• ८ मंसिर २०८१, शनिबार

आयोडिनकाे मात्राबारे पुनरवलोकन हुँदै

नेपाली खानपिनमा आयोडिनको मात्रा मापदण्डभन्दा बढी

blog

काठमाडौं, माघ २४ गते । सरकारले आयोडिनकाे मात्रा प्रयोग गर्ने विषयमा पुनरवलोकन गर्ने भएको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले कति आयोडिन प्रयोग गर्ने भन्ने विषयमा पुनरवलोकनका लागि छलफल भइरहेको बताउनुभयो । 

नेपाल सरकारले सन् २०१६ मा गरेको माइक्रो न्युट्रियन्ट सर्भेमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा नेपाली खानामा आयोडिनको मात्रा बढी देखिएको थियो । 

सो सर्भेले ४० पीपीएमभन्दा बढी आयोडिन खानेको जनसङ्ख्या ६७ प्रतिशत रहेको देखाएको थियो । चिकित्सकले आयोडिनको मात्रा बढी भएर हाइपर थाइराइराडिजम (आयोडिन शरीरमा बढी भएर हुने रोग) समस्या बढेको दाबी गर्दै आएका छन् । 

त्यसैले, स्वास्थ्य मन्त्रालयले ती विभिन्न रिपोर्टको आधारमा नुनमा आयोडिन मिसाउने कुरामा पुनरवलोकन गर्नुपर्छ भनेर प्रस्ताव गरेको थियो । 

कृषि मन्त्रालयको कृषि सेवा २०२३ को ऐनले खाद्यान्नको स्तरीकरण गर्ने उद्देश्यले स्टान्डराइजेशन कमिटी गठन गरेको छ । कृषि मन्त्रालयको सचिवको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिवस्तरीय समितिले नुनमा आयोडिनको मात्रा कति मिसाउने भन्ने विषयमा छलफल चलेको थापाले जानकारी दिनुभयो ।  

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले दैनिक ५ ग्रामभन्दा थोरै नुन खानुपर्ने सिफारिस गरेको छ । नेपालमा औसतमा पुरुषले दैनिक ९ दशमलव ६ ग्राम र महिलाले ८ दशमलव ७ ग्राम नुन खाने गरेको उक्त अनुसन्धानले देखाएको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सन् २०१९ अनुसन्धान अनुसार नेपालीले औसतमा दैनिक ९ दशमलव १ ग्राम नुन खाने गरेको देखाएको छ ।  

खानालगायत विभिन्न बजारमा प्याक गरेका खानेकुरा खाँदा नेपालीले धेरै नुन खाएको हुनसक्ने धेरैको अनुमान छ । 

आयोडिनका फाइदा 

पोषणविद् प्राडा उमा कोइरालाका अनुसार मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई विभिन्न पोषणतत्वहरुको आवश्यकता पर्दछ । यीमध्ये, आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो ।

सबै उमेरका मानिस तथा जीवजन्तुलाई उति नै मात्रामा आयोडिन आवश्यक पर्छ । आयोडिनले पाचन प्रक्रिया, शरीरमा शक्तिको प्रयोग गर्न, कोशिकाहरुको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्न, शरीरको दैनिक प्रक्रिया सुचारु राख्न महत्वपूर्ण भूमिका खेल्ने डा. कोइराला बताउनुहुन्छ । 

पोषणविद् कोइरालाका अनुसार आयोडिन सामान्यतया माटोमा पाइन्छ । प्राकृतिक झर्नाको पानीमा, सामुद्रिक पानीमा आयाेडिनको मात्रा पाइन्छ । 

सीमित वयस्कहरुले दैनिक रुपमा पाँच ग्राम, बालबालिका १२ महिना पूरा भएपछि बढीमा २ ग्राम नुन दिनभरको खानामा प्रयोग गर्न सक्छन् । 

गर्भवती महिलाले दैनिक रुपमा आयोडिन नुनको सही मात्रामा पाँच ग्रामभन्दा कम खाएमा उनीहरुबाट जन्मेका शिशुको दिमागको विकास राम्रो हुने अधिकारीको भनाइ छ । 

विभिन्न अध्ययनमा आयोडिनको कमीबाट गर्भमा बच्चा तुहिने, मृत बच्चा जन्मने, मानसिक स्थिति ठिक नभएको र सुस्त मनस्थिति भएको बच्चा जन्मिने देखिएको छ । बालबालिका १२ महिना भएदेखि खानामा अलिअलि आयोडिनयुक्त नुन खुवाएमा बालबालिकाको मानसिक तथा शारीरिक विकास भएर बच्चा चलाख हुन सक्छ । 

डा. कोइरालाका अनुसार किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक क्षमतामा वृद्धि हुन्छ, पढाइका साथै अन्य क्रियाकलापमा पनि सकारात्मक असर पर्छ । 

आयोडिनले सही मात्राले मानिसको मानसिक तथा शारीरिक विकास राम्ररी हुनुका साथै गलगाँड तथा हाइपोथरोइडजम् जस्ता समस्या हुनबाट बचाउँछ । 

शरीरमा आयोडिनको मात्रा धेरै भएमा घाँटी, पेट पोल्ने, ज्वरो आउने, वाकवाकी लाग्ने, पखाला लाग्ने, नाडीहरु कमजोर हुने, आयोडिनको मात्रामा धेरै भएमा 'कोमा'मा समेत जान सक्ने डा. काेइराला बताउनुहुन्छ । 

विभिन्न देशमा गरिएका अध्ययनले आयोडिनयुक्त नुन हालेर खाना पकाउँदा ३० देखि ७० प्रतिशत आयोडिन नष्ट हुने गरेको देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनको न्युट्रिशन युनिटको मापदण्डअनुसार मानिसलाई कम्तीमा २५ देखि ५० पिपिएम आयोडिन अनिवार्य चाहिन्छ । 

अहिले नुनका प्याकेटहरुमा उत्पादन हुँदा कम्तीमा ५० पीपीएम, पसलसम्म आइपुग्दा कम्तीमा ३० प्रतिशत र भान्सामा प्रयोग हुने अवस्थासम्म पुग्दा कम्तीमा १५ पीपीएम हुनुपर्ने विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड छ ।




Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।