• १६ असार २०८१, आइतबार

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न

blog

जयकृष्ण यादव 

इनरुवा, माघ २५ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तरगत वैदेशिक रोजगारका कामदारहरूलाई सामाजिक बहिष्करण प्रभाव न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत सरोकारवालाहरूको उपस्थितिमा कामदारहरूलाई सामाजिक बहिष्करण प्रभाव न्यूनीकरण सम्बन्धी अभिमुखीकरण गर्दै मर्यादित, व्यवस्थित र प्रभावकारी सम्बन्धका लागि एकअर्काले योगदान गर्नुपर्नेमा जोड दिएको छ । 

कार्यक्रममा वैदेशिक रोजगारीले पारेका राम्रा र नराम्रा प्रभावहरूको बारेमा छलफल गरिएको छ । कार्यक्रममा सामीका जिल्ला संयोजक धिरज भट्टराईले सुरक्षित आप्रवासन कार्यक्रम नेपाल सरकार र स्विस सरकारबीचको द्विपक्षीय कार्यक्रम भएको र यसले खेलेको भूमिका तथा प्रभाव र असरका बारेमा जानकारी दिनुभयो ।

यो कार्यक्रम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको रूपमा भोक्राहा नरसिंह गाउँपालिकाको सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन सामी अन्त्रगतको अभिमुखीकरण गरिएको बताउनुभयो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउँदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसरहरू सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरी भविष्यमा सहज जीविकोपार्जन गर्ने गराउने र सामाजिक रूपमा सम्मानित भएर बाच्ने आधार तयार पार्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रशिक्षक भट्टराईले बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसको भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहालले वैदेशिक रोजगार रहर नभएर बाध्यता भएकाले उनीहरूलाई सुरक्षित र व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभयो । 

नेकपा एमालेका रामकुमार मेहता र हेमनारायण मण्डलले सामाजिक रूपमा लगाइने लाञ्छनालाई न्यूनीकरण गर्ने कार्य यस प्रकारका अभिमुखीकरण गर्ने बताउनुभयो । 

भोक्राहा नरसिंह गाउँपालिकाका रोजगार शाखा प्रमुख शोभा मेहताले जिल्ला प्रशासन कार्यालयसँगै रहेको आप्रवासी सूचना तथा स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी परामर्श, वैदेशिक रोजगारीको सिलसिलामा ठगिएकाहरूलाई निःशुल्क कानुनी सेवाको लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका, मृत्यु भएकाहरूलाई क्षतिपूर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण गर्ने विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतको काम भइरहेको जानकारी दिनुभयो ।

त्यस्तैगरी, वैदेशिक रोजगारीकै कारण सिर्जित मनोसामाजिक समस्या भएकालाई परामर्श सेवा पनि दिइरहेको मेहताले जानकारी दिनुभयो । मेहताले गाउँपालिकामा सबै वैधानिक तरिकाबाट गएकाहरूको पक्षमा छिटोछरितो र प्रभावकारी काम गर्दै आएको बताउनुभयो । 

उहाँले वैदेशिक रोजगारका क्रममा घाइते, अङ्गभङ्ग र मृत्यु भएकाहरूको हकमा समेत गाउँपालिकाले गरेको काम तथा गाउँपालिकाको भूमिकाका बारेमा माइकिङ गर्ने काम समेत थालेको बताउनुभयो । 

भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराँव, वडाअध्यक्षहरु, प्रधानाध्यापकहरू समेतको उपस्थिति रहेको थियो ।