• १३ साउन २०८१, आइतबार

पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुने

blog

गोकुल पराजुली

विराटनगर, माघ २४ गते । पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न सरकारले बाटो खोलिदिएको छ । कलेजले आफ्नो छुट्टै अस्पताल सञ्चालन नगरेसम्म विराटनगरको कोसी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्ने सुविधा दिने मन्त्रिपरिषद्को निर्णयसँगै मेडिकल कलेज सञ्चालन गर्ने बाटो खुलेको हो । 

पूर्वाञ्चल विश्वविद्यालय र कोसी अस्पतालबीच २०७८ माघ ५ गते शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने सम्झौता भएको थियो । उक्त सम्झौतालाई सङ्घीय सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको हो ।

सम्झौता स्वीकृत भएसँगै आउँदो चैत मसान्तसम्ममा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सबै तयारी सम्पन्न गर्ने विश्वविद्यालयका सिनेट सदस्य तथा राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीले जानकारी दिनुभयो । 

मेडिकल कलेज सञ्चालन गर्न तीन सय शैय्याको शिक्षण अस्पताल हुनुपर्ने र त्यस्तो अस्पताल तीन वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था चिकित्सा शिक्षा ऐनले गरेको छ । तर पूर्वाञ्चल विश्वविद्यालयसँग भवनलगायत आवश्यक पूर्वाधार भए पनि अस्पताल सञ्चालन गर्न नसक्दा मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्य अगाडि बढ्न सकेको थिएन । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कोसी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने समझदारीलाई स्वीकृति प्रदान गरेपछि बाँकी प्रक्रिया द्रुतगतिमा अगाडि बढाउने विश्वविद्यालयले जनाएको छ । 

सिनेट सदस्य तथा राष्ट्रिय सभाका सांसद अछामीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता गरेर तत्कालै शिक्षक दरबन्दी खुलाउने जानकारी दिनुभयो ।

‘अब त्रिपक्षीय सम्झौता हुन्छ, त्यसपछि चिकित्सा शिक्षा आयोगले मेडिकल कलेज सञ्चालन गर्ने अनुमति दिँदै विद्यार्थी कोटा निर्धारण गर्छ,’ अछामीले भन्नुभयो, ‘कोटा निर्धारण गरेपछि शिक्षक तथा कर्मचारीको व्यवस्थापन गर्ने तथा अन्य प्रशासनिक तयारी गर्ने काम चैत मसान्तसम्ममा सक्ने गरी विश्वविद्यालयले कामलाई अगाडि बढाउँछ ।’

विश्वविद्यालयसँग अहिले पनि ४० जना विद्यार्थीलाई अध्ययन गराउन आवश्यक पर्ने  संरचना तयारी अवस्थामा रहेको अछामीले जानकारी दिनुभयो । विश्वविद्यालयको उपकुलपति प्रा.डा. यादवराज कोइरालाले पनि अब त्रिपक्षीय सम्झौतापछि मेडिकल कलेज सञ्चालनको काम अगाडि बढ्ने बताउनुभयो । ‘एमबिबिएसको लागि भवन तयार छ । शिक्षक दरबन्दी खुलाएर अर्को सालबाट पठनपाठन गर्ने गरी अगाडि बढ्छौँ,’ उहाँले भन्नुभयो । 

निर्वाचनको बेला गरेको प्रतिबद्धता कार्यान्वयन गर्न सो क्षेत्रबाट निर्वाचित सांसदहरू सुनिल शर्मा, जीवन आचार्य, राष्ट्रियसभा सदस्य गोपीबहादुर अछामीलगायतले निरन्तर विश्वविद्यालय सञ्चालनको वातावरण तयार पार्न पहल गर्नुभएको थियो ।

परिणामस्वरूप सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोसी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयप्रति यस क्षेत्रका स्थानीयले खुसी व्यक्त गर्दै सामाजिक सञ्जालहरूमा सरकारको निर्णयको प्रशंसा गरेका छन् । 

लामो समयदेखिको चुनावी एजेण्डा बन्दै आएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको विषयमा गत निर्वाचनमा वर्तमान प्रधानमन्त्री प्रचण्डले पनि यस क्षेत्र आएर प्रतिबद्धता जनाउनुभएको थियो ।