• २३ कात्तिक २०८२, आइतबार

इतिहासको सम्मान

blog

कलाले इतिहास बोल्छ । इतिहासलाई कालान्तरसम्म जीवन्त बनाउन कलाको निकै महत्व छ । प्रस्तुत मूर्ति पनि इतिहासमा भएको घटनाको यथार्थ चित्रण हो । नेपाली स्वाभिमान र वीरताको अद्वितीय प्रतीक हो । यसमा तीन ऐतिहासिक पात्रलाई मूर्त रूप दिइएको छ । यसमा ७० वर्षे वीर सेनानी भक्ति थापा, वीर बलभद्र कुँवर र अर्का एक साधारण सिपाहीलाई देखाइएको छ । उनीहरू सबै युद्धका लागि तम्तयार भई हातमा ढाल, खुकुरी र तरबार लिएर अघि बढेका देखिन्छन् ।

कलाकारले यस कृतिमा केवल शारीरिक रूप मात्र उतारेका छैनन् बरु नेपालको इतिहासमा अभिलेखित अदम्य साहस र दृढताको भावना पनि उतारेका छन् । भक्ति थापाको वृद्ध उमेरमा पनि जोश, बलभद्र कुँवरको नेतृत्व क्षमता र साधारण सैनिकको आत्मबलले यो शिल्पलाई अझ जीवन्त बनाएको छ । ललितकला क्याम्पसमा मूर्तिकला विषयका प्राध्यापक प्राज्ञ कलाकार नरेन्द्र भण्डारी स्मारक मूर्तिमा कहलिएको नाम हो । यस मूर्तिमा कलाकारले नेपाली गौरव र देश भक्तिलाई चिरस्थायी स्मारकमा रूपान्तरण गरेका छन् । ब्रिटिस साम्राज्यसँगको युद्धमा परास्त हुनुभन्दा बरु आफ्नो जीवन अर्पण गर्ने गोर्खाली आत्माको स्मरण यस कलाले दिलाउँछ ।   

कलाकार : नरेन्द्र भण्डारी

शीर्षक : स्वाभिमानी नेपाल

माध्यम : रेजिन फाइबर

आकार : ६ X  ६ X  ८ फिट

सिर्जना वर्ष : २०७० साल


 केशवराज खनाल 
–युवामञ्च