• २६ चैत २०८२, बिहिबार

‘तीन तहको सरकारबिच सहकार्य आवश्यक’

blog

बागमती प्रदेशको १७ औँ अधिवेशनमा बोल्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ।

मकवानपुर समाचारदाता

मकवानपुर, चैत २६ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समन्वय, सहकार्य र सहअस्तित्व नै गणतन्त्रको मूल मर्म भएको बताउनुभएको छ । 

बागमती प्रदेश सभाको १७ औँ अधिवशेन सुरु भएको पहिलो बैठकमा बोल्दै उहाँले समृद्धिका लागि तीन तहको सरकारबिच समन्वय सहकार्य आवश्यक भएको बताउनुभयो । मुख्यमन्त्री बानियाँलेले सङ्घीय सरकारसँग सहकार्य गरेर सङ्घीयतालाई बलियो बनाउन र जनताका आकाङ्क्ष पूरा गर्न तयार हुनुपर्ने भन्दै यसका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो । 

उहाँले वर्तमान सङ्घीय सरकार सङ्घीयताप्रति पूर्ण प्रतिबद्ध रहेको र प्रदेशले पाउनुपर्ने संवैधानिक अधिकार अब छिट्टै प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । वर्तमान सङ्घीय सरकार र प्रधानमन्त्रीको सङ्घीयताप्रतिको सकारात्मक सोचका कारण प्रदेश सरकार अब अधिकार सम्पन्न हुने बताउनुभयो । 

“संविधानमा व्यवस्था भएको र अहिलेसम्म प्रदेशले पूर्ण रूपमा उपयोग गर्न नपाएका अधिकार अब तीव्र गतिमा पाउने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो, “वर्तमान सङ्घीय सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेकाले अब प्रदेशका अधिकार पाउनेमा विश्वस्त छौँ ।”

बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका नेता शालिकराम जम्कट्टेलले सरकारले रातो किताबमा परेका योजनाको बजेट कटौती गरेर रकमान्तर गरेकोप्रति विरोध जनाउनुभयो ।  उहाँले सरकारले विधि र प्रक्रिया मिचेर काम गर्दा प्रदेशको प्रशासनिक संयन्त्रमा समस्या देखिएको बताउनुभयो । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले सबैले विधिको शासनलाई मान्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “कानुन र विधिको पालना नभएसम्म सुशासन सम्भव हुँदैन । संसद्ले पास गरेको बजेट र योजनालाई मन्त्री परिषद्ले काट्ने वा हेरफेर गर्नु ठिक नभएको भन्दै उहाँले हिजो मूल्यवृद्धि नियन्त्रण गर्ने प्रतिबद्धतासहित सत्तामा गएकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको बताउनुभयो । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि सरकारले प्रतिशोधपूर्ण ढङ्गले कारबाही अघि बढाएको आरोप लगाउनुभयो ।