• २३ कात्तिक २०८२, आइतबार

बाजुरामा निःशुल्क स्वास्थ्य शिविरबाट १६६० जना लाभान्वित

blog

बाजुराको मार्तडीमा सञ्चालन गरिएको निःशुल्क हाडजोर्नीसम्बन्धी स्वास्थ्य शिविरमा उपचारका लागि आएका स्थानीय । तस्बिर :सन्तोषी रावल

सन्तोषी रावल 
(बाजुरा) कात्तिक २३ गते ।
बाजुराको मार्तडीमा सञ्चालन गरिएको निःशुल्क हाडजोर्नीसम्बन्धी स्वास्थ्य शिविरबाट एक हजार ६ सय ६० जना नागरिक लाभान्वित भएका छन् । कात्तिक १७ देखि २१ गतेसम्म चलेको उक्त शिविर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ, बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा सम्पन्न भएको हो । अस्पतालका अनुसार ९२ जनाको शल्यक्रिया (अपरेशन) गरिएको छ भने अन्य बिरामीले ओपीडी सेवामार्फत उपचार सेवा प्राप्त गरेका छन् ।

अस्पताल प्रमुख चन्द्रशेखर यादवका अनुसार शिविर विशेष गरी गरिब, अपाङ्ग, असहाय र शारीरिक रूपमा कमजोर नागरिकका लागि सञ्चालन गरिएको थियो । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. मुक्ति तिमिल्सेनाको नेतृत्वमा रहेको टोलीले आगोले पोलिएका, जन्मजात हातखुट्टा बाङ्गिएका, हड्डी भाँचिएका तथा विभिन्न विकृतिबाट ग्रस्त बिरामीलाई निःशुल्क सेवा प्रदान गरेको हो । शिविरले लामो समयदेखि उपचार नपाएका विपन्न नागरिकका लागि राहतको काम गरेको स्थानीयवासीले बताएका छन् ।

नेपाल अर्थोपेडिक अस्पतालले ४७ वर्षदेखि गैरनाफामूलक रूपमा सेवा दिइरहेको छ र यसअघि पनि करिब सात वर्षअघि बाजुरामा यस्तै स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यतिबेला ५५ जनाको अपरेशन र एक हजार एक सय जनालाई ओपीडी सेवा प्रदान गरिएको थियो । यसैबिच, बाजुराको बुढिनन्दा नगरपालिका–कोल्टीमा पनि आगामी कात्तिक २४ देखि २६ गतेसम्म गेटा आँखा अस्पताल, एक एक पाइला र बुढिनन्दा नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने तयारी भइरहेको छ ।