• १३ साउन २०८१, आइतबार

समृद्धि हासिल गर्नु सरकारको मुख्य कार्यभार हाे: उपप्रधानमन्त्री श्रेष्ठ

blog

उपप्रधान, भौतिक पूवार्धार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ । तस्विरः नविन शाही

नविन शाही

सुर्खेत, फागुन ४ गते । उपप्रधान, भौतिक पूवार्धार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले देशमा सुशासन स्थापित गर्दै सामाजिक न्यायसहित समृद्धिको लक्ष्य हासिल गर्नु सरकारको मुख्य कार्यभार रहेका बताउनुभएको छ । बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले सरकारले मुख्यत चार वटा राष्ट्रिय कार्यभारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताउनुभयो । 

‘चार वटा राष्ट्रिय कार्यभारलाई केन्द्रित गरेर सरकार अगाडि बढ्दैछ । पहिलो, प्रमुख राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण गर्नु हो ।’  उहाँले भन्नुभयो, ‘दोस्रो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र कार्यान्वयन गर्नु हो भने तेस्रो, राजनीतिक परिवर्तन र त्यसबाट प्राप्त उपलब्धिलाई माध्यम बनाएर सामाजिक, आर्थिक क्षेत्रमा विस्तार गरी सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नु हो ।’ 

यस्तै, उहाँले शान्ति प्रक्रियाको बाँकी कार्यहरू बेपत्ता छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका काम पूरा गरेर सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम सम्पन्न गर्नु चौंथौ कार्यभार रहेको बताउनुभयो । साथै, सरकारले यी चार वटा मुख्य कार्यभारलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो । 

‘सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताको निर्धारण, पहिलो मन्त्रिपरिषद्को निर्णय, प्रधानमन्त्रीद्वारा सचिवहरूलाई निर्देशन र प्रतिनिधिसभामा भएको सम्बोधनले कार्यभारलाई परिलक्षित गरेको छ ।’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘यसलाई कार्यान्वयन गर्न सबै मन्त्रालयबाट एकीकृत कार्ययोजना बनेको छ ।’ 

सरकार निर्माणपछि आफ्नो नीति कार्यक्रमलाई कार्यान्वयन गर्न जुटिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले वर्तमान सरकार समीकरण बदल्ने चाहना नभएको बताउनुहुँदै भन्नुभयो । ‘प्रतिगमनकारी तत्त्वलाई अगाडि बढ्न नदिने चेतावनी समेत दिनुभयो । ‘सत्तारुढ गठबन्धन दल कसैले चाहेर भत्किँदैन । अहिले सरकार चलाइरहेका दलले विश्वासको वातावरण सिर्जना गर्न सक्नुपर्छ । हामी त्यस्तो परिस्थित नहोस् भन्ने चाहन्छौँ ।’  उहाँले भन्नुभयो।