सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा), फागुन २३ गते। धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । राईले १८ हजार १३२ मत प्राप्त गरी विजयी हुनुभएको हो।
राईका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले १४ हजार २५७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी श्रम संस्कृति पार्टिका उमेदवार सान बहादुर राईले ११ हजार ९३२ मत पाउनुभएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले ९ हजार ९४४ मत पाउनुभएको छ । निर्वाचित राई कांग्रेसका राईसँग ३ हजार ८७५ मतान्तरले विजयी हुनु भएको छ । उहाँलाई मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
प्रतिनिधि सभा एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा १ लाख १८ हजार ४२४ मतदाता रहेका छन् । जसमध्ये ५४.४५ प्रतिशत अर्थात् ६४ हजार ४९० मत खसेको थियो। विजयी उम्मेदवार राईको यो चौथो संसदीय प्रतिस्पर्धामा तेस्रो जित हो ।
यसअघि उहाँ २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन धनकुटा क्षेत्र नम्बर २, बाट उम्मेदवार रहेर पराजित हुनु भएको थियो ।त्यसपछि उहाँ एमालेबाटै २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर दुवै निर्वाचन जित हासिल गर्नुभएको थियो । यस पटक पनि जित निकाल्दै राईले जितको ह्याट्रिक गर्नु भएको छ ।