मत्ता कुञ्जर बाघसरिका, राजा रजौटा थिए
आफ्नै सन्तति इष्टमित्र पछुवा दर्ज्यानिमा अग्लिए ।
नाना जात विभेद खाडल ठूलो, अन्यायको शासन
चल्थ्यो घोर कठोर दण्ड बलमा, लुट्दै प्रजाका धन ।
सत्ता पाउन हानमार कति भो, उस्तै चले साजिस
सोझा जो दुनियाँ प्रजाजन कतै, गर्दैनथे नालिस ।
जो बन्थे विधि ऐन कानुन सबै, सानातिना खातिर
ठालू ऐन मिचेर चैन सुविधा, लिन्थे उठाई शिर ।
चर्को मत्स्य कठोर न्याय कसरी मानेर हिँड्ने अब
झर्को भेदविभेद तोड्न अहिल्यै, सङ्घर्ष जोडौँ सब ।
योद्धा वीर सपूतका हृदयले, आह्वान गर्दै उठे
पिल्सेका जनता प्रफुल्लित हुँदै, मौरी बनेरै जुटे ।
गोली थाप्न तयार भै नव युवा, फाँसी चढे हर्षमा
राणातन्त्र ढलेर बल्ल जनता हाँसे नयाँ वर्षमा ।
होली खेल्न तयार भै रगतको, ती राक्षसी शासक
बोल्दैथे प्रतिक्रान्तिका भ्रम छरी, भारण्ड नालायक ।
योद्धाका पसिना र रक्तकणले लाली छ-यो पूर्वमा
निष्ठा स्वच्छ विचार जग्मग बने, चोखो प्रजातन्त्रमा ।
धेरैका बलिदान मान ममता, फुल्दै बहोस् वासन
पूरै दम्भ अहं घमण्ड छिमली, सद्धाम होस् आसन ।