• २१ पुस २०८१, आइतबार

पर्यटनका लागि साहसिक साइकल दाैड

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, माघ २२ गते । ओखलढुङ्गामा पर्यटन प्रवर्धनका लागि पहिलो पटक साहसिक साइकल दाैड प्रतियोगिता गरिएको छ । जिल्लाको सदरमुकाम बजार क्षेत्रमा पर्यटन प्रवर्धनका लागि साइकल दौड प्रतियोगिता गरिएको हो । प्रतियोगितामा देश तथा विदेशका गरी ६२ जना प्रतियोगी सहभागी हुनुभएको थियो । 

चार विधामा प्रतिस्पर्धा गराइएको आयोजक ओखलढुङ्गा जिल्ला साइक्लिङ सङैघका अध्यक्ष राम शाक्यले बताउनुभयो । इलिट पुरुष, इलिट महिला, मास्टर ए, बी र जनियर विधामा साइकल दौड प्रतियोगिता गराइएको शाक्यको भनाइ छ । 

इलिट पुरुषतर्फ २५ जनाले भाग लिएका थिए । प्रतियोगितामा क्रिस्टोफर अशोक केलिङ्ग प्रथम, निरव श्रेष्ठ दोस्राे र प्रचित थापा मगर तेस्राे हुनुभएको छ । उहाँहरुले क्रमशः ४ मिनेट ११ सेकेन्ड,४ मिनेट १७ सेकेन्ड र ४ मिनेट १८ सेकेन्डमा ३ पोइन्ट २ किलोमिटरको दूरी पार गर्नुभएको थियो ।

इलिट महिलातर्फ ५ जनाले भाग लिनुभएकोमा निश्मा श्रेष्ठ प्रथम, अन्जा क्यामेनजिन दोस्राे र लक्ष्मी मगर तेस्राे हुनुभएको छ । श्रेष्ठ, क्यामेनजिनले ५ मिनेट ८ सेकेन्ड र मगरले ५ मिनेट २२ सेकेन्डमा उक्त दूरी पार गर्नुभएको थियो ।  


मास्टर ए तर्फ ८ जनाले भाग लिएकोमा उमङ्ग श्रेष्ठ प्रथम, सन्तोष राई दोस्राे र मनोज श्रेष्ठ तेस्राे हुनुभएको छ । उहाँहरुले क्रमश ४ मिनेट ५० सेकेन्ड, ४ मिनेट ५२ सेकेन्ड र ५ मिनेट १ सेकेन्डमा दूरी पार गर्नभएको थियो । मास्टर बी तर्फ पनि ८ जनाले भाग लिनुभएको थियो । जसमा अनुप गुरुङ प्रथम, जोनाथन स्टुड दोस्राे र विकास महर्जन तेस्राे हुनुभएको छ । गुरुङले ४ मिनेट ४६ सेकेन्डमा तोकिएको दूरी पार गर्नुभएको थियो भने स्टुडले ४ मिनेट ५१ सेकेन्ड र महर्जनले ४ मिनेट ५२ सेकेन्डमा उक्त दूरी पार गर्नुभएको थियो । 

जुनियर (१८ वर्षभन्दा मुनि) को प्रतियोगितामा ११ जना सहभागि थिए । विपुल थापा प्रथम हुने, अनिस तामाङ दोस्राे र श्रीनेश श्रेष्ठ तेस्राे हुनुभएको छ । थापाले ४ मिनेट २९ सेकेन्डमा, तामाङले ४ मिनेट ४२ सेकेन्ड र श्रेष्ठले ४ मिनेट ५८ सेकेन्डमा उक्त दूरी पार गर्नुभएको छ । शनिबार सम्पन्न प्रतियोगिताको चार विधाका विजेतालाई दुई लाख पुरस्कार प्रदान गरिएको शाक्यको भनाइ छ । 

सिद्धिचरण नगरपालिका ११ झाँक्रीढुङ्गादेखि १२ नम्बर वडाको गणेश टोलसम्म गरी तीन पोइन्ट दुई किलोमिटरको दूरीमा साइकल दौड प्रतियोगिता गरिएको थियो । रमाइलो डाँडाको पुरानो बजारको बाटो, हुलाकटोलबाट गणेशटोलसम्मको बजारको बाटो, गणेशटोलबाट भैरव टोल हुँदै हुलाक टोलसम्मको बजारको भित्री बाटो, डाँडाटोल कृष्ण मन्दिरको बाटो, हाटबजार लाग्ने बाटो हुँदै हुलाक टोलसम्मको बाटोमा साइकल दौड प्रतियोगिता भएको आयोजक संस्थाका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । 

यस प्रतियोगिताले नगरपालिकाको पर्यटन प्रवर्धनमा थप महत्वपूर्ण सहयोग पुगेको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताउनुभयो । प्रतियोगिताको सञ्चालनका लागि नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको मेयर खनालले जानकारी दिनुभयो । यसका साथै पर्यटन प्रवर्धनकै लागि सदरमुकामस्थित हुलाक डाँडादेखि स्रष्टा पार्कसम्म पर्यटकीय झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको मेयर खनालको भनाइ छ ।