• २६ चैत २०८२, बिहिबार

घोप्टेभिरको भित्ता काटिएसँगै यातायात सुचारु

blog

मुग्लिङ–मनकामना केबुलकार सडकखण्डको घोप्टेभिरमा भित्ता काटिएपछि यातायात सञ्चालन हुँदै । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता 

चितवन, चैत २६ गते । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–कुरिनटार केबुलकार क्षेत्रमा पर्ने चितवनको घोप्टेभिरको भित्ता काट्ने काम सकिएसँगै यातायात सञ्चालन सुचारु भएको छ । 

नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका लागि छ दिन सडक बन्द गराएर भित्ता काट्ने काम गरिएको थियो । नागढुङ्गा–मलेखु सडक आयोजना अन्तर्गत पश्चिम खण्ड मुग्लिङ–मलेखु सडकका प्रमुख सजना अधिकारीले रातको समयमा आवागमन बन्द गराएर गरिएको भित्ता काट्ने काम सकिएको जानकारी दिनुभयो । 

उहाँले  भन्नुभयो, “अब वर्षाअगाडि भित्ता काट्ने काम गर्ने छैनौँ । यस खण्ड अन्तर्गत केबुलकारदेखि मुग्लिङसम्मको भागमा कटान सकिएको छ । केबुलकारदेखि मलेखुसम्मको खण्डमा भने पहाडका भित्तो काट्ने काम बाँकी छ ।” कार्यालयका अनुसार घोप्टेभिरको २५० मिटर लामो सडकको छेउको भित्ता काटिएको छ । करिब ५० मिटर माथिबाट भित्ता काटेर सडक थप चार मिटर फराकिलो बनाइएको छ । भित्ता काटिएसँगै अब सडक १२ मिटर फराकिलो भएको छ । यस क्षेत्रमा साँघुरो सडक हुँदा दोहोरो सवारीसाधन सञ्चालनमा समेत कठिनाइ हुँदै आएको थियो । 

आयोजनाले यही चैत १७ देखि २२ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सडकमा यातायात सञ्चालनमा रोक लगाएर काम गरेको थियो । तीन वटा एक्साभेटर, दुई वटा लोडर, १० वटा टिप्पर र सोही अनुपातमा जनशक्ति परिचालन गरिएको थियो । मनकामना केबुलकारबाट रमाइलो डाँडा जाने सडकको बिच भागमा पर्ने अर्को एक भित्ता काट्ने काम आधा सकिएको र यहाँ ७० मिटर सडक छेउको भित्ता काटेर विस्तार गर्ने योजना रहेको छ । यहाँ अवस्था हेरेर बर्सातअगाडि नै भित्ता काट्ने गरी तयारी भएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । 

मुग्लिङ–मलेखु सडकको विस्तारको काम ४१ प्रतिशत सम्पन्न भएको छ । हाल कालोपत्रे गर्ने, कालोपत्रेको तयारी, नाला बनाउने, पर्खाल लगाउने जस्ता काम भइरहेको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडकको ठेक्का सम्झौता भएको थियो । समयमा काम नसकिएपछि छ महिना म्याद थप गरिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ– नागढुङ्गा खण्डलाई तीन चरणमा बोलपत्र आह्वान गरिएको हो ।

हाल काम भइरहेको क्षेत्र तेस्रो चरण अन्तर्गत पर्छ । उक्त खण्डमा ३८.८६ किलोमिटर लम्बाइ रहेको छ । यस सडकखण्डमा पर्ने मलेखु, बेनीघाट र मुग्लिङमा २.२ किमीको छ लेनको सडक निर्माण हुँदै छ । ७.२ किमी सडक भने चार लेनको हुने छ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्दछ । दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने छ । ‘क्लाइम्बिङ’ मार्ग २.३ किमी र बाँकी सडक दुई लेनको हुने छ ।

शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाख रुपियाँमा यस खण्डमा स्तरोन्नतिको काम गरिरहेको छ । सडकका विभिन्न क्षेत्रमा कालोपत्रेसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । विश्व बैङ्कको सहयोगमा बनाउन लागिएको यो सडक काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको छ । घोप्टेभिरको भित्ता काटिएपछि सो क्षेत्रमा सडक विस्तारको कामले अब तीव्रता पाउने कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।