• २६ चैत २०८२, बिहिबार

चैतको वर्षाले बैतडीमा विद्यार्थी र किसानलाई सास्ती

blog

माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर पानीमा रुझ्दै–भिज्दै घर फर्किरहेका विद्यार्थीहरू। तस्बिर : केशवराज भट्ट

केशवराज भट्ट
वासुलिङ, बैतडी, चैत २६ गते ।
चैतको वर्षाले सुदूरपश्चिम, विशेषगरी बैतडीमा जनजीवन प्रभावित भएको छ। विद्यार्थी वर्षामा भिज्दै परीक्षा केन्द्र पुग्न बाध्य छन् भने गहुँ–जौ बाली थन्क्याउने बेला किसान चिन्तित बनेका छन्।

बसन्त ऋतुमा डाँडापाखा रङ्गीचङ्गी फूलले ढकमक्क हुने, गुराँस, प्याउली, शिमललगायत फूलहरूले पहाड सजिने र कोइलीको मधुर स्वरले वातावरण उमङ्गित बन्ने समय हो। तर यस वर्ष त्यो दृश्य केही फरक बनेको छ। चैत महिना सकिन लाग्दासमेत फूल राम्ररी फुलेका छैनन् भने वर्षा र चिसोले कोइलीको मधुर भाका पनि रोकिएको छ।

पछिल्ला दुई महिनामा नौ पटकसम्म निरन्तर वर्षा परेको छ। यही वर्षा र चिसोले जनजीवन प्रभावित बनेको हो। माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका विद्यार्थीहरूका लागि यो वर्षा झन् चुनौतीपूर्ण बनेको छ। बिहानै उठेर सरसफाइ, चिया–नास्ता गरी परीक्षा केन्द्र पुग्ने उनीहरू वर्षा र चिसो सहेर केन्द्र पुगेका छन्। दशरथचन्द–२ स्थित गुरुखोला परीक्षा केन्द्रकी दीपिका बिष्टले भन्नुभयो, “पुस–माघ जस्तै कठ्याङ्ग्रिने चिसो छ, कापीमा लेख्नै गाह्रो भयो।”

सुर्नया–२ बाट बिहानै हिँड्नुपर्ने भएकाले वर्षाले बाटो अझ कठिन बनेको छ। सूर्नया–१ का अशोक चन्दले अत्यधिक चिसोका कारण हिँडडुल असहज भएको बताउनुभयो। उहाँले यस्तो मौसममा सवारीको व्यवस्था भए सहज हुने भए पनि परीक्षा दिनैपर्ने बाध्यता रहेको सुनाउनुभयो।

किसानका लागि पनि निरन्तर वर्षा चिन्ताको विषय बनेको छ। पाटन–४ का गणेश महराले भन्नुभयो, “यो वर्षभरिको अन्न भित्र्याउने समय हो, तर वर्षाले रोकिदियो। प्रकृतिको अगाडि मान्छेको के लाग्छ र!”

कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार सामान्यतया औसत रूपमा चैतको अन्तिम सातादेखि वैशाख महिनासम्म पहाडी क्षेत्रका गहुँ, जौ, मसुरो, मटर र लाही भित्र्याउने समय हुन्छ। तर यस वर्ष निरन्तर वर्षाले बाली भित्र्याउन कठिनाइ सिर्जना गरेको छ। यद्यपि हिउँदे बाली, उखु, आलु र फलफूलका लागि भने यो वर्षा उपयोगी भएको उहाँले बताउनुभयो।

भिजेका विद्यार्थी र थन्किएका गहुँका बालीका यी दृश्यले बैतडीको बसन्तलाई यस वर्ष केही मौन र संवेदनशील बनाएको छ। फूलहरू रङ्गीचङ्गी नदेखिए पनि वर्षाले ल्याएको चुनौती र संघर्षले जीवनका विभिन्न पक्ष जोडिएको गहिरो कथा सुनाइरहेको छ।