• २३ फागुन २०८२, शनिबार

कैलाली ३ मा रास्वपाका जोशी बिजयी

blog

प्रतिनिधि सभा सदस्यमा बिजयी उम्मेदवार जगतप्रसाद जोशी । तस्बिरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), फागुन २३ गते । प्रतिनिधिसभा कैलाली क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी विजयी हुनुभएको छ । जोशीले २० हजार ३५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

जोशीका  निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार बिरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गर्नुभएको छ । २०६४ सालमा संविधान सभाको सदस्य निर्वाचित हुनुभएका चौधरी २०७४ सालको सुदूरपश्चिम प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ (क) बाट तत्कालिन नेकपा (माओबादी) बाट चुनाव जित्नु भएको थियो । 

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भिमबडुवालले नौहजार ७१० मत पाउनुभएको छ । उहाँ प्रतिनिधि सभाका लागि कांग्रेसबाट नयाँ अनुहार हुनुहुन्थ्यो । त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार गौरीशंकर चौधरीले चार हजार ७५२ मत पाउनुभएको छ । 

दुई पटक प्रतिनिधि सभा र एकपटक संविधान सभा निर्वाचनमा उम्मेदवार बन्नु भएका चौधरीको प्रतिनिधि सभामा यो दोस्रो पराजय हो । भजनी नगरपालिका वडा नम्बर ३ को २०७४ र २०७९ मा वडा अध्यक्षमा बिजयी भएका नागरिक उन्मुक्ति पार्टी नेपालका बिक्रम चौधरीले ६७४७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्रबहादुर बमले दुईहजार ३४७ मत पाउनुभएको छ । 

उहाँ २०७९ सालको प्रतिनिधि सभामासमेत उम्मेदवार बन्नु भएको थियो । यहाँ ६० हजार २९४ मत खसेको  निर्वाचन अधिकृत पुष्कलराज पर्साइले जानकारी दिनुभयो । राष्ट्रिय जनमोर्चा  पार्टीको कैलाली जिल्ला अध्यक्षबाट राजिनामा दिएर गत साउनमा  जोशी रास्वपा प्रवेश गर्नुभएको हो । 

समाजशास्त्र विषयमा स्नातकोत्तर तह गरेका ३९ वर्षीय जोशी लामो समय शिक्षण पेशामा संलग्न रहनुभएको थियो । जन आन्दोलनका घाइतेसमेत जोशीले राष्ट्रिय जनमोर्चाबाट २०७० सालमा संविधान सभाको प्रत्यक्ष उम्मेदवार, २०७४ मा सुदूरपश्चिम प्रदेश सभाको समानुपातिक उम्मेदवार, २०७९ सालमा घोडाघोडी नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षको उम्मेदवार भई पराजय भोग्नु भएको थियो । 

उहाँले भन्नुभयो “रास्वपा पार्टीले बहुमत ल्याउँछ भन्ने त सोचेको थिए तर मैले यती धेरै मत पाउँछु भन्ने अपेक्षा गरेको थिएन । अरु कुरामा म सक्षम भएपनि आर्थिक रुपमा कम्जोर र लामो समय सानो दलमा आवद्ध भएको र धेरै चर्चामा नआएको उम्मेदवार थिए, त्यसैले जे परिणाम आउँछ स्विकार्छु भन्ने सोचेर चुनावमा होमिएको थिए ।”

विगतमा आवद्ध दलबाट पनि नबिराउने नडराउने राजनीतिक संस्कार सिकेको जनाउँदै जोशीले ईमान्दारिताबाट नडगमगाई जनता र देशकोलागि काम गर्ने बताउनुभयो ।