• १२ साउन २०८१, शनिबार

अनेरास्ववियुमा अध्यक्ष पदका आकांक्षी बढ्दै

blog

अध्यक्ष पदका आकांक्षी विद्यार्थी नेताहरू आरसी लामिछाने, लोकेश निरौला, समीक बडाल र मोती विक ।

काठमाडौं, माघ १८ गते । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको २३ औँ महाधिवेशन फागुन २, ३ र ४ गते काठमाडौंमा हुँदैछ । अनेरास्ववियुका नेताका अनुसार काठमाडौंको प्रज्ञा भवनमा सो कार्यक्रम आयोजना हुने तयारी छ । 

अधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्ष पदमा दाबी गर्नेको सङ्ख्या बढ्दैछ । हाल वरिष्ठ उपाध्यक्ष रहनुभएका आरसी लामिछाने अबको नेतृत्वमा आफू सर्वसम्मत निर्वाचित हुने दाबी गर्नुहुन्छ । तर उहाँ आफूलाई नेतृत्वमा आफ्नो दाबी नभएको बरु, भावी  अध्यक्षको रुपमा रहेको बताउनुहुन्छ ।

म 'वेटिङ' र सर्वसम्मत अध्यक्ष – लामिछाने

लामिछाने भन्नुहुन्छ, “यस अगाडिको पुनर्गठन प्रक्रियामा सर्वसम्मतकाे उम्मेदवार थिएँ । म अहिलेका सबै साथीहरुको सर्वस्वीकृत र सर्वमान्य नेतृत्व हुँ । अधिवेशनको हलबाट मलाई नै सर्वसम्मत गर्ने हो । म संगठनको वेटिङ अध्यक्षको रुपमा छु ।”

नेपालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियुले नेता संगठनको भूमिका निर्वाह गर्दै आएको भन्नुहुँदै यतिबेला विद्यार्थी आन्दोलन कुइराेकाे कागजस्तै भएको र समयसाक्षेप एजेण्डा समाउन नसकेको स्थिति उहाँले बताउनुभयो ।

यहाँको नेतृत्व नै किन भन्ने सन्दर्भमा उहाँले भन्नुभयो, “इतिहास कोट्याएर मात्रै भविष्य बोक्न सक्दैनौं । शैक्षिक क्रान्तिका लागि नयाँ विद्यार्थी आन्दोलनको जरुरी छ । संविधानको मौैलिक हक कार्यान्वयन गर्ने अभिभारासमेत हामीमा रहन्छ”, उहाँले भन्नुभयो ।

संगठनका सबै तहमा 'फस्ट म्यान'को अनुभव छ – निरौला

अध्यक्ष पद दाबी गर्नुभएका लोकेश निरौला सांगठनिक जीवनको संरचनाभित्र धेरै तहमा प्रमुख पदमा फस्टम्यान भएर संगठन सञ्चालन गरेको अनुभव सुनाउनुहुन्छ । यी सबै अनुभवका आधारमा आफ्नो दाबी रहेको उहाँको भनाइ छ ।

निरौला भन्नुहुन्छ, “क्याम्पस लेबल देखिको अध्यक्ष हुँ । संकाय तहको पनि अध्यक्ष भएँ, काठमाडौं क्याम्पस जिल्ला कमिटी, बागमती अञ्चल कमिटीको पनि सचिवालय सदस्य भएँ ।” २० औं राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य र संगठनका प्रमुख पदहरुमा काम गरेको अनुभव छ ।”

निरौला र लामिछानेबीच २० औं राष्ट्रिय महाधिवेशनअघि २०६७ सालमा भएको काठमाडौं क्याम्पस जिल्ला कमिटीको अध्यक्ष पदमा प्रतिस्पर्धा हुँदा निराैला निर्वाचित हुनुभएको थियो । यसैबीच, निरौला २०६२ सालमा बानेश्वर क्याम्पसमा भएकाे स्ववियु निर्वाचनमा नविना लामा सभापति हुँदा उहाँ उपसभापति हुनुभएकाे थियाे ।

अधिवेशन हुन नसक्दा तल्लाे तहका समितिमा 'जाम' : बडाल

हाल महासचिव रहनुभएका समिक बडाल पनि अध्यक्ष पदकाे लागि लड्ने तयारीमा हुनुहुन्छ । अनेरास्ववियुको लामो समय अधिवेशन हुन नसक्दा तल्लाे तहका समितिमा 'जाम' भएको स्थिति रहेको बडालले भन्नुभयो ।

२०६२ काे स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पसमा बडाल स्ववियु सदस्यमा निर्वाचित हुनुभएको थियाे ।

सबैले समर्थन गर्नुहुनेछ : विक

यस्तै, अध्यक्षका दाबी गर्नुहुँदै मोती विकले भन्नुभयो, “अरु बन्दा मान्छे बन्ने र म बन्दा समुदायको नेतृत्व हुने कुरा हो । अखिलको इतिहासमा सबैभन्दा तल्लाे तहदेखि नै राजनीतिक अधिकारसहित माथिल्लाे तहकाे नेतृत्वमा पुगेकाे व्यक्ति भएकाे हुँदा याे पटक सबैले समर्थन गर्नुहुनेछ ।”

“अखिलको ५७ वर्षे इतिहासमा दलित समुदायबाट पदाधिकारी हुने म पहिलाे व्यक्ति हुँ । अधिकारीका लागि लड्दा कुनै बेला ममाथि कारबाही हुन लाग्दा त्यसविरूद्ध सशक्त रूपमा प्रतिवाद गरेर अविचलित रूपमा यहाँसम्म पुगेकाे छु।”

नेतृत्वमा आ–आफ्नै दाबी गर्नुभएका विद्यार्थी नेताले अनेरास्ववियुको निर्वाचनपछि स्ववियु निर्वाचनको अभिभारा रहेकाे बताउनुभएकाे छ।

चैत ३ मा हुन गइरहेको मध्यपश्चिम विश्वविद्यालयको निर्वाचन र चैत ५ गते हुने त्रिवि स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने अभिभारा रहेकाे आरसी लामिछानेले बताउनुहुँदै अध्यक्ष भएपछि स्ववियुमा अधिकतम जित्ने गरी कार्यक्रम ल्याउने दाबी गर्नुभयाे ।

यस्तै, शैक्षिक आन्दोलन र अबको दिशा कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा लोकेश निरौलाले हुँदा खाने र हुने खानेबीचको शिक्षालाई समानतामा पुराउनुपर्छ, शिक्षालाई जीविकापार्जनको विषय बनाउनुपर्छ, भन्नुभयाे ।

राजनीतिक व्यवस्था परिवर्तन गर्न, राष्ट्रभक्ति आन्दोलनमा जोडिएको युवा शक्तिलाई अनेरास्ववियुमा आकर्षित गर्नुपर्छ, समिक बडाल बताउनुहुन्छ।

यता, मोती विकले शिक्षा नीतिमा जोड दिएर संगठनका गतिविधि अगाडि बढाइनुपर्ने धारणा राख्नुभयाे ।

मतदानमा विद्युतीय यन्त्र प्रयोग गर्ने तयारी 

संगठन विभाग प्रमुख रहनुभएका नारायण घर्तीलगायत भास्कर खनाल, सुदर्शन शिवाकोटी, नरेश रोकाया, गोविन्द गिरीलगायतको दाबी रहेको छ ।

घर्तीले भन्नुभयो, “हामी पाँचै जना उपमहासचिवको महासचिवकाे पदमा दाबी छ । सहमतिको प्रयास जारी रहे पनि सहमति हुन नसक्ने सम्भावना छ । मतदानमा विद्युतीय यन्त्र प्रयोग गर्ने सहमति भइसकेकाे छ।” 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।