• २४ वैशाख २०८१, सोमबार

पठाओको चर्को 'अफलाइन' मोलमोलाइ

blog

पठाओ । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन २ गते । सार्वजनिक सवारीसाधन नचलेपछि पठाओ र निजी मोटरसाइकलले मनोमानी भाडा लिएर यात्रु चढाउने गरेका छन् ।  सरकार र यातायात व्यावसायीबीच भएको वार्तापछि आन्दोलनका कार्यक्रम स्थगित भए पनि अहिलेसम्म सार्वजनिक सवारी चलेका छैनन् ।

उपत्यकामा लोकप्रिय भएको पठाओ सेवामा जोडिएर मोटरसाइकल सञ्चालन गरेकाहरू अहिले अनलाइन सेवा छाडेर अफलाइन मोलमोलाइ गरेर चर्को शुल्कमा यात्रु बोकेका छन् ।

सार्वजनिक सवारी गुड्ने आशसहित सडकमा निस्केका यात्रु सवारी नचल्दा मर्कामा परेका छन् । कीर्तिपुरबाट सुन्धारा जानका लागि निस्कनुभएका महेश तामाङ सार्वजनिक गाडी नआएपछि अनलाइन पठाओ बुक गर्न थाल्नुभयो तर अनलाइन बुकिङ गरेको पठाओले रिजेक्ट गर्‍यो । नजिकै भएको पठाओले अफलाइनमा चार सय रुपियाँमा लान तयार भएको उहाँ सुनाउनुहुन्छ ।


उहाँले भन्नुभयो, “वार्ता सकारात्मक भयो सार्वजनिक गाडी सञ्चालन हुन्छ भन्ने समाचारहरू देखेर काम परेर सुन्धारा जान निस्केको गाडी नै आएन । पठाओमा जानुपर्‍यो भनेर अनलाइन बुक गर्न लागेको रिजेक्ट देखायो । पछि त अनलाइन आउने पठाओ अफलाइनमा मोलमोलाइ गर्न आयो । चार सयमा लैजान्छु भन्यो ।” यस्तै पीडामा अन्य यात्रु पनि छन् ।

बानेश्वरबाट न्यूरोड पुग्नका लागि रितेश शर्माले पनि २५० रुपियाँ तिर्नुपरेको गुनासो सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “विशेष काम गरेर न्यूरोड निस्कनुपर्ने थियो । अनलाइनमा पठाओ, इनड्राइभबाट मोटरसाइकल खोजेको सबैले रिजेक्ट गरे । बाहिर निस्केको अफलाइनले २५० रुपियाँ दिए लैजाने बतायो । अत्यावश्यक काम परेकाले २५० रुपियाँ नै तिरेर न्यूरोड आएँ ।’’

यता पठाओ सेवाले भने अनलाइन सेवा रिजेक्ट गर्ने र अफलाइन सेवा दिने पठाओको गाडी नम्बर टिपेर पठाओको कार्यालयमा रिपोर्ट गरे कारबाही गरिने जनाएको छ ।

पठाओ सेवाका एक कर्मचारीले भन्नुभयो, “पठाओ सेवा यात्रुको सुरक्षा र सेवाका लागि हो । कुनै पठाओमा जोडिएको गाडीले अनलाइन रिजेक्ट गरेर अफलाइन सेवा दिएको छ भने त्यो गाडीको नम्बर टिपाउनुस् हामी कारबाही गर्छौँ ।”

यस्तै, नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार अफलाइन र चर्को भाडा लिएको पाइए तत्काल कारबाही गरिनेछ ।


पोखरेलले भन्नुभयो, “तोकिएको भन्दा बढी भाडा असुल्ने र अफलाइन मोलमोलाइ गरेर यात्रु बोक्ने पठाओलाई कारबाही गर्ने गरेका छौँ । पछिल्लो ६ महिनामा मात्र चार हजार पाँच सय पठाओलाई कारबाही गरेका छौँ ।”

उहाँले यातायात बन्दको कार्यक्रम फिर्ता भए पनि सार्वजनिक यातायात चल्ने क्रम बढ्दै भएको  बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक यातायात चल्ने क्रम सुरु भएको छ । कतिपय मजदुरहरू बिदा भन्दै बाहिर कतै गएका कारणले त्यति बाक्लो नचलेको होला तर चल्ने क्रम बढेको छ ।”

यो पनि पढ्नुहोस

सरकार र यातायात मजदुर सङ्गठनबीच पाँचबुँदे सम्झौता

बन्द फिर्ता भए पनि सार्वजनिक यातायात चलेनन् (फोटो फिचर)

यातायात व्यवसायीको बन्द फिर्ता

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।