• १३ साउन २०८१, आइतबार

ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना

blog

ताप्लेजुङ भ्रमणमा आउनुभएका प्रदेश मन्त्री जीवन आचार्यलगायतको टोली पाथीभरामा । तस्बिर: चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २३ गते । प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । प्राकृतिक भू–बनावट, अनुपम जैविकतासँगै यहाँको धार्मिक पर्यटकीय स्थललगायतले ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना रहेको मन्त्री आचार्यले बताउनुभयो । 

प्रदेश १ को पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएपछि पहिलो भ्रमणका क्रममा ताप्लेजुङ आउनुभएका आचार्यले प्रचुर सम्भावना भएर पनि विकास र प्रवर्धनमा भने पछि परेकाप्रति दुःख व्यक्त गर्नुभयो । आइतबार प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन तथा भ्रमण गर्नुहुँदै मन्त्री आचार्यले ताप्लेजुङको पर्यटन विकासका लागि आफूले गर्ने पहलमा कमी हुन नदिने बताउनुभयो । 

प्रदेशसभा सदस्य निर्वाचित भएको मोरङ जिल्ला भए पनि मन्त्री प्रदेश १ को भएकाले पर्यटनका लागि जहाँ प्रसस्त सम्भावना तथा स्रोत छ, त्यहाँ आफ्नो ध्यान र पहल रहने उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारका तर्फबाट मन्त्री भएको हैसियतले यहाँको पर्यटन विकास र प्रवर्धनका लागि आफूले पहल गर्ने बताउनुभयो । सम्बन्धित जिल्लाका तर्फबाट स्थानीय सरकार, राजनीतिक दलका नेतृत्वले अलि बढी जोड गर्नुपर्ने बताउनुभयो । 

सङ्घीय सरकारमा पर्यटन मन्त्रालयको नेतृत्व अर्थात् मन्त्री नेकपा (माओवादी केन्द्र) कै भएकाले पर्यटन विकासको योजनामा पहल गर्न सहज रहेको उहाँको भनाइ छ । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री आचार्यले ताप्लेजुङको पर्यटन विकास गर्न सङ्घीय सरकारसँग आफूले समन्वय गर्ने पनि बताउनुभयो । 

उहाँले पर्यटनको प्रचुर सम्भावना भएर पनि हालसम्म ओझेलमा परेको पर्यटकीय गन्तव्यहरुको विकास र प्रवर्धन गर्न आवश्यक योजना पेश गर्न स्थानीय सरकार तथा पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । यहाँ अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालबाहेक असङ्ख्य झरना, तालतलैया, धार्मिक स्थलजस्ता पर्यटकीय गन्तव्य रहेको आफूले सुनेकाले ती गन्तव्यहरुको प्रवर्धन गरी पर्यटन विकास गर्न सकिने उहाँले बताउनुभयो । 

पर्यटन विकासका लागि विभिन्न पूर्वाधार निर्माण गर्नुपर्ने, संरचना निर्माण गर्नुपर्ने र दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यक हुने भएकाले सबै पक्ष एकजुट भएमा मात्र सम्भव हुने पनि उहाँले बताउनुभयो । कुनै निश्चित स्वार्थ, लोभ र प्रलोभनमा परेर विकास योजना तथा पूर्वाधारमाथि अवरोध पु¥याएमा विकासले गति लिन नसक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ ।