• १३ साउन २०८१, आइतबार

पहिलाे होमस्टे सिरुबारीले रजत जयन्ती मनाउँदै

blog

आँधीखोला गाउँपालिका १ मा रहेको सिरुबारी । तस्बिर– अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, माघ २९ गते । दक्षिण एसियाको पहिलो नमूना सामुदायिक होमस्टे शिरूबारीले रजत जयन्ती मनाउने तयारी गरेको छ । पहिलाे नमूना हाेमस्टे भएकाले पनि यस गाउँकाे सुन्दर तस्बिर हुलाक टिकटमा समेत अङ्कित छ ।  

वि.सं. २०५४ सालमा स्थापना भएको ग्रामीण पर्यटकीय गाउँ सिरुबारी होमस्टेले यहि फागुन ५ गते र ६ गते २५ औँ वर्षगाँठको उपलक्ष्यमा रजत वर्ष मनाउने तयारी गरेको शिरुबारी पर्यटन विकास समितिका अध्यक्ष जितेन्द्र गुरुङले बताउनुभयो ।  

रजत जयन्तीमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुधन किराती, गण्डकी प्रदेश सरकारका मन्त्रीलगायत रजत वर्षमा आमन्त्रण गरिएको पर्यटन समितिले जानकारी दिएको छ । 

स्वदेशी तथा विदेशी पाहुनालाई गाउँमा भित्राएर गुरुङ सभ्यता तथा संस्कृति विश्वभर प्रचारप्रसार गर्नुको साथै गाउँलाई आर्थिकरुपमा समृद्ध बनाउने सोचमा क्याप्टेन स्व. रुद्रमान गुरुङले स्थापना गर्नुभएको थियो ।

२०३५ सालमा होमस्टेको अवधाारण अगाडि सार्नुभएका स्व. गुरुङले सबै पूर्वाधार बनाएर १९ वर्षपछि विधिवत रुपमा सञ्चालनमा आएको थियो । 

प्रकृतिको सुन्दरताले भरिएको सिरुबारी समुद्र सतहबाट एक हजार छ सय मिटरको उचाइमा रहेको भने पोखराबाट सिद्धार्थ राजमार्ग हँुदै २० किलोमिटर दक्षिण नागडाडाँबाट १५ किलोमिटर पश्चिमतिर यात्रा गरेपछि पुगिन्छ । 

पवित्र तीर्थस्थल डहरे देउराली पहाड र स्याङ्जा जिल्लाकै अग्लो थुम्रो पहाडको काखमा सिबरुबारी गाउँ रहेको छ भने थुम्रोमा पर्यटक भित्राउनका लागि भ्यूटावर पनि निर्माण गरिएको छ । 

टावरबाट अन्नपूर्ण, धवलागिरि, माछापुच्छ्रे जस्ता हिमाल र पोखरा, पाल्पाको श्रीनगर डाँडाको मनमोहक दृश्य देखिने गर्दछ । यहाँ पाहुना वा लाहुरे घर बिदामा आउँदा, विवाह, व्रतबन्धमा फूलमालाले स्वागत गर्दै बाजा बजाएर रमाइलो गर्ने प्रचलन छ । 


यहाँ पाहुनालाई सिरुबारी गाउँको बारेमा जानकारी गराएर राति घाटु, सोरठी, सालैजो, झोडा, भ्याउरे, भदौरे भाका, भजन चुड्का जस्ता सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने प्रचलन छ ।

गुचुमुच्च परेका ढुंगाले छाएको घर, ढुंगाको आँगन, ढुंगाको पर्खालको कलात्मकताले सिरुबारी जाने हरेक पर्यटकलाई लोभ्याउने गर्दछ । 

यहाँ बुद्ध धर्म मान्नेको बाहुल्यता रहे पनि हिन्दु धर्मप्रति समान आस्था रहेको छ । गाउँको मुख्य पेसा कृषि र पशुपालन भए तापनि अधिकांश युवा भारतीय र बेलायती सेना तथा वैदेशिक रोजगारका लागि खाडी तथा युरोपमा रहेका छन् । 

आँधीखोला गाउँपालिका १ पञ्चमूलमा ४३ घरहरुबाट शुरुवात भएको होमस्टेमा अहिले अहिले २२ घरधुरीले सेवा दिइरहेको समितिका अध्यक्ष गुरुङले बताउनुभयो । 

सिरुबारीले राष्ट्रिय घरेलु उद्यमी पुरस्कार २०४७, राष्ट्रिय युवा वन पुरस्कार २०५०, राष्ट्रिय वन पुरस्कार २०५२, पहाडी क्षेत्र विकास पुरस्कार (एक लाख) २०६२ जस्ता सम्मान तथा पुरस्कार पाएको छ ।