• २३ फागुन २०८२, शनिबार

तनहुँ–१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित निर्वाचित

blog

डा. स्वर्णिम वाग्ले

अमरराज नहर्की

तनहुँ, फागुन २३ गते । तनहुँ क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कुल ६४ हजार ८८० सदर मतमध्ये डा. वाग्लेले ३८ हजार ४० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गर्नुभएको छ । यससँगै डा. वाग्ले २१ हजार ८०९ मतान्तरले विजयी हुनुभएको हो । यसैगरी नेकपा (एमाले) की उम्मेदवार भगवती न्यौपानेले उल्लेख्य मत प्राप्त गरे पनि तेस्रो स्थानमा रहनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालका अनुसार यस क्षेत्रमा कुल १ लाख २६ हजार ८८२ मतदाता रहेकामा ५३ दशमलव ६९ प्रतिशत मतदान भएको थियो । अन्तर्राष्ट्रिय शैक्षिक तथा आर्थिक क्षेत्रका विज्ञका रूपमा परिचित डा. वाग्ले २०७९ चैतमा नेपाली कांग्रेस छाडेर रास्वपा प्रवेश गर्नुभएको थियो । २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि विजयी हुनुभएका उहाँले यस पटकको निर्वाचनमा अझ फराकिलो मतान्तरसहित आफ्नो जनमत थप बलियो बनाएको विश्लेषण गरिएको छ ।

लन्डन स्कुल अफ इकोनोमिक्स, हार्भर्ड र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गर्नुभएका डा. वाग्लेले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया–प्रशान्त क्षेत्रीय आर्थिक सल्लाहकारका रूपमा समेत काम गरिसक्नुभएको छ । उहाँलाई भाबी अर्थमन्त्रीका रूपमा हेरिएको छ ।