अमरराज नहर्की
तनहुँ, फागुन २३ गते । तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर श्रीराम न्यौपाने भारी मतान्तरका साथ विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेको कुल ६६ हजार २३१ मतमध्ये न्यौपानेले ३२ हजार ६८७ मत प्राप्त गरी सानदार जित दर्ता गर्नुभएको हो ।
न्यौपाने पहिलो प्रयाशमै सांसद बन्न सफल हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शङ्कर भण्डारीले १४ हजार ५२० मत प्राप्त गर्नुभएको छ।
दुई उम्मेदवारबीचको मतान्तर १८ हजार ५५२ रहेको छ भने नेकपा (एमाले) का उम्मेदवार केदार सिग्देल ११ हजार ६६८ मतमा सीमित हुनुभएको छ । तनहुँका दुवै क्षेत्रमा रास्वपाले क्लिन स्वीप गरेसँगै जिल्लामा नयाँ राजनीतिक शक्ति स्थापित भएको छ र पुराना दलका उम्मेदवारहरू निकै पछाडि परेका छन् ।
क्षेत्र नम्बर २ मा न्यौपानेको जितसँगै क्षेत्र नम्बर १ बाट निर्वाचित रास्वपाकै उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले निर्वाचित हुनु भएको छ ।
२१ हजार ८०९ को फराकिलो मतान्तरले विजयी हुनुभएका डा. वाग्लेले विजयी हुनु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार डा. वाग्लेले ३८ हजार ४० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) की उम्मेदवार भगवती न्यौपाने तेस्रो स्थानमा रहनुभएको छ । कुल १ लाख २६ हजार ८८२ मतदाता रहेको यस क्षेत्रमा ५३.६९ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।