• ४ माघ २०८२, आइतबार

ठेक्का लागेको डेढवर्षसम्म पुल निर्माण सुरु भएन

blog

पविता पौडेल 

सैनामैना, माघ १९ गते । डेढ वर्षअघि ठेक्का पाएको मित्तल निर्माण सेवा, हेटौँडाले पुल निर्माण कार्य सुरु नगरेपछि बर्दघाटका स्थानीयलाई खजुरा खोलामा आवतजावतमा समस्या भएको छ । सो बेला पुल निर्माण गर्न एक करोड १५ लाख बजेट अनुमान गरिएको थियो । 


पुल बनाउन ठेक्का दिइसकेको बताउँदै नक्सा तयार पारी निर्माण प्रक्रिया यसै वर्षदेखि सुरु हुने वडा नं १६ का अध्यक्ष भिमकाजी गुरुङले बताउनुहुन्छ । सो खोलामा पक्की पुल नभए पनि हिउँदमा सवारी साधनको लागि अस्थायी बाटो बनाइएको छ। उक्त खोलामा पुल नबन्दा ५० हजार जनता प्रभावित छन् । उक्त क्षेत्रको मुख्य पर्यटकीय स्थल त्रिवेणी घाम जान पुल नहुँदा वर्षायाममा गोपीगञ्ज भएर जानुपर्छ । 


चुनावको बेला मात्र उठ्ने गरिएको पुल निर्माणको एजेन्डा ४० वर्ष पुरानो भइसकेको स्थानीयवासी राम थापाले बताउनुभयो । खजुरा खोलाले बर्दघाट नगरपालिकाको वडा  १५, १६, ५  तीन वटा वडालाई छोएर बग्छ। वर्षायाममा  खोला  बढेर विद्यालयका गाडी गाउँमा पुग्न नसक्दा खोला पारी वडा नं १६ का  विद्यार्थी  विद्यालय जान पाउँदैनन्। 


वडा १६  सूर्यनगरका विद्यार्थी सदीक्षा बस्नेतले खोलामा बाढी आउँदा गाउँमा विद्यालय जान नपाउँदा धेरै कोर्स छुटेको बताउनुभयो। पुल नबन्दा वर्षामा खोला तर्दा अहिलेसम्म तीन जनाको ज्यान गएको बताइएको छ ।