• १३ साउन २०८१, आइतबार

सडकमा जिउँदा कुखुरा र अण्डा फ्याकेर प्रदर्शन

blog

सडकमा जिउँदा कुखुरा र अण्डा फ्याकेर प्रदर्शन हुँदै । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, माघ २४ गते । झापाका केही कुखुरापालक तथा अण्डा उत्पादक किसानले स्वतःस्फूर्त रूपमा बिर्तामोडको मुक्तिचोकमा जिउँदो कुखुरा र अण्डा फ्याकेर विरोध प्रदर्शन गरेका छन् । कुखुरा सडकमा फ्याल्दा केही कुखुरा मरेका छन् । सडकमा कुखुरा र अण्डा फ्यालिँदा केही समय सडक अस्तव्यस्त बनेको थियो ।

बैङ्कको ब्याज समेत तिर्न नसक्ने अवस्था आएको र बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत भारतबाट अवैध रूपमा कुखुरा तथा अण्डा आउने क्रम नरोकिएको किसानको भनाइ छ ।

कुखुरापालक अगुवा किसान देवेन्द्र प्रसाईँका अनुसार कसैको ध्यान नगएकाले आफ्नो उत्पादन सडकमा फ्याकेर विरोध जनाएको बताउनुभयो । सडकमा नआएसम्म कसैको ध्यान नजाने रहेछ, त्यही भएर आफ्नो जे उत्पादन छ त्यहीँ लिएर सडकमा आएका हौँ, उहाँले भन्नुभयो ।

सहभागी किसानले बिचौलियाका कारण आफूहरूको उत्पादन बजारमा जान नसक्ने अवस्था आएको र जाँदा पनि उत्पादन मूल्य समेत नपाएको गुनासो गरेका छन् । प्रतिगोटा ७ देखि ८ रुपियाँमा आफूहरूसँग किनेको अण्डा व्यापारीले १५ रुपियाँसम्म लिएर बिक्री गरेको बताइन्छ ।