भक्तपुर, माघ १८ गते । भक्तपुरको बलाछेँलाई अहिले कमैले उक्त नामले चिन्छन् । भक्तपुर नगरपालिका–४ स्थित परम्परागत माटाका भाँडा बनाउने प्रजापतीहरूको टोल नै अहिले ‘पोट्री स्क्वायर’ भइसकेको छ ।
ठाउँको नाम मात्र होइन प्रजापतीहरूले काम गर्ने तरिका पनि परिवर्तन भएको छ । सबैले परम्परागत हातेचक्र छाडेर विद्युतीय चक्रबाट माटाका भाँडा बनाउँछन् तर अरूभन्दा भिन्न ७९ वर्षीय एक जना एक्ला प्रजापती हुनुहुन्छ, जसले परम्परागत हातेचक्रलाई नै धानिरहनुभएको छ ।
प्रजापतीहरूको परम्परागत पेसा नै माटाका भाँडा बनाउने हो । कुमाले पनि भनेर चिनिने यो शिल्पीका आफ्नै परम्परागत ज्ञानयुक्त साधन छन् तर १३ वर्षको उमेरदेखि भक्तपुरको बलाछेँमा परम्परा धानिरहनुभएका ७९ वर्षीय ललित प्रजापती अहिले पनि लौराले चक्र घुमाउनुहुन्छ, हिलो खेलाउनुहुन्छ र काँचो माटोलाई विभिन्न आकार दिएर भट्टीमा पोलेर बजारमा बेच्नुहुन्छ । भक्तपुरको बलाछेँ र अन्य क्षेत्रमा परम्परागत चक्काबाट माटाका भाँडा बनाउने कला अहिले लोप भइसकेको छ । उहाँ भने नाङ्लोभन्दा केही ठूलो काठको चक्रका छेउमा बनाइएको प्वालमा काठको लौरो घुसारेर दुईदेखि तीन मिनेट जति घुमाउनुहुन्छ । त्यसपछि मुछेर नरम बनाइएको माटोलाई सोही घुमेकै चक्कामा राखेर हातले जुन सामान बनाउने हो सोही सामानको आकारमा ढाल्नुहुन्छ । ५० जना जति अन्य प्रजापतीहरूले भने चक्का घुमाउन विद्युत्को प्रयोग गर्ने गरेका छन् ।
नयाँ पुस्तालाई पुरानो प्रविधिको ज्ञान होस् भनेर आफूले पुरानै प्रविधिबाट माटाका भाँडा निर्माण गर्ने गरेको प्रजापती बताउनुहुन्छ । ललित प्रजापतीले भन्नुभयो, “अहिले भक्तपुरमा माटाका भाँडा बनाउने सबै क्षेत्रमा यस्तो परम्परागत चलन छैन, मैले मात्र पुरानो प्रविधिबाट बनाउने गरेको छु ।” भक्तपुरमा ‘पोट्री स्क्वायर’, दत्तात्रय, मध्यपुर थिमीमा माटाका भाँडा बनाइन्छन् । पुरानै प्रविधिबाट भाँडा बनाउन शारीरिक श्रम चाहिन्छ तर ८० वर्ष लाग्दै गर्दा पनि उहाँमा त्यो जोश छ । त्यसैले पनि उहाँले माटाका भाँडा बनाएको हेर्न पर्यटक, विभिन्न विद्यालय र विश्वविद्यालयका विद्यार्थी र सङ्घसंस्थाका मानिसको भीड पनि लाग्ने गरेको छ ।
पहिला उहाँ गमला, घैँटो, पाला, गाग्रो, खुत्रुकेलगायतका सामान बनाउनुहुन्थ्यो तर अहिले भने खुत्रुके मात्र बनाउनुहुन्छ । बजारमा अरू सामानभन्दा खुत्रुकेको माग धेरै भएकाले खुत्रुके मात्र बनाउन थालेको प्रजापतीले बताउनुभयो । उहाँले दैनिक ४० देखि ५० वटासम्म खुत्रुके बनाउनुहुन्छ । खुत्रुकेको आकारका आधारमा प्रतिखुत्रुके ३० देखि ४० रुपियाँ पर्छ ।
माटोकै समस्या
माटाका भाँडा बनाउन पहिलाजस्तो सजिलो छैन । समस्या कालीमाटीको छ । पहिला सूर्यविनायक नगरपालिका क्षेत्रमा नै सजिलै पाइने कालीमाटी अहिले सो क्षेत्रमा बस्ती बसिसकेकाले पाउन कठिन हुने गरेको एकीकृत हाकुज्या प्रजापति समाजले जनाएको छ ।
त्यसैले अहिले साँखु, गोकर्ण र हरिसिद्धिबाट कालीमाटी ल्याउनुपर्छ । ती ठाउँमा पनि माटो पाउन मुस्किल भइसकेको छ । एक खेप माटोको मूल्य नै १० हजारदेखि १२ हजार रुपियाँसम्म पर्दछ तर त्यतिको माटोबाट करिब एक लाख रुपियाँको सामान बन्ने गरेको हाकुज्या प्रजापति समाजका सदस्य मोहनप्रसाद प्रजापतीले बताउनुभयो । माटोको सामान बनाउन धेरै श्रम लाग्ने हुँदा खासै नाफा नहुने उहाँको भनाइ छ । त्यसैले नयाँ प्रविधिमा जाँदा पनि नयाँ पुस्ता परम्परागत पेसामा उत्साहित छैनन् । उहाँले भन्नुभयो, “माटोका सामग्री बनाउने काममा अहिले जबर्जस्तीबाहेक पुस्तान्तरण हुन सकेको छैन । सम्भव भएसम्म अन्य पेसामा लाग्ने र वैकल्पिक पेसा नभए मात्र माटोको काम गर्ने गरिएको छ ।”
माटोका भाँडा बनाउन बढी मेहनत गर्नुपर्ने, फोहोरसँग खेल्नुपर्ने, शारीरिक श्रम धेरै खर्चनुपर्ने तर माटाका भाँडाको बजारमा पनि पहिलेजस्तो नभएपछि नयाँ पुस्ताको आकर्षण हुन नसकेको समाजले जनाएको छ ।
जन्मदेखि मृत्युसम्म प्रयोग
माटाका भाँडाको प्रयोग मानव सभ्यताको युगदेखि अहिलेसम्म पनि उक्तिकै प्रयोगमा छ । प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपालमा भने माटाका भाँडाको प्रयोग जन्मदेखि मृत्युपर्यन्तका क्रियाकलापमा प्रयोग हुँदै आएको बताउनभुयो । उहाँले भन्नुभयो, “लुम्बिनी र कपिलवस्तुको उत्खननबाट पनि माटोका भाँडा इतिहास मानव सभ्यता सुरुदेखि नै प्रयोग गर्ने गरिएको पाइएको छ ।” माटाका भाँडा वातावरणीय र स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महìवपूर्ण हुन्छन्