• २३ कात्तिक २०८२, आइतबार

दुर्गम भए पनि विद्यार्थीले भरिन्छ विद्यालय

blog

नासोँ गाउँपालिका थोँचेमा रहेको प्रकाश ज्योति मावि ।

यदुप्रसाद भट्ट

मनाङ, कात्तिक २३ गते । सबैभन्दा कम जनसङ्ख्या भएको जिल्लाका रूपमा परिचित मनाङमा बाहिरी जिल्लाबाट अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या अधिक रहेको छ । 

यहाँका प्रायः सबै विद्यालय बाहिरी जिल्लाबाट आएका विद्यार्थीले भरिन्छन् । श्रम गर्दै पढ्दै कमाउँदै गर्ने विद्यार्थीका लागि मनाङ आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ । गुणस्तरीय शिक्षा तथा भरिपूर्ण भौतिक पूर्वाधार भएर यहाँ विद्यार्थीको आकर्षण भने बढेको होइन । 

प्रायः आवासीय सुविधा रहेको यहाँका विद्यालयमा अन्य जिल्लाबाट कामको खोजीमा आएका बालबच्चाले नै विद्यालय चलेका छन् । यहाँका विद्यालय भरिएका छन् । आर्थिक रूपमा सम्पन्न स्थानीय तथा जनप्रतिनिधिले आफ्ना बालबच्चा सहरमा अध्ययन गर्न पठाउँछन् । आफू दुःख नै गरेर भए पनि बालबालिकाका लागि सहर पठाउने चलन पुरानै हो । अधिकांश मनाङवासीको काठमाडौँ, पोखरा, चितवनलगायतका ठुला सहरमा घर तथा व्यापार व्यवसाय छ । उनीहरू आफ्ना बालबच्चा यस्तै सहरमा नाम चलेका संस्थागत विद्यालयमा अध्ययन गराउँछन् ।

जिल्लाभरि बालविकास कक्षादेखि उच्च माविसम्म अध्ययन गराउने विद्यालयको सङ्ख्या २७ रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख ध्रुवप्रसाद कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकागत रूपमा हेर्ने हो भने नार्पाभूमिमा दुई वटा विद्यालयमध्ये एउटा मात्रै सञ्चालनमा रहेको र त्यसमा पनि बालविकास कक्षा मात्र चलेको छ ।” प्रमुख कोइरालाले मनाङवासीले नै आफ्ना बालबच्चा मनाङमा नपढाउने गरेको आफूले पाएको बताउनुभयो । 

पालिकाभरि ११ वटा विद्यालय रहेको नासोँ गाउँपालिकामा सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालय प्रकाश ज्योति उच्च मावि हो । आवासीय सुविधा रहेको यस विद्यालयमा अध्ययन गर्ने १६३ विद्यार्थीमध्ये ७५ जना विद्यार्थी विभिन्न १० जिल्लाबाट आएर अध्ययन गरिरहेका प्रधानाध्यापक पदमराज पन्थीले बताउनुभयो । 

उहाँले लमजुङबाट ३७, रुकुमबाट १६, गोरखाबाट ११, दाङबाट चार, धादिङबाट दुई तथा कास्की, रुपन्देही, नवलपरासी, रोल्पा र सङ्खुवासभाबाट एक/एक गरी जम्मा ७५ जना विद्यार्थी अध्ययन गरिरहेको बताउनुभयो । प्रअ पन्थीले भन्नुभयो, “निःशुल्क ट्युसन, प्रविधिको विकाससँगै स्मार्ट बोर्डको प्रयोग र मासिक दुई हजार रुपियाँमा आवाससहित सबै सुविधा पाइने हुनाले विद्यार्थीको आकर्षण प्रकाश ज्योतिमा परेको छ ।”

मनाङ ङिस्याङमा १० वटा विद्यालय रहेको शैक्षिक तथ्याङ्कमा उल्लेख छ । चार कक्षासम्म सञ्चालन अनुमति लिएको जिल्लाकै पहिलो र एउटा मात्रै संस्थागत विद्यालय लोखेलिङ पनि रहेको छ । यससँगै यहाँ एउटै मात्र मावि अन्नपूर्ण पनि सञ्चालनमा रहेको छ । अन्नपूर्णमा माविका प्रधानाध्यापक आनन्दराज घिमिरेले जम्मा ६७ जना विद्यार्थी रहेको र ५५ जना विद्यार्थी बाहिरी जिल्लाबाट आएर अध्ययन गरेको बताउनुभयो । आवासीय सुविधा उपलब्ध गराउन सके शैक्षिक गुणस्तर वृद्धि हुने उल्लेख गर्दै प्रअ घिमिरेले भन्नुभयो, “हाम्रा विद्यार्थी आफैँ श्रम गर्दै कमाउँदै पढ्छन् ।”

त्यसै गरी जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकामा चार वटा विद्यालय भए पनि लोकप्रिय उच्च मावि चामे र गौरीशङ्कर मावि तिमाङ मात्रै सञ्चालनमा रहेको जिशिस प्रमुख कोइरालाले बताउनुभयो । आवासीय सुविधा रहेको लोकप्रिय उच्च माविमा १७४ विद्यार्थी भए पनि ५० प्रतिशत विद्यार्थी बाहिरी जिल्लाका रहेको प्रधानाध्यापक कृष्ण कोइरालाले बताउनुभयो । 

उहाँले कामको खोजीमा आउनेका बालबालिकाले विद्यालय चलेको बताउनुभयो । आवासीय सुविधा रहेको गौरीशङ्कर माविमा १२८ विद्यार्थीमध्ये ४५ जना विद्यार्थी विभिन्न १८ जिल्लाबाट आएर अध्ययन गरेको प्रधानाध्यापक कमलजङ्ग गुरुङले बताउनुभयो ।