ।
रास्कोटका कालाशिल्ला, मोतीराम र जनजागृती माध्यमिक बिद्यालयले पनि अतिरिक्त कक्षा सञ्चालन गर्दैआएका छन् । जिल्लाभर कतै ट्युशन त कतै अतिरिक्त कक्षा जारी छन् ।