प्रजातन्त्र प्रभातीमा वीरता सल्बलाउँछ
नयाँ लहरमा मेची–महाकाली सुसाउँछ ।
लेकदेखि तराईको एकतारे बजाउँछु
लोकगाथा अँगालेर देशको गीत गाउँछु ।
छन् मेरा चाहना उच्च सत्यमा शिव सुन्दर
स्वप्नको कुञ्ज हो राष्ट्र म रच्छु युग सुन्दर ।
राष्ट्रको मृत्तिका पक्री जिन्दगी बन्छ उर्वर
प्रजातन्त्रबिना हाम्रो के अस्तित्व रहन्छ र ।
भावना यो भकानिन्छ भूगोलै फुट्छ झैँ गरी
लोकशक्ति अकासिन्छ ज्वारभाटा उठेसरि ।
नेपाली वीरको गाथा ज्यूँदो हुर्कन दिन्छु म
स्वाधीन वनबेलीको स्यूँदो खुर्कन दिन्न म ।
सल्काई क्रान्तिको राँको खुम्रेकिरा जलाउँछु
जोगाई फाँटको खेती अन्न–बाली फलाउँछु ।
बजाई युगको ढोल क्रान्तिकारी जुटाउँछु
जगाई न्यायको खाँडो देशलाई उठाउँछु ।
उठ हे ! पाखुरा मेरा, प्रजातन्त्र बचाउन
सङ्कष्टबाट जोगाई जिन्दगानी हँसाउन ।
बाल्दैछु सिर्जना–ज्योति अँध्यारो हुन दिन्न म
फाल्दैछु मूर्खतालाई चेतना सुत्न दिन्न म ।