• ३ असार २०८१, सोमबार

स्वास्थ्य बीमा फराकिलो बनाएर जनतामाझ लैजान्छौँ : स्वास्थ्य मन्त्री गिरी

blog

काठमाडौं, माघ २२ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझै फराकिलो बनाएर जनतामाझ लैजाने बताउनुभएको छ । भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसरमा बोल्दै मन्त्री गिरीले यस्तो धारणा राख्नुभएकाे हो । 

स्वास्थ्य बीमामार्फत जनताले अहिले १ लाख रूपियाँसम्मको उपचार खर्च पाइरहेका छन् । व्यापक रूपमा जनतामाझ यस कार्यक्रमलाई पु¥याउने विषयमा छलफल चलिरहेको बताउँदै उहाँले क्यान्सरलगायत जटिल रोगका बिरामीका लागि पनि उपचार खर्च पुग्नेगरी बिमाको दायरा बढाउने योजना सुनाउनुभयो । 


बीपी कोइराला क्यान्सर अस्पताल देशकै एउटा गौरव भएको मन्त्री गिरीले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “यसले धेरै मानिसलाई प्राण दिने काम गरेको छ । पूर्वदेखि पश्चिमसम्मका मानिसको भरोसा यससँग छ ।” 

 रेडियोथेरापी सेवा धेरैलाई दिनसक्ने स्थितिमा अस्पताल पुगेको भन्दै मन्त्री गिरीले अझै दुईवटा उपकरण थप्न सके बिरामीहरुलाई सेवा दिन सहज हुने उहाँले बताउनुभयो । उपकरणको अभावमा बिरामीले उपचारका लागि दुई तीन महिनासम्म कुर्नुपर्ने अवस्था अन्त्य गर्न मन्त्रालयबाट नीतिगत रुपमा भूमिका खेल्ने उहाँले प्रतिबद्धता गर्नुभयो । 

स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने पक्षहरु धेरै रहे पनि बजेट अति न्यून भएकाले सिमित स्रोत र साधनलाई नै परिचालन गरेर काम गर्नुपर्ने बाध्यता भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “किड्नीको बिरामीको आफ्नै समस्या छ, मुटुरोगीको समस्या छ, क्यान्सरतिर आउँदा पनि यस्तै समस्या छ । अझै पनि गुणस्तरीय सेवा सबैलाई पुर्याउने कुरा चुनौतीपूर्ण छ । यसतर्फ मन्त्रालयको ध्यान जान्छ ।दुर्गमक्षेत्रका जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउने विषय मन्त्रालयको प्राथमिकतामा छ”


जनशक्ति र उपकरण वृद्धि गर्दै लैजाने र न्यूनतम स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्ने काम चुनौतीपूर्ण भए पनि यसलाई समाधान गर्दै जाने उहाँले प्रतिबद्धता गर्नुभयो । उहँले अस्पतालका सबै कर्मचारीहरुलाई पारदर्शी भएर काम गर्दै जनताको भरोसा र विश्वास जित्न आग्रह गर्नुभयो ।

हाँले भन्नुभयो, “नेपालको स्वास्थ्य क्षेत्रमा सुधार गर्ने अठोटका साथ म आएको छु । गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवा उपलब्ध भएन भने नेपालको भविष्य हुँदैन । स्वास्थ्य क्षेत्रमा जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सुधारको प्रयास गर्नेछौँ । यसमा सबैको साथ आवश्यक छ ।”